विद्युत सेवा भरपर्दो नभएको भन्दै सेवाग्राहीले बुझाए ज्ञापनपत्र
महोत्तरी : कम भोल्टेजको समस्याको निराकरण, सिचाई टान्सफर्मर जडानको माग गर्दै महोत्तरीको गौशालास्थित नेपाल विद्युत प्राधिकरणको प्रशाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार विहान १० बजेको समयमा स्थानीय सेवाग्राहीहरुको एक समूहले विभिन्न माग राख्दै कार्यालय प्रमुख उपप्रवन्धक उमेशप्रसाद यादवलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा कम भोल्टेज र टान्सफर्मरको अभावमा किसानहरु खेतमा सिंचाइबाट बन्चित भएको, जडान गरिएको टान्सफर्मरहरु सुरक्षाको अभावका चोरी हुनेमा बढोत्तरी, खेतमा जडान गरिएको स्याल र टयुवेल कम भोल्टेजको कारण किसानहरु समस्यामा रहेको जनाइएको छ । यस्ता समस्याहरु समाधान समयमै गरी किसानहरुको पीरमार्कामा मल्हम दल्नका लागि सो ज्ञापनपत्रमार्फत कार्यालयलाई आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख यादवले क्रमिक रुपमा समस्या समाधान गरिने बताएका छन् । माग अधिक रहेकोले ती समस्या निराकरण क्रमिक रुपमा गरिने यादवले प्रतिवद्धता जनाएका छन् । यता, सम्सी गाउँपालिका– २ स्थित सम्सी–गौशाला सडक खण्डको पर्सा देवाडमा स्थानीयहरूले विद्युत् समयमा मर्मत नगरेको भन्दै विरोधस्वरुप सडक अवरुद्ध गरेका छन् ।
विद्युत् प्राधिकरणले बिग्रेको लाइन मर्मत गर्न इन्जिनियरसहितको टोली खटाएर नयाँ तार ओछ्याउन थालेपछि स्थानीयले अवरुद्ध सडक खोलेका हुन् ।स्थानीयहरूले गर्मीको समयमा पटक पटक लाइन अवरुद्ध हुँदा बालबालिका तथा ज्येष्ठ नागरिक अति प्रभावित भएपछि आफूहरू बाध्य भएर सडकमा आउनु परेको प्रतिक्रिया दिए । उनीहरूले अब लाइन मर्मतपछि पुनः पटक–पटक अवरुद्ध नहुने अपेक्षासहित आफूहरू सडक खोल्न राजी भएको बताए।
प्रतिक्रिया दिनुहोस !