दोस्रो जीत निकाल्दै पर्सा जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश
![दोस्रो जीत निकाल्दै पर्सा जीतपुरसिमरा क्रिकेट कपको फाइनलमा प्रवेश](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_NWtxgjY9yD_ZQBe0CzlLr.jpg)
सिमरा : पर्सा क्रिकेट संघ जीतपुरसिमरा टी–२० क्रिकेट कपको फाइनलमा प्रवेश गरेको छ। जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा आइतबार भएको खेलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा समूहको विजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो।
लगातार दोस्रो जीतका साथ फाइनलमा प्रवेश गर्ने क्रममा पर्साले कलैयालाई ५ विकेटले पराजित गरेको हो। यसअघि शनिबार भएको पहिलो खेलमा पर्साले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबलाई ७७ रनले पराजित गरेको थियो। दुई खेल जितेको पर्सा समूह ‘ए’ को विजेताका रुपमा फाइलनमा गरेको छ।
राष्ट्रिय टोलीका सदस्य अनिलकुमार साह सम्मिलित कलैयालाई पराजित गर्ने क्रममा पर्साले उत्कृष्ट प्रदर्शन गरेको थियो। टस जितेर ब्याटिङ रोजेको कलैयाविरुद्ध पर्साका बलर हावी भए। पर्साले १६.४ ओभरमा सम्पूर्ण विकेट लिँदा कलैयाले ७९ रन जोडेको थियो।
कलैयाका लागि अनिलकुमार साह र साहिल पटेलले ११–११, भुलावन सहनीले १० र सेराज हवारीले अविजित १४ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन्। कलैयालाई सस्तैमा समेटने क्रममा पर्साका अनुज चौहानले तीन विकेट लिए। अनुजले ९ बलमा पाँच रन दिँदै कलैयाको तीन विकेट लिएका थिए। पर्साका चन्दन राम र सम्साद मन्सुरीले समान दुई–दुई विकेट लिँदा वसिम मन्सुरी, सोनु शर्मा, अल्फाज मन्सुरीले एक–एक विकेट लिए।
८० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको पर्साले पाँच विकेट गुमाउँदै १९औं ओभरमा जीत निकालेको थियो। पर्साका लागि अनुज चौहानले सर्वाधिक ३० रन बनाए। खेलमा अविजित रहेका उनले ३९ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै टिमलाई जीत नजिक पुर्याएका थिए।
पहिलो ओभरमै विकेट गुमाएर खराब सुरुवात गरेको पर्साको इनिङ असाब हुसेन र सुरज पटेलले सम्हालेका थिए। असाबले १० र सुरजले १९ रन बनाए। कलैयाका लागि त्रितराज दासले दुई विकेट लिए। दास शनिबार सम्पन्न कोशी टी–२० च्याम्पियनसिपको उपाधि नेपाल आर्मीले जित्दा प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए। कलैयाका लागि अन्य दुई विकेट भुलावन सहनी र शंकर पौडेलले लिए।
पर्साका जीतमा उत्कृष्ट प्रदर्शन गरेका अनुज चौहान प्लेयर अफ दि म्याच समेत घोषित भए। उनलाई शुभारम्भ कलेजका संचालक डा. राहुल झाले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘ए’ को अन्तिम खेलमा कलैया क्रिकेट क्लब र आयोजक भिड्नेछन्। दुवै टिम प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेका छन्।
अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्। चैत्र १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, भैरहवा, जनकपुरका ६ टिम सहभागी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)