पटेर्वा सुगौलीमा बाघ आतंक, एक घाइते
वीरगन्ज : पर्साको पटेर्वासुगौलीमा बाघले आतंक मच्चाएको छ। बाघको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् भने बाघले आक्रमणबाट तीनवटा बाख्रा मरेका छन्।
पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा बिहीबार बाघको आक्रमणबाट स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी गम्भीर घाइते भएका हुन्। बाघले बाख्रालाई मारेको खबर थाहा पाएसँगै बाघ धपाउन पुगेका युवाको समूहमध्ये सरोजलाई बाघले घाइते बनाएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा प्रहरी चौकी रंगपुरटाडीसहितको टोलीले घाइते अधिकारीको उद्धार गरेको थियो।
श्रीपुरस्थित स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि गम्भीर घाइते सरोजलाई वीरगन्जस्थित नारायणी अस्पतालमा लगेर भर्ना गरिएको प्रहरी निरीक्षक केशरीले बताए।
सरोजलाई आक्रमण गरी घाइते बनाएको बाघले नै लक्ष्मीपुर टोलमा तीनवटा बाख्रा मारेको छ। आक्रमण गर्ने बाघको खोजी भइरहेको प्रहरी निरीक्षक केशरीले बताए।
पटेर्वा सुगौली गाँउपालिका र पर्सागढी नगरपालिकाको जनता सडक आसपासको क्षेत्रमा बाघले विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको स्थानीय शिक्षक महेन्द्र चौधरी थारुले जानकारी दिए। उनका अनुसार एक महिना पहिले पनि पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर २ चाफीमा बाघकै आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको थियो।