जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत्र २४ गतेदेखि
![जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत्र २४ गतेदेखि](https://annapurnapost.prixacdn.net/media/albums/DSC_19511_6GDgl1iasb_hSmANbD7t3.jpg)
सिमराः जीतपुरसिमरा गोल्डकपको १४औं संस्करण चैत्र २४ गतेदेखि सुरु हुने भएको छ। आयोजक नव जनजागृति युवा क्लबले आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो।
प्रतियोगितामा यसपटक ए डिभिजनका ५ सहित १० टिमले सहभागिता जनाउने भएका छन्। आयोजकका अनुसार प्रतियोगितामा साविक विजेता चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मोफसलका वीरगन्ज युनाइटेड क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, सलहेश युवा क्लब सिरहा र आयोजक सहभागी हुनेछन्।
अघिल्ला वर्षजस्तै फ्लड लाइटमुनी हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन्। वैशाख ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए।
प्रतियोगितामा यसपटक विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार मात्रै दिइने भएको छ। एन्फाको सुझाव अनुसार विधागत पुरस्कार कटौती गरिएको बताउँदै अध्यक्ष लामाले विधागततर्फ उत्कृष्ट भएका खेलाडीले २५ हजार नगद पाउने जानकारी दिए। प्रतियोगिताको उदयीमान खेलाडीले १५ हजार नगद हात पार्नेछन् भने प्लेयर अफ दि म्याचले १० हजार नगद पाउनेछन्। प्लेयर अफ दि म्याचको पुरस्कार शुभारम्भ कलेजले प्रायोजन गर्ने भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग प्रतियोगिता हुन लागेको हो। यसैगरी राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, बारा जिल्ला फुटबल संघले प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। प्रतियोगिताको अनुमानित बजेट एक करोड तीन लाख राखिएको छ। प्रतियोगिता सञ्चालनका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख उपलब्ध गराउनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)