माओवादी केन्द्रमा ‘परिवारवाद’

माओवादी केन्द्रमा ‘परिवारवाद’
तस्बिर : प्रचण्ड सचिवालय

 काठमाडौं : नेताहरूको जिम्मेवारी बाँडफाँटमा ‘परिवारवाद’ हावी भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा फरक मत राखेका छन्। स्थायी कमिटी बैठकले पार्टी विधानविपरीत नेताहरूको जिम्मेवार तोकेको भन्दै शर्माले लिखित रूपमै फरक मत राखेका हुन्। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विधि र नीति मिच्दै भाइ नारायण दाहाल र बुहारी बिना मगरलाई पार्टीको जिम्मेवारी दिएको उपमहासचिव शर्माको आरोप छ। ‘जनप्रतिनिधिहरू पार्टीको इञ्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइञ्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ,’ शर्माले फरक मतमा भनेका छन्, ‘कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्यविभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु।’  

उपमहासचिव शर्माले सुदूरपश्चिमका नेता खगराज भट्टलाई अपमानित गरिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इञ्चार्ज दुवै पदबाट हटाइएको छ।  स्थायी समिति बैठकले भट्टलाई दलको नेताबाट हटाउने सुदूरपश्चिम प्रदेशको संसदीय दलका बहुमत सदस्यको निर्णयलाई सदर गरेको हो। 

माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेका थिए। माओवादी प्रदेश कमिटीले भने उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो। तर, स्थायी कमिटी बैठकले बहुमत सदस्यको निर्णय कार्यान्वयन गरेको हो। उक्त निर्णयप्रति उपमहासचिव शर्माले तीव्र असन्तुष्टि जनाएका छन्। 

‘सेती महाकाली अभियानमा केही समयदेखि इञ्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिविधिहरूका आधारमा दर्जनभन्दा बढीलाई बेवास्ता गर्दै स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इञ्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ,’ शर्माले फरक मतमा भनेका छन्, ‘सो प्रदेशमा हाललाई बिना मगरलाई सहइञ्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कमरेडलाई यो पार्टीमा स्थान छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ।’ 

अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरलाई सहइन्चार्ज बनाउने निर्णयको शर्माले तीव्र विरोध जनाएका छन्। जिम्मेवारीबाट हटाइएकोमा भट्टले आक्रोश पोखेका छन्। ‘मेरो राजनीतिक जीवनलाई नै समाप्त गर्ने निर्णय भएको छ,’ भट्टले भनेका छन्। 

यस्तै, जनप्रतिनिधि भएको भन्दै शर्मालाई पनि पार्टीको जिम्मेवारी तोकिएन। आफूले जिम्मेवारी नपाएको विषय सामान्य रूपमा लिएको उनले बताए। ‘मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रूपमा लिएको छु। तर, यसभित्रको अन्तर्निहित उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्था गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौंला भन्दै टारिएको अवस्था जगजाहेर छ।’ उनले फरक मतमा भनेका छन्। शर्माको मतप्रति सकारात्मक रहेकाहरूलाई जिम्मेवारीविहीन बनाइएको 
उनको आरोप छ।  

विधान अधिवेशनमा आफूले मौखिक रूपमा राखेको कुराप्रति बेवास्ता गरिएकाले लिखत पेस गरेको बताएका छन। पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा विधान अधिवेशनमा बोल्नसमेत अनुमति नदिएको उनले स्मरण गराए। ‘अहिले आएर कार्य विभाजनमा आइपुग्दा सोही आग्रहबाट निर्देशित भएको छ,’ उनले भने। 

जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था अध्यक्षसहित सम्पूर्णलाई लागू हुनुपर्ने उनको भनाइ छ। उनले फरक मतमा भनेका छन्, ‘जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था कर्यान्वयन गर्ने कुरा गर्दा स्वयं अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।’ विधानको व्यवस्थाअनुसार पार्टी पंक्तिमा आफ्नो मत राख्न पाउने अधिकारको उपयोग गर्दै आफू लिखित असहमति पत्र बैठकमा प्रस्तुत गरेको उनले बताए। विधान अधिवेशनपछि बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु पनि गलत भएको शर्माको भनाइ छ।

