भूकम्पले जाजरकोटका मौरी पनि नष्ट

भूकम्पले जाजरकोटका मौरी पनि नष्ट
भूकम्पले क्षति भएका मौरी घार हेर्दै स्थानीय ।
सुन्नुहोस्

जाजरकोट : भूकम्पले जाजरकोटमा नौ करोडको अन्न र करिब दुइ करोड बराबरको मह तथा मौरी नष्ट भएको छ। गत कातिक १७ गते राति गएको भूकम्पले जाजरकोट जिल्लामा पुरिएर ९ करोड भन्दा बढी लागतको खाद्यान्न र एक करोड ८० लाख भन्दा बढीको मह तथा मौरी नष्ट भएको हो।

भूकम्पले मौरी जोन क्षेत्रको रूपमा चिनिने जिल्लाको पिपे, मैदे, रिसाङ, पाली, कल्पत, डाडाँगाउँ, कैना, कट्के, टट्टा, करुवा, लहँ, रामीडाँडा र सिर्पाचौरमा १ करोड ८० लाख ४४ हजार ६ सय ५० लागतको मौरी तथा मह नष्ट भएको कृषि विकास कार्यालय, जाजरकोटले जनाएको छ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माका अनुसार भूकम्पले आधुनिक, मुढे र खोपे घारका गरी जम्मा १ हजार २ सय ७ घार मौरी नष्ट भएका छन्। १ हजार २ सय ७ घार मौरीले उत्पादन गर्ने मह १४ हजार ४ सय ८४ किलो मह नष्ट भएको हो। प्रतिगोला मौरीको मूल्य ४ हजार, प्रतिघार आधुनिक घारको मूल्य ४ हजार, मुढे घारको मूल्य ३ हजार ५००, प्रतिकिलो महको मूल्य ६०० का दरले जम्मा १ करोड ८० लाख ४४ हजार ६ सय ५० लागतको मौरी, घार र मह नष्ट भएको विश्वकर्माले जानकारी दिएका छन्। नलगाड नगरपालिका १ कल्पतका हरि बहादुर पुनका ६० वटा घारमा राखेको मौरी नष्ट भएको र मह निकाल्ने बेला घर लडेर सवै सखाप भएको उनले बताए। एउटा घरबाट तीनदेखि ८ किलोसम्म मह उत्पादन हुने समयको बेला आएको भूकम्पले ठूलो नोक्सान भएको उनले बताए। उनी मात्र होइन धेरै मौरीपालन किसान भूकम्पले मह र मौरी घारमा क्षति पुर्‍याएपछि निकै मर्कामा परेका छन्। भूकम्पले हल्लाएका मौरीले मह खाएर मौरी पनि भागेर जाने गरेको अर्का किसान सेते बुढाले बताए। 

मौरी र महको लागि उपयुक्त स्थान रहेको जाजरकोट जिल्लाको पाली, कल्पत, पिपे, मैदे, रिसाङ, लहँ, डाडाँगाउ नै भूकम्पले बढी क्षतिग्रष्त बनाएपछि मौरीमा बढी असर परेको छ। मह उत्पादनको महत्वपूर्ण सिजनका रूपमा रहेको कातिक र मंसिर महिनामा भूकम्पको धक्काले १ हजार २ सय ७ घार मौरी नष्ट गरेको प्रारम्भिक चरणको तथ्यांकले देखाएको छ। विस्तृत तथ्यांक भने आउन बाँकी रहेको छ। क्षति विवरण बढ्दै जाने अनुमान गरिएको छ। 

त्यसैगरी, जाजरकोट जिल्लामा ९ करोडभन्दा बढी लागतको खाद्यन्न नष्ट भएको छ। भूकम्पले ९ हजार ७ सय ९४ घरहरू पूर्णरूपमा ध्वस्त बनाएको थियो। २४ हजार ७ सय ७ घरहरू बस्न नमिल्नेगरी चर्काएको थियो। पूर्णरूपमा ध्वस्त भएका र बस्न नमिल्नेगरी चर्काएको गरी जम्मा ३४ हजार ५ सय १ घरहरूमा भण्डारण गरी राखिएको ९ करोड २६ लाख ५८ हजार ९ सय लागतको खाद्यान्न नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

घरहरूमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदो जस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी विश्वकर्माका अनुसार भत्किएका घरहरूमा भण्डारण गरेर राखिएको २८ लाख २८ हजार ७ सय २५ किलो धान, मकै, गहुँ, र कोदो जस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको छ। पुरिएर नष्ट भएको खाद्यान्नलार्ई मूल्य सूची अनुसार ९ करोड २६ लाख ५८ हजार ९ सय लागतको खाद्यन्न नष्ट भएको छ। 

भूकम्पले हिउँदभर खाने धेरै स्थानीयको अन्न पुरिएको भेरी नगरपालिका १ का किसान नरबहादुर रानाले बताए। उनले घर भत्किएसँगै भकारीमा भण्डार गरिराखेको अन्न पनि माटोमै खान नमिल्ने गरी पुरिएको बताए। भूकम्प प्रभावित क्षेत्रमा केही महिना भित्रै भोकमरीको समस्या आउन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उनले भने ‘ठूलो मात्रामा खाद्यान्न पुरिएर नष्ट भएको छ। मानिसहरू काममा निस्कन पाएका छैनन्। खेती गर्ने जमिनमा त्रिपालको बास हुन थालेको छ। जसले गर्दा आगामी २÷३ महिनापछि जिल्लामा खाद्य संकट पर्ने सम्भावना छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.