भोजपुरमा ३० वर्षअघिको हत्याका अभियुक्त धमाधम पक्राउ

भोजपुरमा ३० वर्षअघिको हत्याका अभियुक्त धमाधम पक्राउ
सुन्नुहोस्

विराटनगर : भोजपुरमा देउसी खेलेको विवादमा ३० वर्षअघि युवकको हत्या गरेर फरार भएका अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका छन्। 

घटनामा संलग्नमध्ये ५ जनालाई विभिन्न जिल्लाबाट पक्राउ गरेर आइतबार राति भोजपुर पुर्‍याइएको छ। पछिल्लो समय पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ५० वर्षीय कृपाराज राई, ४२ वर्षीय मणि भनिने थीरकुमार राई, ५५ वर्षीय विदुरकुमार राई, ५४ वर्षीय भीमराज राई र ४६ वर्षीय नइन्द्र भनिने नगेन्द्रकुमार राई रहेका छन्। 

भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकका अनुसार ललितपुरको सुनाकोठीबाट कृपाराज, सातदोबाटोबाट थीरकुमार र उदयपुरको बेलकाबाट विदुरकुमार, रामपुर ठोक्सिलाबाट भीमराज तथा सुनसरीको धरानबाट नगेन्द्रलाई पक्राउ गरिएको हो। देउसी खेलेको विषयमा विवाद हुँदा २०५० साल मंसिरमा युवकको हत्या गरी फरार भएका उनीहरूलाई भोजपुर अदालतले घटनाको मतियारका रूपमा दोषी ठहर गरिसकेको छ। 

अदालतले २०६१ भदौ २८ गते जनही ३ वर्ष कैदको फैसला गरेपनि सजाय भुक्तान नगरिकन भागिरहेका थिए। प्रहरी सक्रियतासँगै अभियुक्तहरू पक्राउ पर्न थालेका हुन्। जिल्ला छाडेर विभिन्न स्थानमा लुकिछिपी जीविकोपार्जन गर्दै आएको विशेष सूचनाका आधारमा खोजीका लागि गएको प्रहरी टोली एकैदिन ५ जनालाई पक्राउ गर्न सफल भएको डीएसपी पाठकको भनाइ छ। उनका अनुसार सोमबार अदालत बुझाइएसँगै उनीहरूलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ। 

विक्रम संवत २०५० साल मंसिर ३ गते खुकुरी प्रहार र कुटपिट गरेर साविकको कोट गाविसका राजधन राईको हत्या गरिएको थियो। राजधनमाथि साविकको खावा गाविसका शुक्रदेव राईले खुकुरी प्रहार गरेको र अन्य अभियुक्तहरूले कुटपिट गरेको पुष्टि प्रहरीको अनुसन्धानबाट भयो। अभियुक्तविरुद्ध चलाइएको कर्तव्य ज्यान मुद्दाको फैसला गर्दै अदालतले मुख्य प्रतिवादी शुक्रदेवलाई २० वर्ष र घटनाका मतियारलाई जनही ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

तर, ३० वर्षसम्म कोही पनि अभियुक्तहरू पक्राउ परेनन्। प्रहरीका अनुसार २०५० कात्तिक २८ गते लक्ष्मी पूजाको दिन २६ जनाको समूह देउसी खेल्दै राजधनको घर पुगेको थियो। मादक पदार्थ सेवन (मापसे) गरेर पुगेको समूहले देउसी खेल्दा दान–पैसा कम दिएको भन्दै मृतक राजधनका दाजु बागधन राईसँग विवाद गर्‍यो। विवाद मिलाउनलाई भनेर मंसिर ३ गते बोलाइएको पञ्चेतीमा झगडा हुँदा कुटपिट र खुकुरी प्रहार गरेर राजधनको हत्या गरिएको प्रहरीको भनाइ छ। 

घटनाको मतियारका रूपमा दोषी ठहर भएकामध्ये टेम्केमैयुङ–५ खावाकै ४६ वर्षीय पूर्णहाङ राईलाई प्रहरीले यही पुस १४ गते ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको थियो। विशेष सूचनालाई आधार मानेर खोजतलास तीव्र बनाइएपछि अन्य अभियुक्तहरू पनि पक्राउ परेको डीएसपी पाठकले बताए। उनका अनुसार राजधनको हत्यामा संलग्नमध्ये ६ जना हालसम्म पक्राउ परिसकेका छन्। अदालतबाट दोषी ठहर भएका अन्य केही व्यक्ति अझैसम्म फरार रहेकाले खोजी जारी राखिएको जानकारी पाठकले दिए। 

उनका अनुसार हत्याका मुख्य प्रतिवादी शुक्रदेव राई घटनापछि भागेर भारत पुगेको पाइएको छ। ‘फरार भएर भारतमा लुकिछिपी बसेकै अवस्थामा उनको मृत्यु भइसकेको जानकारी आएको छ। घटनामा दोषी ठहर भएपनि शुक्रदेवले कैद भुक्तान गरेको देखिँदैन,’ डीएसपी पाठकले भने, ‘तर, अनुसन्धान जारी राखेर उनको मृत्यु भए/नभएको बुझ्ने काम भइरहेको छ। पक्राउ पर्न बाँकी रहेकाको पनि खोजी जारी छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.