सहिद भीमनारायणको गोल्डकपको आय–व्यय सार्वजनिक

सहिद भीमनारायणको गोल्डकपको आय–व्यय सार्वजनिक

धनकुटा : गत वैशाखमा सम्पन्न १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको आय–व्यय सार्वजनिक गरिएको छ। आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै गत वैशाख २७ देखि जेठ ३ गतेसम्म सञ्चालन भएको १५ औं सहिद भीमनारायण गोल्डकपको आय–व्यय सार्वजनिक गरेको हो। 

प्रतियोगिताबाट ३५ लाख ८१ हजार ८ सय रुपैयाँ आम्दानी भएको थियो भने ३३ लाख ८६ हजार ४ सय ६६ रुपैयाँ खर्च भएको छ। १५ औं संस्करणबाट १ लाख ९५ हजार ३ सय ३४ रुपैयाँ बचत भएको प्रतियोगिता सञ्चालन समितिका संयोजक शम्भु प्रधानले बताए। 

उनका अनुसार हालसम्म विभिन्न दाता, सरकारी निकाय, प्रायोजकहरूबाट २९ लाख ३६ हजार ९ सय २ रुपैयाँ रकम प्राप्त भइसकेको छ। अझैं ६ लाख ४४ हजार ८ सय ९८ रुपैयाँ रकम अझैं केही दाताहरूबाट उठ्न बाँकी रहेको उनको भनाइ छ।   

प्रतियोगिता सञ्चालनका लागि धनकुटा नगरपालिकाले १० लाख, राष्ट्रिय खेलकुद परिषद् काठमाडौंले ५ लाख, जगसक्री (स्टील) काठमाडौंले ४ लाख, प्रदेश खेलकुद विकास समिति विराटनगरले ३ लाख, महालक्ष्मी नगरपालिकाले २ लाख, पाख्रिवास नगरपालिकाले १ लाख, साँगुरीगढी गाउँपालिकाले १ लाख, छथरजोरपाटी गाउँपालिकाले ८५ हजार रुपैयाँ र अन्य दाताहरूले आर्थिक सहयोग गरेका थिए। गेट टिकटबाट १ लाख ४ हजार रुपैयाँ आम्दानी भएको थियो। 

त्यस्तै खर्चतर्फ खेलाडीलाई दैनिक भत्ता १० लाख ७५ हजार २ सय, खेलाडी भ्रमण भत्ता २ लाख ९० हजार, निर्णायक दैनिक भत्ता १ लाख ५२ हजार ५ सय लगायत २० शिर्षकमा खर्च भएको बताइएको थियो। पत्रकार सम्मेलनमार्फत् आयोजक समितिले १५ औं संस्करणलाई भव्यताका साथ सम्पन्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्पन्न गर्न सहयोग गर्ने दाताहरूलाई धन्यवाद व्यक्त गरिएको थियो। १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेट क्लब काठमाडौंले जितेको थियो। 

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन। २०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ। २०५५ सालमा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन्। 

नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। सहिद भीमनारायण गोल्डकपको १६ औं संस्करण आयोजना मिति आगामी वैशाख २३ गते प्रस्ताव गरिएको छ। समितिको बैठकमा आगामी वैशाख २३ गतेदेखि सञ्चालन गर्ने गरी  मिति प्रस्ताव गरिएको छ। 

नेपालको ए डिभिजन मछिन्द्र क्लब र एनआरटी क्लबलाई प्रतियोगितामा सहभागी गराउन छलफल सुरु गरिएको छ। १६ औं संस्करणलाई विगतको भन्दा स्तरीय बनाउनका लागि राम्रो क्लबलाई सहभागी गराउने आयोजकको योजना रहेको प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले बताए। सहिद भीमनारायण गोल्डकप धनकुटाको मात्रै नभएर कोशी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता हो। त्यसकारण स्तरीय टिमलाई सहभागी गराउन वैशाख २३ गते प्रस्ताव गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.