‘पुतलीबजार बन्यो पूर्णखोप सुनिश्चिता पालिका’
स्याङ्जा : पुतलीबजार पूर्ण खोप सुनिश्चिता नगर घोषित भएको छ। नगरपालिकालाई मंगलबार खोप सुनिश्चितासँगै दिगोपनाका लागि प्रतिवद्धता गरिएको छ। नगरपालिकामा आयोजित कार्यक्रममार्फत पूर्णखोपसँगै दिगोपनाको सुनिश्चिताका लागि प्रतिवद्धता गरिएको हो।
शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ पालिकालाई पूर्ण खोप सुनिश्चिता एवं दिगोपनाका लागि प्रतिवद्धता गरिएको हो।
नगरप्रमुख तुलसीराम रेग्मीले पालिका भित्रका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप उपलब्ध गराएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताए।
घरधुरी सर्वेक्षणपश्चात नगरभित्रका लक्षित सबै बालबालिकाले पाउनुपर्ने ७ पटकमा १३ प्रकारका खोप पाएको जानकारी गराए। बाल मृत्युदर घटाउन राज्यले प्रति बालबालिका ६० हजार रुपैयाँ लगानी गरेको जनाउँदै यसको उपयोग गरी स्वास्थ्य लाभ गर्न प्रमुख रेग्मीले सुझाव दिए।
पुतलीबजार नगरपालिकाभित्र १६ देखि ५९ महिनाभित्रका पूर्ण खोप लगाएका बालबालिकाको संख्या १ हजार ८२२ जना रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ। बर्सेनि ४ सय देखि ५ सयको हाराहारीमा नगरपालिकाभित्र शिशु जन्मने गरेको बताइएको छ।