माथि टल्क्यो साईपाल हिमाल तल बग्या सेती
जसरी सुर्मा सरोवरबाट पश्चिमी भागमा कालंगा गाड बाह्रैमहिना बगिरहन्छ, देउडा गीतका मौलिक भाकाहरू पनि सधैं गुञ्जिरहन्छन्।
माथि टल्क्यो साईपाल हिमाल तल बग्या सेती
तलकोट र सुर्मा दौलीचौर बझाङ जिल्लाका पिछडिएका गाउँपालिका हुन्। वर्षायाम सुरु हुनुभन्दा अघि यहाँका अधिकांश बासिन्दा यार्चागुम्बा टिप्न साईपाल हिमालको फेदीसम्म पुग्छन्। साईपाल हिमालको नामबाट रहेको पहिलेको काँडा गाउँपालिका देशकै विशेष गाउँपालिकाअन्तर्गत पर्छ।
यार्चागुम्बा र अन्य जंगली जडीबुटीका कारण साईपाल गाउँपालिकाका जनताको जीवनस्तर पनि क्रमिक रूपमा सुधिँ्रदैछ। जुम्ला जिल्लाबाट बसाइँ सर्न पुगेका र स्थानीय भोटे जातिमा लोकसंस्कृतिमा केही फरकपन देखिन्छ। देउडा गीत संस्कृतिको खानी मानिएको बझाङका अन्य ठाउँको भन्दा साईपाल गाउँपालिकाको लोकसंस्कृतिमा केही फरकपन देखिन्छ।
वर्षदिनको भेट भयो देउडा खेलिहाल
नयाँ वर्ष बिसु पर्व झल्का रेलिहाल।
यस पटकको बिसुपर्व जन्मभूमि बझाङको तलकोटको वेदकाली ब्रह्मस्थान गाउँमा मनाउन पुगें। बिसु सुदूरपश्चिमको मौलिक पर्व हो। त्यस भेगमा नयाँ वर्षको पहिलो दिनलाई बिसुपर्व भनिन्छ। मौलिक संस्कृति बोकेको छ बिसुले। दहीमा चामल मिसाएर खानु, मासका बटुक (बारा) दहीमा भिजाएर खानुलाई शुभ मानिन्छ। शिवजीका रूपमा लौरोको पूजा गर्नु, पार्वतीका रूपमा पुतलीको पूजा गर्नु यहाँका नरनारीको मौलिक परम्परा हो। शैवभूमिका रूपमा हाम्रो मुलुकलाई स्वीकार्नु यो पनि सर्वस्वीकार्य नमुना हो।
भारतको बम्बै, बैङ्लोर, कालापत्थर, दिल्ली, केरला आदि ठाउँमा कामको खोजीमा जानु तलकोट गाउँपालिकाका युवाको परम्परागत नियति नै बनेको छ। त्यसैगरी, नैनीतालका स्याउ, अलमोडाका आलु, केराबारीको रेखदेख र परिवारको लुगाकपडाको जोहो गरी पर्वका बेला घर फर्कनु यस भेगका मानिसको दैनिन्दिनी हो। हुनेखाने केही युवा मलेसिया, खाडीमुलुक पुगेता पनि अधिकांशको गन्तव्य मुलुक भनेको भारत नै हो। यसबारे देउडा गायकले त्यो भूमिकाबारे गीत नै तयार पारेका छन् –
ताल स्याउ अलमोडा आलु रानीखेत केला
सम्झन्छु धुणुक्क रुन्छु साई सम्झेका बेला।
जन्मभूमिको माया कस्लाई लाग्दैन र ? परदेशमा काम गर्दाका पीडा गाउँका युवाले देउडा खेलमा यो पंक्तिकारसँग पोखे। देउडा गीतले जीवनको सुख–दुःखको भाव बुझ्यो। हालै खाडी मुलुकमा हत्या गरिएका १२ विद्यार्थीको दर्दनाक व्यथा उनीहरूले देउडामा पोखे। विपिन जोशीलाई खाडी मुलुकबाट रिहा गर्न नसक्ने राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल (काठमाडौं)मा भत्तामात्र पचाउँदै छन् कि नागरिकको भलाइ गर्दैछन् भनी उत्तर मागे –
सुकिलो ओड्नाको गादो हरियो मेलामी
बालो जोवल यसै बित्यो वैस्खान्या बेलामी।
