समृद्धिका लागि संकल्प यात्रापश्चात एमालेको दिएको प्रतिवेदनमा मेरो स्वामित्व छ, सुझाव कार्यान्वयन हुन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रापछि दिएको प्रतिवेदन कार्यान्वयनका लागि अघि बढाइएको बताएका छन्। सांसद कृष्ण गोपाल श्रेष्ठले पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै समृद्धिका लागि संकल्प यात्राबाट प्राप्त राय समेत समेटी नेकपा (एमाले)ले नेपाल सरकारलाई बुझाएको सुझावको कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्नको जवाफमा उनले एमालेको प्रतिवेदनमा आफ्नो पनि स्वामित्व रहेको उल्लेख गरेका हुन्।
श्रेष्ठले प्रश्न गर्दै भने‘नेकपा (एमाले) का अध्यक्षको नेतृत्वमा हामीले भर्खरै पुष्पलाल मध्य पहाडी लोकमार्ग हुदै (झुलाघाट-चिवाभञ्ज्याङ) समृद्धिका लागि संकल्प यात्रा गरेर प्रत्यक्ष जनतासंग भेटेर फर्केका छौं। ग्रामीण क्षेत्रबाट जनताको बसाइँसराइ तिब्र छ। युवा विद्यार्थी र दक्ष जनशक्ति सरकारी सेवा समेत छाडेर विदेश पलायन हुने क्रम दिनप्रतिदिन बढ्दो छ। यत्रो विधि बसाइँसराइ र दक्ष जनशक्ति पलायन भएको देख्दा पनि यसलाई रोक्ने सरकारको कुनै ठोस योजना किन देखिएन ? उल्टै श्रम सम्झौता, पढ्दै कमाउदै जस्ता नारा दिदै विदेश पठाउने गलत निति लिएको छ। के यसरी पलायन रोकिन्छ त ? ’
जवाफलमा प्रधानमन्त्री प्रचण्डले भने,‘प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीज्यूको नेतृत्वमा मलाई प्रतिवेदन बुझाउने क्रममा पनि मैले भनेको थिएँ कि यो प्रतिवेदनमा मेरो पनि स्वामित्व छ। मध्यपहाडी भू-भाग पूर्वमा पाँचथरको चिवाभञ्ज्याङ्गदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मलार्इ यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय, शैक्षिक लगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने मूल ध्येयले मध्यपहाडी लोकमार्ग निर्माण गर्नुपर्छ भनेर मेरो पहिलो कार्यकालमा २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले मध्यपहाडी राजमार्ग निर्माणको रेखांकन प्रस्ताव पारित गरेको थियो।’
प्रचण्डले मध्यपहाडी लोकमार्ग निर्माणसंगै यस क्षेत्रमा कृषि, पर्यटन, शैक्षिक तथा औद्योगिक विकास प्रवर्द्वन गरी आर्थिक क्रियाकलाप बढोत्तरी गर्न गेम चेन्जर आयोजनाको रुपमा अहिले १० वटा नयाँ शहरको एकीकृत विकास योजना र पछिल्ला २ वटा रणनैतिक शहरी विकास योजना तर्जुमा भर्इ कार्यान्यनमा रहेको बताए।
प्रचण्डले भने,‘प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयहरु कार्यान्वयन लागि निर्देशन दिइएबमोजिम गत साता मात्रै प्रतिपक्षी दलको प्रतिनिधिमण्डल र नेपाल सरकारका मुख्य सचिव एवं सचिवहरुसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गहन छलफल सम्पन्न भएको छ। प्रतिवेदनमा उल्लेख गरिएका उल्लेख्य सुझावहरु आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा क्रमश समावेश गरिने जानकारी गराउँदछु।’
मंसिर १४ देखि पुस १ गतेसम्म मध्यपहाडको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको १८ दिने ‘समृद्धिका लागि संकल्प यात्रा’मा स्थानीयबाट प्राप्त भएका ४६ विषयका ७ सय ५१ मागसहितको ध्यानाकर्षणपत्र एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका थिए। एमालेले सरकारलाई यात्राका क्रममा जनताबाट प्राप्त माग, सुझाव एवं अभियानका क्रममा पार्टीले देखेका पहाडी क्षेत्रका विकासका सम्भावना र चुनौती समेटेर ध्यानाकर्षणपत्र बुझाएको हो
ध्यानाकर्षणपत्रमा अभियानका क्रममा विभिन्न राजनीतिक दल, संघ–संस्था, स्थानीय तह, व्यावसायिक क्षेत्र र व्यक्तिगत रूपमा समेत सयौं ज्ञापनपत्र, ध्यानाकर्षण, माग र सुझाव प्राप्त भएकाले विभिन्न जिल्लामा सर्वदलीय बैठकबाट साझा मागपत्र तयार गरेर प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको एमालेले जनाएको छ। ध्यानाकर्षणपत्र लिँदै प्रधानमन्त्री प्रचण्डले प्राप्त मागहरूलाई दराजमा थन्किन नदिने बताउँदै नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्राप्त भएकाले यसलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यान्वयन अवस्थाको अनुगमनका लागि पार्टी उपाध्यक्ष एवं सांसद विष्णु पौडेललाई जिम्मेवारी तोकिएको छ। सोही अनुसार केहिदिन अगाडि ज्ञापन पत्र कार्यान्वयनका लागि अनुगमनको सिलसिलामा आज सिंहदरबारमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू र प्रतिनिधिहरूसँग पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले छलफल गरेका थिए।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
