भूकम्पपीडित महिला र बालबालिका त्रिपालमा असुरक्षित

बलात्कार र यौन हिंसाका घटनामा वृद्धि

भूकम्पपीडित महिला र बालबालिका त्रिपालमा असुरक्षित
फाइल तस्बिर।
सुन्नुहोस्

जाजरकोट : भूकम्पले घर भत्किएपछि परिवार घरनजिकैको त्रिपालमा बस्दै आएको थियो। त्यसदिन उनका श्रीमान् घरमा थिएनन्। कामको सिलसिलामा बाहिर गएका थिए। सोही मौका छोपेर नलगाड नगरपालिका–७ की २१ वर्षीया एक महिला बलात्कृत भइन्। गत कात्तिक २६ गते त्रिपालमा सुतिरहेकी उनी मध्यरातमा बलात्कृत भएकी हुन्। उनलाई बलात्कार गरेको आरोपमा स्थानीय गोपाल बादीलाई भोलिपल्टै प्रहरीले पक्राउ गरेको थियो। जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि उनी पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा छन्।

छेडागाड नगरपालिका–५ की १३ वर्षीया एक बालिका गत मंसिर २३ गते बलात्कारको सिकार भइन्। गोठालो गएका बेला जंगलमा उनी दिउँसै बलात्कृत भएकी थिइन्। जबरजस्ती गरेको अभियोगमा छेडागाड नगरपालिका–४ का २२ वर्षीय दीपक बुढा पक्राउ परेका छन्। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्। यो घटनापछि जिल्ला अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले बालिकालाई मनोपरामर्श सेवा दिइरहेको छ। जाजरकोटकै शिवालय गाउँपालिका–५ की १७ वर्षीया एक बालिका आफन्तबाटै बलात्कृत भइन्। ७१ वर्षीय हजुरबुवा नाता पर्ने ज्येष्ठ नागरिकबाट पटक–पटक बलात्कृत हुँदै आएकी ती बालिकाको पेटमा १५ हप्ताको गर्भसमेत रहेको थियो। राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थितिकी ती बालिकाको गर्भपतन गरिएको छ। उनी अहिले स्वास्थ्यकर्मीको निगरानीमा छिन्। ओसीएमसीका मनोपरामर्शकर्ताले नियमित परामर्श सेवा दिइरहेका छन्। 

जबरजस्ती करणी गरेको अभियोगमा ७१ वर्षीय ज्येष्ठ नागरिकलाई गत कात्तिक ३० गते पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष रोका मगरले जानकारी दिए। उनीविरुद्ध जवरजस्ती करणी मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेको छ।

बारेकोट गाउँपालिका–४ की ३० वर्षीया महिला स्थानीय धामीबाट बलात्कृत भइन्। सञ्चो नभएपछि झारफुकका लागि धामीकहाँ गएकी महिलालाई धामीले भोलिपल्ट बोलाएका थिए। भोलिपल्ट धामीको घर (अस्थायी टहरामा) जाँदा उनी बलात्कृत भइन्। गत मंसिर १७ गते भएको उक्त घटना गाउँमै मिलाउन निकै कोसिस गरियो। गाउँमा नमिलेपछि प्रहरीमा उजुरी प¥यो। प्रहरीले गत मंसिर २४ गते स्थानीय ५२ वर्षका जसे तिरुवालाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो। अहिले उनी पुर्पक्षका लागि थुनामा छन्। 

यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन्। जाजरकोटमा भूकम्पपछि यस्ता घटना बढ्दै गएका छन्। प्रहरीका अनुसार जिल्लामा भूकम्पपछि आठवटा जबरजस्ती करणीका मुद्दा र सातवटा घरेलु हिंसाका घटना दर्ता भएका छन्। जिल्ला अस्पतालमा रहेको ओसीएमसीका अनुसार भूकम्पपछि ११ वटा जबरजस्ती करणी, ३ वटा यौन दुव्र्यवहार, १० वटा कुटपिट, २४ वटा खान लगाउन नदिएको (स्रोतसाधनबाट बञ्चित गरेको) र १६ वटा मानसिक हिंसाका घटना दर्ता भएका छन्। शारीरिक तथा मानसिक हिंसा, यौन दुव्र्यवहार र जबर्जस्ती करणीमा परेका महिला तथा बालबालिकाहरूको सहायताका लागि स्थापना भएको ओसीएमसीमा भूकम्पपछि आउनेको संख्या बढ्दै गएको मनोपरामर्शकर्ता प्रमिला आरसीले जानकारी दिइन्। ‘ओसीएमसीमा आउने पीडितलाई परामर्श सेवा, उपचारको व्यवस्था, आतेजाते यातायात खर्चलगायतका सेवा उपलब्ध गराइरहेका छौं’, उनले भनिन्। 

भूकम्पपछि महिला तथा बालबालिका थप असुरक्षित हुँदै गएको अधिकारकर्मी शोभा सिंहले बताइन्। ‘भूकम्पपछि संरक्षणको पाटो कमजोर हुँदा बालबालिका र महिलाहरू शारीरिक तथा मानसिक हिंसाको सिकारमा परेका छन्’, उनले भनिन्, ‘भूकम्पले आर्थिक सामाजिक अवस्थासँगै जनजीविकाका क्षेत्रमासमेत गम्भीर असर पारेको छ। त्यसको पत्यक्ष प्रभाव महिला र बालबालिकाको सुरक्षामा समेत परेको छ। यस विषयमा सरोकारवाला निकाय गम्भीर हुन जरुरी छ।’

अरू बेलाभन्दा विपद् र त्यसपछिको अवस्थामा जबर्जस्ती करणी, यौनदुव्र्यवहार, घरेलु हिंसा, लुटपाटलगायतका घटना घटन सक्ने भन्दै सुरक्षाकर्मीलाई चनाखो रहन निर्देशन दिइएको जिल्ला प्रहरी प्रमुख रोकामगरले जानकारी दिए। 

उनले जबर्जस्ती करणी र घरेलु हिंसाका घटना बढ्दै जान थालेपछि प्रहरीलाई गस्तीमा पठाउने गरिएको बताए। भौगोलिक विकटता, प्रहरी युनिट र दरबन्दीको अभावलगायतका कारण समस्या भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.