मकवानपुरको जितमा कंसकार नायक
![मकवानपुरको जितमा कंसकार नायक](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_vrM4XXWHae_zZd37WVueg.jpg)
सिमराः शुभ कंसकारको उत्कृष्ट अलराउन्डर प्रदर्शनको मद्दतबाट मकवानपुर क्रिकेट संघले जितपुरसिमरा टि–ट्वान्टी क्रिकेट कप प्रतियोगितामा मंगलबार शानदार जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाएन्डेशनमाथि ३१ रनको रोमाञ्चक जित निकालेको हो।
मकवानपुरको जितमा कंसकारका अलराएन्डर प्रदर्शन प्रशंसनीय रह्यो। जनकपुरविरुद्ध शानदार सतक प्रहार गरेका कंसकारले बलिङतर्फ पाँच विकेट लिए। टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रन जोडेको थियो।
ओपनरका रुपमा मैदानमा आएका कंसकारले विष्फोटक ब्याटिङ गर्दै १११ रन जोड्ने क्रममा ५५ बलमा आठ छक्का र नौ चौका प्रहार गरे। कप्तान सुमन सुनारले अविजित २४, गौरव खड्का र आस्तिक दाहालले समान १८ रन बनाए। जनकपुरका अधिकांश बलर महँगो सावित भए। उसका लागि बि. धवन सहनी, साइमोन रोय, अभिजित मण्डलले समान एक–एक विकेट लिए।
मकवानपुरले दिएको १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्ईंटर चल्न नसक्दा पराजित हुन पुग्यो। जनकपुरका ओपनर अलि अकबर अंशारी र हिमांशु दत्तले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए। उनीहरूले पहिलो विकेटका लागि ७९ रनको साझेदारी समेत गरेका थिए। तर मकवानपुरका अशिम श्रेष्ठले अंशारीको विकेट लिँदै पहिलो सफलता हात पारे।
अंशारीपछि क्रिजमा आएका बिशाल सुस्लिङ समेत उस्तै लयमा देखिँदा जनकपुरको जित सहज बनिरहेको थियो। तर खेलको १२औं ओभरमा बलिङ गर्न आएका कंसकारले सुस्लिङ र पर्शुराम यादवलाई एउटै ओभरमा पेभेलियन फर्काए। १७ बलमा १९ रन बनाउँदै खेलिरहेका सिस्लुङको विकेट लिएका कंसकारले त्यसपछि क्रिजमा आएका यादवलाई शून्यमै आउट गरे।
कंसकारले एक ओभरमै दुई विकेट लिएपछि जनकपुरको पालि धर्मराउन पुग्यो। १२१ को स्थितिमा दोस्रो विकेट गुमाएको जनकपुरले १३८ रन जोड्दा आठ विकेटको क्षति व्यहोरेको थियो। चन्दन यादवले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्।
मकवानपुरका कंसकारले तीन ओभर बलिङ गर्दै सात रन खर्चिएर पाँच विकेट लिए। पियुश शर्माले दुई, समिर चौलागाईं, अशिम श्रेष्ठ र सुवर्ण भट्टले समान एक–एक विकेट लिए। कंसकार खेलको प्लेयर अफ दि म्याच घोषित भए। उनलाई नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए।
प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवाबीच खेल हुनेछ। यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन्। यो समूहको विजेताले चैत १० गते पर्सा क्रिकेट संघसँग उपाधिका लागि खेल्नेछ। समूह ‘ए’ को विजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ।
अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)