जितपुरसिमरा क्रिकेट कपः कलैयाको सान्त्वना जित
![जितपुरसिमरा क्रिकेट कपः कलैयाको सान्त्वना जित](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_1EjkyF94O8_ADgo92rUw8.jpg)
सिमराः जितपुरसिमरा टिट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत सोमबार कलैया क्रिकेट क्लबले आयोजकमाथि फराकिलो जित हात पारेको छ। समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले जितपुरसिमरा स्पोर्टस् क्लबलाई ९ विकेटले पराजित गरेको हो।
सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो। आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्।
आयोजकलाई सस्तोमा समेटने क्रममा कलैयाका शंकर पौडेल र अरनिको यादवले समान दुई–दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए। ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जित निकाल्यो।
कलैयाको जितमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए। यादवले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे। यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए। आयोजकका लागि प्रभात लामाले एक विकेट लिए।
टिमलाई सानदार जित दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए। उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए। आयोजकविरुद्ध सानदार जित हात पारे पनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधि होडबाट बाहिरिएका हुन्।
कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसँग पाँच विकेटको हार व्यहोरेको थियो। पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जित हात पार्दै दुई अंक बटुलेको हो। यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहीन बनेको छ। आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसँग ७७ रनले पराजित भएको थियो।
प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन्। समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन्। यस समूहको तेस्रो टोलीका रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ।
समूह ‘बी’ को शीर्ष टोलीले पर्सा क्रिकेट संघसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल चैत १० गते हुनेछ। अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)