पुरुष फुटबलमा स्वर्णनजिक कोशी
चितवन : चितवनको भरतपुरमा जारी प्रथम संस्करणको अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत फुटबलतर्फ कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ। बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ स्थित गौरीटार बहुउद्देश्यीय रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमलाई २–० गोलले हराउँदै कोशी स्वर्णनजिक पुगेको हो।
कोशीको जितमा निखिल तामाङ र अभिषेक बिकले एक–एक गोल गरे। तामाङले खेलको चौथो मिनेटमा गोल गर्दै कोशीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको १७औं मिनेटमा अभिषेकले गोल गरेपछि दोब्बर अग्रता बनाएको कोशीले खेलको बाँकी अवधिमा गोल गर्न सकेन।
खेलको म्यान अफ द म्याच भने कमल खनाल बने। अब, कोशीले स्वर्णका लागि कर्णाली र बागमतीबीचको विजेता टोलीसँग स्वर्णका लागि खेल्ने छ।
बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। प्रतियोगिताअन्तर्गत महिला क्रिकेट शनिबार नै सुरु भएको थियो भने अन्य खेलका प्रतिस्पर्धा सोमबारबाट सुरु भएको थियो। पुरुष क्रिकेट चैत २८ गतेदेखि हुने छ। प्रतियोगिताको समापन समारोह गौरीटार रंगशाला हेटौंडामा वैशाख २ गते हुने छ।
प्रतियोगितामा करिब २ हजार खेलाडी तथा अफिसियल सहभागी भएका छन्। प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कास्यका लागि प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताका स्वर्ण विजेताले पाँच हजार, रजतले चार हजार र कांस्य विजेता खेलाडीले तीन हजार रुपैयाँ हात पार्नेछन्।
हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने भने टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ। राष्ट्रिय प्रतियोगितामा दिइने पुरस्कार रकम एकदमै कम भएको गुनासो पनि छ। पुरस्कार रकमले खेलाडीको मनोबल बढाउन नसक्ने प्रशिक्षकहरू बताउँछन्। प्रतियोगिता सञ्चालन गर्न १२ करोड खर्च हुने आयोजकले जनाएको छ।