छोरीसँगको 'सम्बन्ध' टुटाउन युवकको हत्या
दोलखा : दोलखाको शैलुङ गाउँपालिका -४ मागापौवामा ढेड महिनाअघि मृत फेला परेका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ । गत पुस ११ गते हत्या गरिएका भिष्म भण्डारीको शव पुस १६ गते भेटिएको थियो ।
मृतकको टाउको छुट्याएको ,नाक काटेको,औंला छिनेको अवस्थामा शव फेला परेको थियो ।आइतबार दोलखा प्रहरीले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूलाई सोमबार अदालत पेश गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
कक्षा ७ मा पढ्दै गरेकी १६ वर्षीया किशोरीको भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । उनीहरूको गाउँको मेलापात जानेक्रममा चिनजान भएको थियो । भण्डारीलाई आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि बालिकाको बुवा शैलुङ गाउँपालिका वडा नम्बर–५ काटाकुटीका पुष्कर नेपाली,काका पर्ने ईश्वर दर्जी र दाजु विशाल नेपालीले धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको खुलेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए ।
शव भेटिएपछि दोलखा प्रहरीले बागमति प्रदेश प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) को सहयोगमा अनुसन्धान सुरू गरेको थियो । सो क्रममा माघको पहिलो साता बालिकाको बुवा,काका, दाजुलगायतलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
भण्डारीलाई आफ्नी छोरीसँग एउटै कोठामा भेटाएपछि उनलाई घरबाट निकालेका थिए। सोही क्रममा भण्डारीको प्रेमीकाको बुबा पुष्कर र काका ईश्वरसँग विवाद बढेपछि काका ईश्वरले धारिलो हतियार प्रहार गरी भण्डारीको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।
घाइते भएका भिष्मलाई केही पर धारामा लगेर बालिकाको बुबा पुष्कर र काका ईश्वरले टाउको गिडेका थिए । त्यसरी भण्डारीको विभत्स हत्या गरेपछि बालिकाको बुबा पुष्कर र काका ईश्वरले बालिकाको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनिको खोल्सामा फालिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।