हङकङमा तेक्वान्दोका कार्की र खड्काले जिते रजत
![हङकङमा तेक्वान्दोका कार्की र खड्काले जिते रजत](https://annapurnapost.prixacdn.net/media/albums/20240310_175403_NGwSSIoi2S_YosPslCi97.jpg)
हङकङ : हङकङमा आयोजित २८औं एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । काउलुन पार्कमा भएको खेलमा नेपालका सुरज कार्की र ओम प्रकाश खड्काले रजत पदक जितेका हुन् । कार्कीले ७४ केजी र खड्काले ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
उनीहरूलाई हङकङ तेक्वान्दो एशोसियनका अध्यक्ष चिङ म्यान चुङसहितका पदाधिकारीले पदक वितरण गरेका थिए । कार्की,खड्कासहित बिमल रोकाया, नियोल गुरुङलगायतका खेलाडीले प्रतोयोगितामा प्रतिस्पर्धा गरेका थिए ।
हङकङ तेक्वान्दो एशोसियनको निमन्त्रणामा नेपालको तेक्वान्दो टोली प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री कुमार घिसिङको नेतृत्वमा हङकङ आएको हो । प्रशिक्षक घिसिङ र नेत्रबहादुर तिमिल्सिनाले नेपाली टोलीको तर्फबाट हङकङका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।
नेपाली टोलीमा अन्तर्राष्ट्रिय रेफ्री नबिना बुढाथोकी, प्रशिक्षक राजु खड्का,अर्जुनभक्त राई,नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामालगायत सहभागी थिए । प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष आयोजक हङकङसहित नेपाल, मकाउ, भारत, मंगोलिया, कम्बोडिया, सिंगापुरलगायतका देशका खेलाडी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)