विराटनगरमा आज पनि झडप, डीएसपीसहित ७ जना प्रहरी घाइते

विराटनगरमा आज पनि झडप, डीएसपीसहित ७ जना प्रहरी घाइते
सुन्नुहोस्

विराटनगर : विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच आज (बिहीबार) पनि झडप भएको छ। झडपमा परेर डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन्। 

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीसहितका प्रहरी घाइते भएका हुन्। घाइते हुने अन्य प्रहरीमा वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) रुपेश थपलिया, असइ (प्रहरी सहायक निरीक्षक) कमल पौडेल, हवल्दार ममता चौधरी, सहायक हवल्दार सुशील खड्गा, रामकुमार विक र लक्ष्मण मण्डल रहेका छन्। 

घाइते प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। उनका अनुसार विराटनगरको रानी क्षेत्रमा दोहोरो झडप भएको हो। झडपमा घाइते भएका सबैको अवस्था सामान्य छ। रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि बुधबार पनि झडप भएको थियो। झडपमा ५ प्रहरी र १ बालक घाइते भएका थिए। 

विराटनगरको रानीमा बुधबार दुई पक्षबीच झडप भएपछि समन्वय बिना सभा, सम्मेलन र विभिन्न गतिविधि गर्नलाई स्थानीय प्रशासनले बिहीबारदेखि रोक लगाएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहद्वारा जारी सूचनामा मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारका भेला, र्‍याली, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन भनिएको छ। 

उक्त सूचनाको बेवास्ता गरेर दिउँसो ३ बजेतिर विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिरअगाडि ८/१० जना व्यक्तिले प्रदर्शन सुरु गरेका थिए। प्रदर्शन गर्नेमध्ये विराटनगर–१५ का २६ वर्षीय राजन झा र २४ वर्षीय रितेश झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा बाँसको भाटा र लाट्ठी लिएर ५०/६० जनाको समूह साँझ ५ बजेतिर प्रदर्शनमा उत्रिएको थियो। 

उग्र बन्दै गएको प्रदर्शन नियन्त्रणमा लिन डीएसपी जोशीसहितको टोली प्रदर्शनस्थलमा पुग्नसाथ प्रहरीमाथि उक्त भीडले एक्कासि ढुंगामुडा गरेको प्रजिअ भट्टराईले बताए। प्रदर्शन रोक्ने क्रममा ढुंगामुडा हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। अश्रुग्यास प्रहारपछि भीड तितरबितर भएको जानकारी भट्टराईले दिए। 

‘सुरक्षाका लागि पुगेको प्रहरीमाथि एक्कासि ढुंगामुडा भयो। स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि भीड तितरबितर भएर अवस्था सामान्य बनेको छ। झडपमा परेर ७ जना प्रहरी घाइते भएका छन्।’ 

अहिले स्थिति सुरक्षा नियन्त्रणमै रहेको जानकारी भट्टराईले दिए। उनका अनुसार घटनास्थल वरपर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। अराजक गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रजिअ भट्टराईको भनाइ छ। विभिन्न गतिविधिका नाममा गलत गर्ने र हिंसा भड्काउन खोज्नेलाई छुट दिन नसकिने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.