हरियो मेला (घाँस उम्रेको भिर)मा सेतो गादो (लुगा)ले शोभा दिए झैं लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा स्वदेशमा रोजगारी पाए बिदेशमा कष्टकर जीवन बिताउनु पर्दैनथियो। काठमाडौं बसेर उच्च शिक्षा हासिल गरेका तिमीले स्वदेशमा हामीलाई छिटो काम दिलाऊँ भन्ने सन्देशका गीतले मन छुन्छ। तर प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि जीवनभर संघर्ष गरेको पंक्तिकारलाई पार्टी र सरकारले आजसम्म जिम्मेवार नदिँदा सेवामा चुक्नु पर्यो। अनि गीतमार्फत उत्तर दिनै पर्यो –
जिन्दगी अँध्यारै लाग्दो साउनका रातजन
छुट्याउन्या तक्दिरै होइकी हुरिका पातजन।
जिल्लाका अन्य भूभाग झैं तलकोट गाउँपालिका पनि विद्वान्हरू जन्माउने भूमि हो– राष्ट्रिय कलाकारदेखि प्रसिद्ध समाजसेवी एवं शिक्षाका अगुवा स्व. देवीचन्द्र जोशी यही ठाउँमा जन्मेका व्यक्ति हुन्। रजवार जंगबहादुर सिंहलाई तलकोटी संस्कृतिप्रेमीले सम्झिरहन्छन्। विद्वान्हरू ललितप्रसाद जोशी, प्रयागराज जोशी, लालबहादुर बोहोरा, रामबहादुर बिष्ट, कानुनविद् रणबहादुर सिंह, ज्योतिषविद् लक्ष्मीभक्त उपाध्याय र करनदेव जोशी आयुर्वेदका जानकार भिकारी सार्की पनि तलकोट गाउँपालिकामा जन्मेका व्यक्ति हुन्। जसलाई देउडा लोकसंस्कृतिप्रति अगाध माया छ। समाज परिवर्तनका लागि चिन्ता थियो र छ। साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको ससुरालीगृह तलकोट संस्कृतिको धनी भूमि हो।
सुर्मादेवी ताल माया सुर्मादेवी ताल
बिर्सन गारो भो कस्तो माया जाल !
२०४१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीतले बझाङमा शक्तिपीठ सुर्मादेवीको मन्दिर छ, सुर्मा सरोवर पनि छ। हिजोमात्र होइन, भविष्य र पर्यटनका लागि गन्तव्यस्थल बन्नेछ भन्ने सन्देश पनि दिएको छ। सुर्मा र दौलीचौरका छोराट्टीहरूले गाएका मौलिक देउडागीतका भाका कहिल्यै पनि भुल्न सकिँदैन। कालो कपालमा सेतो मुन्याठो त्यसैमा राष्ट्रिय फूल लालीगुराँसले सिँगारिँदा र मौलिक पहिरन गुन्यूचोली लगाउँदा सुर्मा दौलीचौरका गीतागीं नानीहरूको गुलाबी चेहरा अंग्रेजी कवि वर्डस् वर्थको लुसिग्रे कविताभन्दा कम लाग्दैन –
आफ्नो कला जोगाउनलाई अब लागी पर
सुर्मादेवी भगवती हाम्रो रक्षा गर। (छमक्क छमक्क)
कुनै बेला अभिभावकका अगाडि लजाउने चेलीबेटी अहिले धक नमानी देउडा खेल खेल्ने गर्छन्। गाउँका पटांगिनीमा प्रतियोगिता सञ्चालन हुन्छ गीतको। शिक्षा स्वास्थ्य छाउपडी हटाऊ आदि विषयका चेतनामूलक गीतहरूको प्रतियोगिता ती गाउँमा भइरहन्छन्। आफ्ना छोरीहरूले पुरस्कार पाए अभिभावक पनि दंगदास पर्छन् भनी खुसी व्यक्त गर्छन् गाउँपालिकाका अध्यक्ष खड्गबहादुर बोहरा। जसरी सुर्मा सरोवरबाट पश्चिमी भागमा कालंगा गाड र पूर्वी भागमा सुनिगाड बाह्रैमहिना बगिरहन्छन्। देउडा गीतका मौलिक भाकाहरू पनि सबै ऋतुमा प्रकृतिका आँसुकवि कवयित्रीद्वारा गुञ्जिरहन्छन्। बझाङको मौलिक लोकसंस्कृतिको विशेषता यही हो।