युवालाई विदेश जानबाट रोक्न उद्यमशिलताको विकास गरौं : ओली
झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्रै उद्यमशिलताको विकास गरी विदेशिने युवा जनशत्तिलाई रोक्नुपर्ने बताएका छन्। झापाको शिवसताक्षी नगरपालिका-४ स्थित बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित र्सौय विद्युत्त परियोजनाको उद्घाटन गर्दै ओलीले युवाहरूलाई स्वदेशमा परिचालन गर्ने गरी उद्यमशिलताको विकास गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले देश विकास गर्न कृषिमा विज्ञान र प्रविधिको प्रयोग जरुरी रहेको भन्दै उर्जाको प्रयोग गरेर कृषिमा आधुनिकीकरण गर्न सकिने बताए। निजी क्षेत्रको सबैभन्दा ठूलोमध्ये एक यस सौर्यऊर्जा परियोजनाबाट उत्पादित १० मेगावाट विद्युत्त माघ ९ गते देखिनै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
सौर्यऊर्जा परियोजनाका लागि झापा इनर्जी लिमिटेडले २१ बिगाह १३ कट्ठा जमिन खरिद गरी ८५ करोडको लागतमा उच्च प्रविधियुक्त सोलार प्यानल जडान तथा आवश्यक भौतिक संरचना निर्माण गरेको हो। सौर्य आयोजना निर्माणका लागि संस्थापक पुँजी २५.१० करोड र बैंक कर्जा रु ५९.९० करोड वित्तिय स्रोत व्यवस्थापन गरिएको छ। उक्त सोलार प्यानलबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत्त उत्पादन हुने र जसबाट १२ करोड ८५ लाख वार्षिक आम्दानी हुने झापा इनर्जी लिमिटेडले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !