पर्यटकको रोजाइमा च्छोरोल्पा हिमताल

पर्यटकको रोजाइमा च्छोरोल्पा हिमताल
सुन्नुहोस्

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका-९ गौरीशंकरमा अवस्थित नेपालको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल पर्यटकको रोजाइको केन्द्र बनेको छ। 

च्छोरोल्पा हिमतालको दृश्यावलोकनका लागि प्रत्येक वर्ष आन्तरिक र बाह्य पर्यटकहरूको आगमन बढ्ने गरेको छ।  गौरीशंकर गाउँपालिकाको रोल्वालिङ उपत्यकामा रहेको च्छोरोल्पा पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलका रूपमा रहेकाले सबैको आकर्षणको केन्द्र बन्दै गइरहेको स्थानीयको भनाइ छ।  

काठमाडौंबाट छोटो दूरीमा पर्ने र पदमार्ग पनि सजिला भएकाले पनि पर्यटकहरू बढी च्छोरोल्पा मन पराउन थालेको गौरीशंकर गाउँपालिका-९ का वडाअध्यक्ष ङिमागेली शेर्पाले बताए। चरिकोटबाट छ्योत्छ्योतसम्म गाडीमा र त्यहाँबाट हिडेर सिमीगाउँ हुँदै च्छोरोल्पा पुगेर ४ दिनमै फर्किन सकिन्छ। 

वर्षातको समयमा आवतजावत करिब बन्द हुने च्छोरोल्पा हिमतालमा असोज महिनादेखि  पदयात्रीको संख्यामा वृद्धि हुन्छ। यो वर्षको असोज कात्तिक महिनामा एक हजार सात सय ७९ जना पुरुष र दुई सय १६ जना महिलाले च्छोरोल्पा हितालको भ्रमण गरेको गौरीशंकर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसी दाहालले बताए।

समुद्र सतहबाट चार हजार पाँच सय ८० मिटरको उचाइमा रहेको  १ सय ३५ मिटर गहिरो र अनुमानित १० करोड घनमिटर पानी रहेको च्छोरोल्पा हिमतालसम्म पुग्ने पदमार्ग २०७२ सालको भूकम्पपछि स्वीस सरकारले पक्की र आकर्षक बाटो बनाइदिइएको छ। अन्य गन्तव्यभन्दा यस क्षेत्रमा रहेका होटलहरूको मेनु सस्तो रहेकाले पनि पर्यटकको संख्यामा वृद्धि आउन सक्ने  हिमताल भ्रमण गर्ने यात्रुहरू बताउँछन्। 

स्थानीयका अनुसार कोरोना महामारीअघि बाह्य पर्यटकले खचाखच हुने गरे पनि अहिले भने फाटफुटबाहेक खासै बाह्य पर्यटक आएका छैनन्। तर आन्तरिक पर्यटकहरूको भने भीड लाग्ने गरेको छ। 

आन्तरिक पर्यटकहरूको भीडले होटल व्यवसायीहरूलाई धान्न हम्मेहम्मे परेको होटल व्यवसायी थुल्डु शेर्पाले बताए। हिमतालको भ्रमण गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। सिमीगाउँबाट  सुर्मुचे, डोङाङ, वेदिङ, नागाउँ हुँदै च्छोरोल्पा  तालसम्म पुग्न सकिन्छ। 

साहसिक पदयात्राका लागि अति नै रमणीय एवम् रोमाञ्चक स्थलका रूपमा प्रख्यात मानिने रोल्वालिङ उपत्यकाको च्छोरोल्पा पुग्दा संसार जितेको महसुस हुने र भ्रमणको क्रममा च्छोरोल्पा भ्रमण नगरे भ्रमण पूरा नहुने च्छोरोल्पा पुगेर आउने आन्तरिक पर्यटकहरूको भनाइ रहेको छ।

बेदिङसम्म राष्ट्रिय प्रसारणको विद्युत लाइनको व्यवस्था भएको र अप्टिकल फाइबर भएको कारण इन्टरनेटको पनि सुविधा हुँदा पर्यटकहरू  रमाउँदै यात्रा गर्छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.