म्याग्दी कप भलिबल प्रतियोगिता सुरु
![म्याग्दी कप भलिबल प्रतियोगिता सुरु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_9x5VVJglJB_T5GSWNpsOX.jpg)
बेनी : बेनीमा मंगलबारदेखि प्रथम म्याग्दी कप भलिबल प्रतियोगिता सुरु भएको छ। जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा अन्तर मावि छात्राछात्रा तथा शिक्षक शिक्षिका बीच प्रतिस्पर्धा हुनेछ।
माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि ९ वटा विद्यालयका समूहले सहभागिता जनाएका छन्। विद्यालय स्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताए। छात्रछात्रातर्फ विजेता र उपविजेतालाई ५० हजार र २५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ।
शिक्षक शिक्षिकातर्फ विजेता र उपविजेतालाई २० हजार र दश हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्। विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीले पाँच हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीले दुई हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
समापनमा नेपाल प्रहरी र जिल्ला भलिबल संघको मैत्रिपूर्ण खेल हुने र विजयी हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)