महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप, तीनजना घाइते

महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप, तीनजना घाइते
सुन्नुहोस्

विराटनगर  : विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)आवद्ध विद्यार्थीबीच बिहीबार बिहान झडप भएको छ ।  झडपमा परेर नेविसंघ केन्द्रीय सदस्य र मोरङ जिल्ला सभापतिसहित ३ जना घाइते भएका छन् । 

संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतर अर्थात् डा.शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहान करिब १० बजेतिर झडप भएको बताइएको छ । झडपमा महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास, नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल र सचिव गुड्डु साह घाइते भएको नेविसंघले जनाएको छ । घाइते तीनै जना पार्टीभित्र इतर पक्षका हुन् । साह र विश्वासको अवस्था सामान्य छ । 

पोखरेलले अलि असजिलो महसुस गरेपछि एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालतर्फ लगिएको केन्द्रीय सदस्य विश्वासले बताइन् । उनका अनुसार महेन्द्र मोरङका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापति जसवन्त पौडेलसहितको समूहले आक्रमण गरेको हो । घटनापछि बाहिरिएको भिडियोमा पोखरेललगायत माथि आक्रमण भइरहेको देखिन्छ । 

‘सुरुमा मुक्का प्रहार गरियो । त्यसपछि बन्चरो लिएर आक्रमण गरियो,’विश्वासले भनिन्,‘जिल्ला सभापतिको स्वास्थ्यमा अलि समस्या देखियो । हामी २ जना सामान्य नै छौं ।’ स्ववियुको चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको उनको भनाइ छ । 

‘स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा सांघातिक हमला भयो । स्ववियु सभापतिको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेका हुन्,’उनले भनिन्,'जिल्ला सभापति पोखरेलको टाउको र शरीरका विभिन्न भागमा समस्या देखिएको छ । तत्काल उपचारतर्फ केन्द्रित भएकाले घटनाका सम्बन्धमा थप कदम पछि चाल्छौं ।’ 

विश्वासका अनुसार नेविसंघका जिल्ला सभापति र सचिव पुगेर क्याम्पसको अवस्था बुझ्दै गर्दा आक्रमण सुरु भयो । ‘क्याम्पसका बारेमा विद्यार्थीमा नराम्रो सन्देश जाने बुझेर केही समस्या भएमा छलफलबाट समाधान गरौं भनेर हामीले बारम्बार आग्रह गर्यौं,’ उनले भनिन्, ‘तर, कुरै नसुनिकन एक्कासि आक्रमणमा उत्रिए ।’ शैक्षिक संस्थाभित्र गुण्डागर्दी र अराजक शैलीमा आक्रमण भएको विश्वासको भनाइ छ । 

सुरुमा मुक्काले प्रहार गरिएको र पछि बच्चरोसमेत ल्याएर आक्रमण गरिएको दाबी उनको छ । विश्वासका अनुसार स्ववियुका नाममा धेरै बदमासी भएका छन् । ‘हामीले बारम्बार हिसाब माग्दा स्ववियुले दिँदैन । कलेजभित्रै विद्यार्थीलाई कुट्ने र धम्क्याउने काम हुन्छ । स्ववियुका गतिविधिमा हामीले निरन्तर खबरदारी गरिरहेका छौं । त्यही रिसईबी राखेर आक्रमण गरिएको हुनसक्छ,’विश्वासले भनिन् । 

स्ववियु सभापति पौडेलले भने बिना जानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको बताए । ‘म पहिले क्याम्पसको नेविसंघ सभापति थिएँ । स्ववियु सभापति भएपछि प्रशान्त यादवलाई कार्यवाहक दिएँ । कामकारबाही राम्ररी नै चलिरहेको छ । एक्कासि नयाँ इकाई समिति गठन गर्न खोजिएपछि विवाद बढेर झडप भएको हो,’उनले भने ।  पौडेल पार्टीको संस्थापन पक्षधर हुन् । ‘यो जिल्लाले हेर्ने क्याम्पस होइन । इकाई कमिटी गठन गर्दा केन्द्रले नै प्रतिनिधि पठाउँछ । केन्द्रको अधिकार क्षेत्रभित्र प्रवेश गरेर जिल्लाले हस्तक्षेप गर्न खोजेपछि विरोध गरिएको हो,’उनी भन्छन् । 

पौडेलका अनुसार नेविसंघका जिल्ला सभापति पोखरेल क्याम्पसमा नयाँ इकाई समिति बनाउने तयारीका साथ आएका थिए । पोखरेल पार्टीभित्र इतर पक्षधर हुन् । इतर पक्षधरले भने क्याम्पसमा नयाँ इकाई गठन गर्न नभइकन स्ववियु निर्वाचनको तयारीका बारेमा बुझ्न गएको बताएको छ । 

स्ववियु सभापति पौडेलले भने घटना भएका बेला आफू बाहिर रहेको र केहीबेरमा मात्रै क्याम्पसमा पुगेको बताए । उनले विवाद नेविसंघभित्रै रहेको उल्लेख गरे । विवाद बढेर दुई पक्षबीच झडप भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो । नेविसंघका विद्यार्थीबीच सामान्य हात हालाहाल भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीले जानकारी दिए । ‘घटना भइसकेपछि हामी पुग्यौं । क्याम्पसभित्र प्रवेश गरेनौं’ उनले भने, ‘तर,दुई पक्षबीच एकआपसमा मिल्ने र घटनालाई थप नबढाउने सहमति भएको थियो । त्यसपछि उनीहरुबीच के भइरहेको छ भनेर थाहा छैन ।’

केसीका अनुसार सहमतिका लागि बेलुका ५ बजेतिर पुनः बस्ने भनेर विद्यार्थी नेताहरूले भनेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.