अन्धविश्वासले गयो आमा र बच्चाको ज्यान
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका २ रसीको माझगाउँ बस्ने २३ वर्षीया देउरुपा बुढा र सोही गाउँका २५ वर्षीय नरेन्द्र कठायतको चिनजानपछि एक अर्काबीच माया बस्यो। एउटै गाउँ भएकाले एक अर्काको परिवार पनि राम्रोसँग बुझेका उनीहरूको माया केही समयपछि नै विवाहमा परिणत भयो। २०७९ भदौमा हिन्दु संस्कारअनुसार धुमधामका साथ विवाह भयो।
देउरुपा गर्भवती भइन्। नियमित गर्भवती जाँचका लागि त्रिपुरासुन्दरी नगरपालिकामा स्वास्थ्य चौकी मात्रै छ। गाउँसम्म कच्ची बाटो भए पनि नगरपालिकाको केन्द्र भएर जिल्ला अस्पताल आउनजान करिब पाँच हजार खर्च लाग्थ्यो। त्यसैले पनि उनी गाउँबाटै तीन घण्टा पैदल हिँडेर जाँचका लागि अस्पताल पुग्थिन्। गाउँ उचाइमा भएकाले झर्न सजिलो भए पनि फर्किदा भने चार घण्टाको उकालो चढ्नु पथ्र्यो।
रसीका स्थानीय खाद्यान्न ढुवानी, स्वास्थ्य जाँचलगायतका सम्पूर्ण सरकारी सेवासुविधा लिन यसैगरी सदरमुकाम दुनै पुग्ने गर्छन्। गर्भवती र सुत्केरी महिलाका लागि त्रिपुरा सुन्दरीमा भन्दा जिल्ला अस्पतालमा दक्ष चिकित्ससहित भिडियो एक्सरेको सुविधा भएकाले सबै उतै जाने गर्छन्। समय क्रमसँगै देउरुपाको मायाको निशानी पनि हुर्कंदै गयो।
उनी सात महिनाको गर्भवती हुँदा गत असारमा बिरामी परिन्। उनको पूरै शरीर सुन्निएको थियो। ससुरा अमर सिंह कठायतका अनुसार बुहारीको शरीर सुन्निएर भित्र बाहिर गर्नै गाह्रो भयो। त्यतिबेला नै वर्षभरि आम्दानी गर्ने यार्सागुम्बा संकलनको सिजन सुरु भएको थियो। देउरुपाका श्रीमान्सहित सबै परिवार यार्सा टिप्न पाटन गएका थिए। घरमा देउरुपा सिकिस्त भएको थाहा पाएपछि पाटनबाट परिवार घर फर्किए। ‘यार्सा सिजनमा सबै गाउँलेहरू किरा टिप्न पाटन गएका हुन्छन्, बुहारीलाई भूत लागेर हो कि, घरको लागोभागो(देवी देउता) हो भनेर धामी झाँक्रीकोमा लग्यौं’, उनका ससुरा कठायतले भने, ‘धामीले मन्तर सिकाएपछि सञ्चो हुन्छ कि भन्ने आशा थियो। तर धामीले लागोभागो केही छैन, उपचार गर्नुपर्छ भनेलगत्तै अस्पताल लग्यौं।’
जिल्ला अस्पतालमा अहिले सुत्केरी गर्भवतीका लागि विशेषज्ञ सेवासमेत उपलब्ध छ। तर, देउरुपाको जिल्ला अस्पतालमासमेत उपचार हुन सकेन। मुटुको समस्या धेरै भएको भन्दै उपचार गर्न नेपालगञ्ज लैजान उनलाई सल्लाह दिइयो। त्यसपछि परिवारले पनि त्यसै गरे। जिल्ला अस्पतालका डाक्टरको सल्लाह अनुसार जुफाल विमानस्थलबाट तीनजनाको प्रतिव्यक्ति ६ हजार ५ सय तिरेर उनलाई नेपालगञ्ज लगियो। त्यसमा गर्भवती, उनकी आमा र ससुरा थिए। ययरपोर्टबाट एम्वुलेन्समा उनलाई भेरी अञ्चल अस्पताल नेपालगञ्ज पुर्याइयो।
