उत्तरी गोरखाको नाम्रुङमा मिलारेप्पा पार्क
गोरखा : उत्तरी गोरखाको नाम्रुङमा मिलारेप्पा पार्क उद्घाटन गरिएको छ । चुमनुब्री गाउँपालिका- ४ नाम्रुङका स्थानीय समाजसेवी सोनाम ग्याल्जेन लामाको समन्वयमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको मिलारेप्पा पार्क तीनदिने कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको वडाअध्यक्ष पेमा ग्याल्बो लामाले जानकारी दिए ।
वडाअध्यक्ष लामा,भेञ्चेन फुञ्चोक डाकेलिङ गुम्बाका १८ जना लामाहरूले संयुक्त रुपमा उद्घाटन गरेका थिए । सात रोपनी क्षेत्रफलमा फैलिएको मिलारेप्पा पार्कमा ८.७ फिट अग्लो मिलारेप्पाको मूर्ति निर्माण गरिएको छ ।
साथै १६ इन्च अग्लो मार्पा (मिलारेप्पाका गुरु)को मूर्ति, १६ इञ्च अग्लो घ्याम्पोपाको मूर्ति,१० इञ्च अग्लो शाक्यमुनि वुद्धको मूर्ति र २४ वटा थाङ्का निर्माण गरिएको छ । सो ठाउँलाई स्थानीय भाषामा नाल्जोर मिलाई थुक्जेलिङ नामाकरण गरिएको छ ।
मिलारेप्पा पार्कमा विशेषगरी ज्येष्ठ नागरिकहरूलाई माने घुम्ने,प्रार्थना गर्न व्यवस्था मिलाइएको वडाअध्यक्ष लामाले बताए । साथै मनास्लु आरोहण तथा लार्केपासका लागि जाने पर्यटकहरूले पनि अवलोकन गर्न सक्ने उनले बताए ।
उद्घाटन समारोहमा चुमनुब्री गाउँपालिका,सातवटै वडा कार्यालय वडा सदस्य फुर्बा ठिलेलाई मायाको चिनो प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष लामाले गाउँपालिका, वडा कार्यालयले पनि गर्न नसकेको काम गरेकामा समन्वयकर्ता लामा तथा भिनचिन गुम्बाका प्रमुख लामा साङ्गे ङिङ्पा रिम्पोछे,स्वयंसेवकलगायतलाई धन्यवाद दिएका थिए ।