साई दूरै म पनि दूरै माया दुरिँदैन

देउडामा जनजीवन

साई दूरै म पनि दूरै माया दुरिँदैन

आँखा नै संसार हो भन्ने सन्देश दिएको छ झिट्टा गीतले। जसले धार्मिक रूपमा पृथ्वी, अप, तेज, वायु र आकाश गरी पाँच भौतिक विषयलाई समेट्न खोज्छ।

रानीचणो पासा पण्यो मेल् खान गै’छ र
तवैत वाणुली लाग्यो भिट् हुन्या रैछ र।

देउडाका हरेक गीतले जनजीवनमा गहिरो प्रेम बोकेको हुन्छ। जीवनमा आइपर्ने समस्यादेखि प्रेमसम्बन्धी गीतले देउडालाई जीवन्त बनाएको पाइन्छ। भाषाका हिसाबले सबै गीत बुझ्न कठिन भए पनि अर्थ भने धेरै लाग्छन् यी गीतमा। जमाना यति बदलिइसकेको छ कि गाउँका युवा प्रायः बसाइँसराइ गर्दै सहरमुखी बने। तिनीहरू काली–कर्नालीको भाषा पनि शुद्धसँग बोल्न जान्दैनन्, देउडा खेल खेल्न पनि आउँदैन। यसको असर कसलाई पर्छ ? भोलिका पिँढीले आफ्नो भाषा, कला, संस्कृति बुझ्न स्वदेशमै बसेर कुनै पनि इलम सिक्नु जरुरी छ।

राष्ट्रिय पन्छी डाँफे असोज, कात्र्तिकमा पाक्ने मयल (पहाडी फल) खान गएछ। जहाँ पासा परेछ। भेट हुने भएकाले बाडुली पनि लागेर आयो। जसरी पासामा परेको रानी चरीको याद आयो। हृदयको भावलाई चरासँग दाँजेर, वनमा फल्ने वृक्षसँग तुलना गर्नु देउडा गीतको विशेषता हो। यी र यस्तै गीतले गाउँको रखबारी गर्ने मानिसको दिल छोएको पाइन्छ। देउडा गीत र संस्कृतिबारे कलम चलाउँदा र आवाज दिँदा पंक्तिकारलाई जन्मेको थातथलोको यादले सताउँछ। ग्वालो हुँदाखेरीको खुबै याद आउँछ । त्यही जिन्दगी सुखमय थियो भन्ने लाग्छ। जंगलको सल्लाका फेदमा बसेर गीत गाएको अनुभूति हुन्छ, देउडाका बारेमा कलम चलाउँदा। गाउँको अनुभूति सम्हालेर गाउँको कुनै हरिया चौरमा गीत गाएको, देउडा खेलेको सम्झनाका साथ यी देउडाका बारेका पंक्ति उतार्ने गर्छु।

देउडाका हरेक गीतले जनजीवनमा गहिरो प्रेम बोकेको हुन्छ। जीवनमा आइपर्ने समस्यादेखि प्रेमसम्बन्धी गीतले देउडालाई जीवन्त बनाएको पाइन्छ।

वास्तवमा, मातृशक्तिको विशेषता यही हो। हामी सबैथरी लोककलाकारले आआफ्नो जन्मथलोमा बोलिने शब्दहरू गीतमा उतार्नुपर्छ। गाउँबस्तीमा बोलिने शब्द र गाउने हरेक भाकाहरू संकलन गर्नु राष्ट्रभक्त कलाकारको धर्म हो। नेपाल आमाका गाथाहरू धेरै नै छन्। कति बाहिर आए, कति आउन बाँकी छन्। विशेषगरी, कर्नाली सभ्यताका भाषा र गीतबारे अध्ययन गरी जनसमक्ष ल्याउनुपर्छ। माथिल्लो डोल्पा र हुम्लाका लामा सभ्यताका प्राचीन लयहरू सञ्चार क्षेत्रमा आएका छैनन्।

दार्चुलाका सौका परिवारले गाउने गीत र लगाउने लुगा विस्तारै बाहिर आउन थालेका छन्। बझाङ जिल्लाको विशेष गाउँपालिका साइपालअन्तर्गत चीनको स्वशासित क्षेत्र, तिब्बतको सीमाना उरई भन्ज्याङ नजिकको प्राचीन गाउँ धुलिको गीतसंगीत पनि पृथक् छ। भाषामा आधा भोटे जातको सुनिन्छ, आधा खस बझांगी भाषामा त्यहाँका मानिसहरू बोल्ने गर्छन्। स्थानीय बासिन्दाले मौलिक गीतहरू गाएको सुन्दा हाम्रो प्राचीन रीतिरिवाज र लोकसंस्कृतिको मूलभूमि धुली नै रहेछ भन्ने लाग्छ।
हिउँ भौती मालिका पड्डो पाटन पुरिँदैन
साई दूरै म पनि दूरै माया दुरिँदैन।

सुदूरपश्चिमको प्राचीन गीत हो माथिको। प्रत्येकको जनजिब्रोमा झुन्डिएको यो गीतले शक्तिपीठ मालिकामा धेरै हिउँ पर्छ। तर पनि समथल घाँसे मैदान (पाटन) पुरिँदैन। बझाङ, बाजुरा, अछाम, कालीकोट, बैतडी, जुम्लालगायतका जिल्लाका भू–खण्डहरूमा घाँसेमैदान र पाटनहरू धेरै छन्। जहाँ चौरीगाई, भेडाबाख्रापालनका लागि उपयुक्त हुन्छ भन्ने पनि सन्देश दिइरहेछ। साई (केटा) टाढा भए पनि या कामको खोजीमा खाडी मुलुक गए पनि माया ताजा छ भनेर बैकिनी (केटी)ले सम्झना गर्दै गाएको गीत हो माथिको।

देउडा गीतहरूमा एक हजारभन्दा बढी मौलिक भाका छन्। प्रत्येक जिल्ला र बस्तीहरूमा २०४० सालपछि संकलकका रूपमा जाँदा पृथक् खालका भाक्या (लयहरू) छन् भन्ने पनि पाएको छु। प्रत्येक लयका आआफ्नै विशेषता छन्। अर्थ पनि धेरै लाग्ने खालका गीतहरू छन्। तर, देउडा चार थरीका देखिन्छन्। पहिलो, खेलसम्बन्धी गीतहरू जुन सबाल–जवाफमा आधारित हुन्छन्। दोस्रो थरीका गीतहरू जुन मायाप्रेम, सुखदुःख, मिलनबिछोड, हर्षविस्मात्मा आधारित हुन्छन्। तेस्रो थरीका गीतहरू ठाडी भाकामा विरही खालका गीतहरू हुन्। यी गीतहरूलाई दुःखी र कारुणिक गीत भन्न मन पराउँछु। चौथो थरी गीतहरू हुन्– झिट्टा गीतहरू। झिट्टा गीतहरू विशेषगरी गीताङ्गीले मात्र गाउँछन्। यी गीतहरू प्रश्नोत्तरीमा आधारित हुन्छन्।

देउडा खेलसँग पनि यिनको मिलन हुन्छ। व्यंग्य वाणमा आधारित यी गीतले अनौठा किसिमका विषयवस्तुलाई समेटेका हुन्छन्। विषयवस्तुसँग राम्ररी जानकारी राख्नुपर्ने हुँदा झिट्टा गीतलाई देउडामा व्याकरणीय गीतभन्दा फरक पर्दैन। मानसखण्डका यी गीतले विशेषगरी भूगोल, धर्मशास्त्र, अर्थशास्त्र र मानवशास्त्र आदि विषयलाई जनाउँछ।
बाटो का हो बयालाको घर का हो पानीको
कति संभार अर्‍याका छौ आँखाका नानीको।

देउडा गायनका पुराना पिँढीका व्यक्तिले आफूसरहको गीताङ्गीलाई गरेको प्रश्न हो माथिको। जुन गीतले धार्मिक रूपमा पृथ्वी, अप, तेज, वायु र आकाश गरी पाँच भौतिक विषयलाई समेट्न खोज्छ। जसलाई धार्मिक झिट्टा गीत भन्दा फरक पर्दैन। आँखाको सम्भार गरेको खण्डमा संसार देख्न पाइन्छ। आँखा नै संसार हो भन्ने सन्देश दिएको छ यो झिट्टा गीतले।
मार्सी धान्को माँणा खाँउली, वासमतीको भात
रानीचणा भेट् अरौली शिलदेवीका जात।

देउडा गीत प्रेमका नदी हुन्, जो कहिले सुक्दैनन्। देउडा गीतहरू हिमाल हुन् जुन धवल छन्, जसले राष्ट्रको रखवारी गरेका छन्। विद्वान्हरूले गीतहरू लेखेर संग्रृहीत र व्याख्या गर्न नभ्याए पनि देउडा गीतहरू वेदका ऋचा हुन् भन्ने लाग्छ। वेदको ध्वनिले श्रोतालाई जति आनन्द दिन्छ, देउडा गीतले पनि प्रेममय जिन्दगीलाई त्यति नै महत्त्व दिन्छ। माथिको गीतले प्रेम प्रसंगसँग कर्नाली र सेतीकालीमा फल्ने मार्सी धान र बासमती धानको महत्त्व दर्शाएको छ।

जुम्लाका मार्सी धान फल्ने फाँटहरू र बझाङ, बाजुरा, बैतडी, डँडेलधुरा, अछाममा फल्ने बासमती धानले ती जिल्लाका धान फल्ने जिउला (मलिला फाँटहरू)को महत्व दर्शाएको छ। यसैगरी, बझाङको शिलदेवीको जात्रा र डँडेलधुराको उग्रतारा जात्रामा प्रेमीप्रेमिकाबीचको मिलनको सुखद पक्षलाई पनि सरल तरिकाले उजागर गरेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.