खोरका बाघलाई आहारा पुर्याउनै सकस
गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जका बाघ उद्धार केन्द्रहरूमा राखिएका समस्याग्रस्त पाटे बाघहरूलाई आहारा पुर्याउनै सकस हुन थालेको छ। प्राकृतिक बासस्थानबाट मानवीय हमला गरेपछि प्रविधिमार्फत समातेर खोरमा पालिएका समस्याग्रस्त बाघहरूलाई दैनिक मासुको जोहो गर्नु परेपछि बर्सेनि लाखौंं रुपैयाँ आहारामै खर्च हुने गरेको छ।
तरार्ईकै ठूलो बर्दिया राष्ट्रिय निकुञ्जको संरक्षण कार्यले उचाइ पाएसँगै वन्यजन्तुहरूको संख्यामा वृद्धि भएको छ। विश्वबाटै लोप हुन लागेका पाटेबाघको संख्या पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ। बर्दियाका प्राकृतिक वासस्थानमा १ सय २५ वटा पाटेबाघ छन्। बाघको संख्या बढेसँगै मानव बाघबीचको द्वन्द्वसमेत बढेको छ। निकुञ्जले मानिसलाई आक्रमण गर्ने समस्याग्रस्त बाघहरूलाई लठ्याएर समात्ने र निकुञ्जका खोरहरूमा राख्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए। पछिल्लो समय यस्ता समस्याग्रस्त बाघको संख्या बढेसँगै निकुञ्जलाई आहारा पुर्याउनै सकस हुन थालेको छ। उनले भने, ‘भविष्यमा समस्याग्रस्त बाघहरू थप बढ्दै जाने सम्भावना धेरै छ।’ बर्दिया राष्ट्रिय निकुञ्जका विभिन्न उद्धार केन्द्रहरूमा उद्धार गरिएका ५ वटा समस्याग्रस्त बाघ छन्। यस्ता बाघ नेपालभरि १९ वटा छन्।
उनले थपे, ‘चितवनमा ६, बाँकेमा १, पर्सामा ३ वटा र चिडियाखानामा ५ वटा समस्याग्रस्त बाघहरू राखिएका छन्। बर्दियाको ठाकुरद्वारामा रहेको उद्धार केन्द्रमा २ वटा बाघ र रम्भापुर क्षेत्रमा ३ वटा बाघ छन्। बर्दियामा थप दुइटा खोर बनाउने तयारी हाम्रो छ। आगामी वर्ष ५ वटा बाघ थपिने अनुमान हाम्रो छ।’ समस्याग्रस्त बाघ बढेसँगै निकुञ्जलाई आहारा पुर्याउनै सकस हुन थालेको छ। बाघलाई आहाराका लागि सातामा २८ देखि ३० किलोग्राम मासु आवश्यक पर्छ। खोरमा भएका सबै बाघलाई १४० किलो मासु आवश्यक पर्छ। वार्षिक २२ देखि २५ लाख रुपैयाँ समस्याग्रस्त बाघको आहारामा लाग्नु दिगो होइन। प्रमुख रामले अगाडि भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा निकुञ्ज बाहेकको सामुदायिक वन क्षेत्रमा खुला चिडियाखाना बनाइ पर्यापर्यटनका रूपमा पर्यटक भिœयाउन सके संरक्षणमा ठूलै
फड्को मार्ने सम्भावना छ। यसले खोरमा बाघलाई खानेकुरा अभावको समस्या पनि समाधान हुने र स्थानीय रोजगारी वृद्धि भई समस्याग्रस्त बाघको समेत दिगो व्यवस्थापन हुन्छ।’
समस्याग्रस्त बाघ बढ्ने क्रम रहेकाले त्यस्ता बाघ व्यवस्थापन गर्न खोरहरू छैनन्। चितुवा राख्ने खोर पनि छैन। यसले संरक्षणमा चुनौती थपिँदै गएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले बताए। एनटीएनसीले समस्याग्रस्त बाघ समाउन प्राविधिक सहयोग गर्दै आएको छ। बाँके बर्दिया कम्प्लेक्समा बाघ चितुवालगायत अन्य वन्यजन्तुहरूको उद्धार गर्ने गरेका छौं। उनले भने, ‘समस्याग्रस्त बाघ भएको क्षेत्रमा क्यामेरा ट्र्याप गरी बाघ पहिचान गर्छौं। बुढो, घाइते एवम् शिकार गर्न नसक्ने अवस्थाका बाघहरू समस्याग्रस्त मानिन्छन्।’