विधान अधिवेशनबाट पारित विषयलाई बेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद भएको शर्माको आरोप छ। उनले विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्। ‘स्थायी कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक–पटक बैठक सरेको र ०८० फागुन १५ गते प्रस्तावित भई असहमतिका बीच पारित गरिएका निर्णयहरूप्रति गम्भीर असहमतिका साथ आफ्नो मत राख्दछु,’ उनको फरक मतमा भनिएको छ। 

यिनले पाए प्रदेश इञ्चार्ज र सहइन्चार्जको जिम्मेवारी  

माओवादी केन्द्रले प्रदेश इञ्‍चार्ज र सहइञ्‍चार्जको जिम्मेवारी तोकेको छ। स्थायी कमिटी बैठकले  सातवटै प्रदेश, प्रवासको इञ्चार्ज र सहइञ्चार्ज तोकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। कोशी प्रदेशको इञ्‍चार्जमा हरिबोल गजुरेल र सहइञ्‍चार्जमा सावित्रीकुमारी काफ्ले तोकिएका छन्।  यसैगरी मधेस प्रदेशको इञ्‍चार्जको जिम्मेवारी लीलामणि पोखरेललाई दिइएको छ भने विश्वनाथ साहलाई सहइञ्‍चार्ज बनाइएको छ।

नारायण दाहाल र बिना मगरलाई सहइन्चार्ज बनाउनुले पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कमरेडलाई यो पार्टीमा स्थान छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ।
जनार्दन शर्मा, उपमहासचिव, माओवादी केन्द्र

बागमती प्रदेशको इञ्‍चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ। सहइञ्चार्ज तोक्न बाँकी छ। सहइञ्चार्ज प्रचण्डका भाइ नारायण दाहाललाई बनाउन लागिएकोमा शर्माको विरोधले सार्वजनिक गरिएको छैन। गण्डकी प्रदेशमा दीनानाथ शर्मा इञ्चार्ज र हरिराज अधिकारी सहइञ्चार्ज छन्। लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्‍चार्ज र कुलप्रसाद केसीलाई सइञ्‍चार्जको जिम्मेवारी दिएको छ। कर्णाली प्रदेशमा कालीप्रसाद मल्ल इञ्‍चार्ज बनाइएको।  सहइञ्चार्ज तोक्न बाँकी छ। 

यसैगरी सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराज मणि पोखरेल इञ्‍चार्ज र बिना मगरलाई सहइञ्‍चार्जको जिम्मेवारी दिइएको छ ।
प्रवास प्रदेश समितिको मध्यपुर इञ्‍चार्जको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ। प्रवास प्रदेश समिति भारतको इञ्‍चार्जमा लक्ष्मण पन्त र सहइञ्‍चार्जमा टिभी पाठकलाई जिम्मेवारी दिइएको छ।

प्रवास प्रदेश समिति युरोप–अमेरिकालगायतको इञ्‍चार्जको जिम्मेवारी सुरेन्द्रकुमार कार्कीलाई दिइएको छ। विशेष प्रदेश समितिको इञ्‍चार्जको जिम्मेवारी हितमान शाक्य र सहइञ्‍चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिइएको प्रवक्ता सापकोटाले जानकारी दिए।

बैठकले मधेस तराई राष्ट्रिय जागरण अभियान चैत १५ गतेदेखि हिमाल, पहाड र मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। 

राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने 

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। प्रवक्ता सापकोटाले बैठकका अधिकांशले राष्ट्रियसभा अध्यक्ष छोड्न नहुने सुझाव दिएकाले पार्टीले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको बताए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सहमतिमा अध्यक्ष बनाउने गरी कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याइएको थियो। तर, स्थायी समिति बैठकले भने आफंै उम्मेदवार बनाउने निर्णय गरेको छ। 

चुनावमा एक्लै लड्ने 

माओवादी केन्द्रले आउँदो चुनावमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको  छ। प्रवक्ता सापकोटाले आगामी निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको बताए।  ‘हाम्रो पार्टीको केन्द्रीय समिति र विधान सम्मेलनमा पनि अब निर्वाचनमा एक्लै लड्ने स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने भनिसकेका छौं। अब एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्नुपर्छ, उनले भने । 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.