रुसमा अलपत्र परेका नेपालीहरूको उद्दारमा सरकार असफल : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले रुसमा अलपत्र परेका नेपालहरूको उद्दारमा सरकार असफल भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले रुसमा अलपत्र परेका नेपाली युवाहरूलाई स्वदेश फर्काउन सरकारले गरेका प्रयास अपुग भन्दै थप काम गर्नुपर्ने बताएका हुन्।
उनले नेपाली युवालाई रुस पुर्याएर अलपत्र पार्ने ठगहरूलाई छोड्न नहुने बताए। थापाले भने, 'रुसमा अलपत्र परेका युवाहरूलाई फर्काउन सरकारले गरेका प्रयास अपुग भए। यसमा थप प्रयास गर्नुपर्छ। ठगहरू सबैले दण्ड पाउनुपर्छ। त्यसका लागि राज्यले सम्पूर्ण तागत लगाउनुपर्छ।'
यसैगरी नेता थापाले रुसमा अलपत्र परेका वीपीन जोशीको अवस्थाबारे सरकारले जानकारी गराउनुपर्ने माग राखे।
नेपाली कांग्रेस महामन्त्री समेत रहेका थापाले राजनीतिक दलप्रति जनताको भरोसा टुट्दै गएको बताए। राजनीतिक दलप्रति मात्रै नभइ अड्डा,अदालत, प्रहरी,प्रशासनलगायत संस्थाप्रति जनताको भरोसा मर्दै गएको उनको भनाइ छ। 'अड्डा,अदालत,बैंक, प्रहरी, प्रशासन, वित्तीय संस्थाहरूप्रति पनि विश्वास गुम्दै गएको छ। यो डर लाग्दो छ। यो विश्वासलाई पुनर्स्थापित गर्नुपर्छ । यसलाई बचाउन सकिएन भने हामी सबैले गुमाउनुपर्ने अवस्था आउनसक्छ।'
आम नागरिकहरूले केही परिवर्तन भएको महशुस गर्ने गरि संसद र सरकारले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ छ। उनले सरकारले नयाँ ढंगले काम गर्छु भनिराख्दा संसदीय समितिलाई समेत फरक ढंगले चलाउनुपर्ने धारणा राखे।
थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सहकारीमा ठगीको धन्दाको मतियारलाई समेत कारवाही गर्दै जनतामा सुशासनको अनुभूति दिलाउनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !