बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
बेनी : बेनीमा नवौं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे ।
उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र करातेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो । शाही रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ पिप्ले र गर्बुजा रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी हन् । जिल्ला समन्वय समितिका प्रमुख थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले शाही र गर्बुजालाई नगद तथा प्रशंसापत्र प्रदान गरेका थिए ।
उद्घाटन समारोहमा भएको मार्चपासमा अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउँपालिका क्रमश ः प्रथम, दृतीय र तृतीय भए । कार्यक्रममा जिसस प्रमुख थापाले स्थानीय तहहरुले खेलकुद क्षेत्रमा पनि लगानी बढाउन सुझाव दिए ।
प्रमुख जिल्ला अधिकारी ढकालले अनुशासन, लगनशिलता, इमान्दारिता र मेहनतका साथै स्वस्थ्य रहन पनि खेलकुदले सहयोग पुग्ने बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा ३६ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताए ।
धवलागिरी, मालिका, मंगला, अन्नपूर्ण रघुगंगा गाउँपालिका र बेनी नगरपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । जिल्ला स्तरीय प्रतिस्पर्धाबाट छनौट हुने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् ।
प्रथम हुने पालिकाले रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद बीस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उपबिजेता र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । धवलागिरी र रघुगंगा बाहेकका पालिकाले कवड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।
एथलेटिक्स बेनीको खुल्ला मञ्चमा, मार्सल आर्ट र उसु कवर्ड हल, कवड्डी कालीपुलको बास्केटबल खेलमैदान र भलिबल खेल म्याग्दी बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन हुने समितिका सदस्य प्रविन शाहीले बताए । सबै खेलको फाइनल खुल्ला मञ्चमा खेलाउने खेलकुद विकास समितिले जनाएको छ ।
यसपाली अन्नपूर्ण, रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई व्यवस्थित बनाउन समितिका पदाधीकारी, सदस्य, कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको छ ।