डाक्टरले परीक्षण गरेपछि उनको मुटुमा समस्या छ, अप्रेसन गर्नुपर्छ भने। बुहारी र बच्चा जोगाउन जस्तोसकै आर्थिक, भौतिक र मानसिक समस्या झेल्नु परे पनि आफू तयार भएको ससुराले बताए। छोरा कम उमेरको र घर बाहिर कतै नगएकाले उनी आफैं बुहारी लिएर अस्पताल पुगेका थिए।
डाक्टरले अप्रेसन गर्ने सल्लाह दिएलगत्तै देउरुपाकी आमाले डोल्पामा रहेका श्रीमान्लाई फोन गरेर सबै कुरा बेलिविस्तार लगाइन्। देउरुपाका बुवाले तुरुन्त धामीलाई बसालेर देउता हेराउन लगाउनु भने। यता आमाले छोरीलाई मानिसक दबाब दिन थालिन्। अप्रेसन गर्दा गाउँघरमा काम गर्न सकिँदैन र अप्रेसन गरेको ठाउँ फुट्न सक्छ भन्ने डर उनकी आमाले देखाएकी थिइन्। पहिलोपटक सहर झरेकी देउरुपा पनि आमाले भनेअनुसार अप्रेसन नगर्ने निर्णयमा पुगिन्।
यता देउरुपाका बुवाले पनि धामी बसालेर हेराउँदा अप्रेसन नगर्नु भनेछन्। त्यसपछि आमाछोरीले अप्रेसन नगर्ने अठोट गरे। ‘लाख रुपैयाँँ खर्च गरेर सहरका ठूला अस्पताल ल्याइसकेकाले जसरी हुन्छ बुहारीको अप्रेसन गरेर ज्यान जोगाउनु पर्ने सल्लाह मैले दिएँ। डाक्टरले पनि तुरुन्त अप्रेसन नगरे आमाको ज्यान खतरामा पर्ने बताएका थिए। तर, आमाछोरीले मानेनन्’, उनका ससुराले गुनासो गरे।
- ‘धामीले मन्तर सिकाएपछि सञ्चो हुन्छ कि भन्ने आशा थियो। तर धामीले लागोभागो केही छैन, उपचार गर्नुपर्छ भनेलगत्तौ अस्पताल लग्यौं।’
- देउरुपाका बुवाले पनि धामी बसालेर हेराउँदा अप्रेसन नगर्नु भनेछन्। त्यसपछि आमाछोरीले अप्रेसन नगर्ने अठोट गरे।
त्यसपछि फेरी ऋण सापटी गरेर दर्जन धेरै गाडी परिवर्तन गर्दै बुहारीलाई घर फर्काएको कठायतले बताए। डोल्पा पुगेको दुई–तीन दिनमै देउरुपालाई सुत्केरी व्यथाले च्याप्यो। त्यसपछि फेरि रातारात उनलाई जिल्ला अस्पताल लगियो। पहिले नै रिफर गरेको बिरामी नेपालगञ्ज पुर्याएर पनि उपचार नगरी जिल्लामै ल्याएको देखेर डाक्टर अचम्ममा परे। बिरामीको अवस्था जटिल भइसकेकाले जिल्लामै सुत्केरी गराउन नसकिने र नेपालगञ्ज वा सुर्खेत लैजानुपर्ने डाक्टरहरूले पुनः बताए।
राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत डाक्टरहरू आफैंले हेलिकप्टरको व्यवस्था गरेर उनलाई सुर्खेत उडाइयो। त्यसपछि उनलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगियो। साँझ अप्रेसन गरेर बच्चा निकालियो। ‘छोरी रहिछन्। त्यहाँका डाक्टरहरूले पनि मुटुको ठूलो समस्या देखाए। बच्चा निकालेको तीन दिनपछि उनकी बुहारी बितिन्। मलाई थाहा पनि थिएन। अस्पतालका डाक्टर आएर आमालाई बचाउन सकिएन भने। पहिले नै नेपालगञ्जमा अप्रेसन गरेको भए ज्यान जोगिन्थ्यो। अब बच्चा राम्रो छ। एनआईसीयूमा राखिएको छ। बच्चा लैजानुहुन्छ वा राख्नुहुन्छ भनेर सोधे’, ससुरा कठायतले सम्झिए।
आमा नै बितिसकेपछि के बच्चा मात्रको लागि बस्नु भन्ने लागेको ससुराले बताए। आईसीयूबाट बच्चा झिकेर उनीहरू हिँडे। बस चढेर घर जाँदै गर्दा छिन्चु नपुग्दै बच्चा बितेको उनका ससुरा कठायतले बताए। ‘बुहारी र बच्चा बचाएर घर पुर्याउने र खुसीयाली मनाउनु पर्ने बेला दुई वटा शव रातारात घर ल्याइयो। अनि सतगति गरियो’, दुखेसो पोख्दै उनी भक्कानिए, ‘न बुहारी र बच्चा बचाउन सकियो, न त पैसा बच्यो। सायद मैले भनेको मानेर पहिलोपटक नेपालगञ्जमै अप्रेसन गरेको भए बुहारी जोगाउन त सक्थेँ होला। पछि आफैं सुर्खेत अस्पताल बसेको भए बुहारीको नासो नातिनी जोगाउन त सक्थेँ होला।’ गाउँघरमा सामान्य बिरामी पर्दा पनि पहिले देवी देवताकोमा जाने चलनले गर्दा आफूले बुहारी र नातिनी गुमाउनु परेको उनले दुखेसो पोखे।
जिल्ला अस्पतालका डा.अखण्ड उपाध्यायका अनुसार आफू डोल्पा अस्पतालमा कार्यरत भएदेखि अन्धविश्वासका कारण सुत्केरीले ज्यान गुमाएको यो पहिलो घटना हो। पहिलोपटक नै अस्पताल ल्याउँदा जाँच गरेर मुटुमा समस्या देखिएकाले यहाँँ सकिँदैन उपचारका लागि सहरका अस्पताल लैजानु भनेको उनले बताए। घरका धामीले अप्रेसन नगर्नु भनेको भन्दै त्यसै फर्किंदा आमा बच्चाको अकालमै ज्यान गएको डा.उपाध्यायले बताए। ‘दोस्रो पटक पनि हेलिकप्टरको व्यवस्था गरेर पठायौं, ढिला भइसकेकाले आशा कमै थियो। पहिलोपटक नै उपचार गराएको भए आमाको ज्यान जोगीन्थ्यो। अप्रेसन तयारी गर्दा गर्दै अन्धविश्वासमा परेपछि दुईवटा प्राण एकैपटक अस्ताए। यो निकै दुखद् कुरा हो।’
पछिल्लो तिन वर्ष यतामात्रै घरमै सुत्केरी गराएका पाँच जना गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएका तथ्यांक रहेको उनले बताए। सामुदायिक स्वास्थ्य एकाइ रसीका स्वास्थ्यकर्मी सुजाता बुढाले आजको वैज्ञानिक युगमा धर्म, संस्कार, संस्कृति जोगाउने नाममा अन्धो भएर ज्यानै जाने गरी विश्वास गर्नु राम्रो नभएको बताइन्। स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने चेतनास्तर कम भएका कारण पनि गाउँका स्थानीयको सामान्य उपचार नपाएर ज्यान जाने गरेको उनको भनाइ छ।