अर्थमन्त्रीलाई माओवादीका प्रमुख सचेतकको सुझाव
'उत्पादन र रोजगारी वृद्धि गर्न प्रदेश र पालिकालाई ऋण दिऔं'
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकतालाई समाजवादको आधार तयार पार्नेगरी व्यापक परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठमा विनियोजन विधेयक २०८१/०८२ का सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले उत्पादन र रोजगारी वृद्धि हुने आयोजनामा प्रदेश र पालिकाहरूलाई सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने नीति बनाउनुपर्ने सुझाव दिएका छन्।
उनले आर्थिक गतिविधिलाई चलाएमान बनाउन विभिन्न उपायहरु अबलम्बन गरी आय वृद्धि गरेर बजेटको अंकले बढाउनुपर्ने बताए। नेता पाण्डेले बजेट कार्यान्वयनमा जनतामा विश्वासको संकट रहेको जिकिर गरे। उनले बजेटमा जति कुरा आएपनि कार्यान्वयन हुँदैन भन्ने खालको विषयमा सरकारले विश्वास दिलाउनुपर्नेमा जोड दिए।
यसका लागि सरकारले केही आयोजनाहरू एक आर्थिक वर्षमा सम्पन्न हुनेगरी छनौट गरी ती आयोजनाहरू सरकारले कार्यान्वयन गरेर सक्यौं भनेर विश्वास दिलाउनुपर्ने उनको सुझाव छ। नेता पाण्डेले आय वृद्धि गर्नका लागि छोटी भन्सारलाई बढाउने, सूर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने ,जटिबुटीसहित बनजंगलका सामग्रीहरूको संकलन र उपयोग गर्ने लगायतका उपायहरू अपनाउनुपर्ने बताए।
आम्दानी नभइ बजेट नबढ्ने भन्दै आधुनिक प्रविधिहरूलाई प्रयोगमा ल्याइ उत्पादन वृद्धि गर्नुपर्ने बताए। उनले खोला र खोल्सामा बगेर खेर जाने पानीलाई बाँध बाँधेर पानीको सदुपयोग गर्नुपर्ने समेत आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !