सुनवलमा आयोजनाका नाउँमा नदीजन्य पदार्थको जथाभावी बिक्री

सुनवलमा आयोजनाका नाउँमा नदीजन्य पदार्थको जथाभावी बिक्री
मापदण्डविपरीत उत्खनन् गरेको भन्दै खोलाको नापजाँच गर्दै प्राविधिक। तस्बिर : हरि शर्मा।
सुन्नुहोस्

परासी : नवलपरासीको सुनवल नगरपालिकास्थित भूमही खोलाबाट मापदण्डविपरीत नदीजन्य पदार्थको जथाभावी उत्खनन् र बिक्री गर्ने गरेको पाइएको छ । आयोजनाका नाउँमा निकालिएका नदीजन्य पदार्थ अन्यन्त्र बिक्री हुनुका साथै मापदण्डविपरीत उत्खनन् र संकलन गरेको गुनासो बढेपछि जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ निकाल्नमा रोकसमेत लगाएको छ । 

नगरपालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका लागि भूमही खोलाको नदीजन्य पदार्थ निकाल्न आशिष–क्षेमादेवी बुद्ध हिमाली जेवीलाई ठेक्का दिएको हो । अनुगमनका क्रममा उत्खनन् र संकलनका लागि स्वीकृत विधि प्रकृया र परिमाण सम्बन्धीको व्यवस्थाको पालना नगरेकाले नगरपालिकालाई पत्र पठाएर दुई दिनका लागि उत्खनन् र ढुवानीमा रोक लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एंव जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादवले जानकारी दिए । 

नदीजन्य पदार्थ निकाल्दा कम्पनीले वन क्षेत्रको स्थान र ठूला खाल्डा खनेर खोलालाई नै असर गर्ने गरी निकालेको पाइएको हो । नदीजन्य पदार्थ निकालेपछि त्यसको परिमाणको विवरण कम्पनीले रसिद काटेर राख्दै आएको छ । तर, नगरपालिकाले उपलब्ध गराएको रसिदमा परिमाण थोरै देखाएर अन्यन्त्र नदीजन्य पदार्थ पठाउने गरेको खुलेको हो । 

‘रसिदमा ७ वटा गाडी देखाइएको छ । तर, त्यहाँ रहेका नगर प्रहरीले गन्दा १० वटा गाडी देखियो । अन्यन्त्र ३ वटा गाडीको नदीजन्य पदार्थ कहाँ गयो ?’, जिसस प्रमुख यादवले भने । रसिद नकाटी पठाइएका गाडीका नदीजन्य पदार्थ अन्यन्त्र बिक्री गर्ने गरेको बताइएको छ । कम्पनीले मापदण्डविपरीत वन क्षेत्रको केही स्थानमा पनि उत्खनन् गरेको पाइएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत रविन्द्रनाथ चौधरीले बताए । ‘खोलामा धेरै गहिरो हुने गरी नदीजन्य पदार्थ निकालेको देखियो । त्यसमा वन क्षेत्रबाट पनि निकालेको पाइएको छ ,’ अनुगमनमा गएका वन अधिकृत चौधरीले भने । 

मापदण्डविपरीत उत्खनन्, संकलन तथा बिक्री गर्ने गरेको भन्दै नदीजन्य पदार्थको ढुवानीमा अनुगमन समितिले रोक लगाएपछि त्यसको परिमाण नाप जाँच गरिएको नगरपालिकाकी प्रमुख विमला अर्यालले बताइन् । ‘पत्रपछि हामीले परिमाण नाप जाँच गर्‍यौं । अझ केही घनमिटर कम्पनीले लैजान बाँकी रहेको देखिएको छ । धेरै परिमाण लैजान नदिनका लागि नगर प्रहरीलाई समेत परिचालन गरिएको छ ’, अर्यालले भनिन् । 

कम्पनीले विमानस्थलमा एकै पटक नदीजन्य पदार्थ लैजान समस्या हुने भन्दै रामग्राम नगरपालिका-११ का तीन र सुनवलमा १ गरी चार स्थानमा (घाटगद्दी) डम्पिङ्ग स्थल तोकेको छ । घाटगद्दी स्थलबाट समेत नदीजन्य पदार्थ अन्यन्त्र बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ । विमानस्थलका लागि नगरपालिकाले कुल २ करोड ४९ लाख ६४ हजारमा ३५ घनमिटर नदीजन्य पदार्थ बिक्री गरेको हो । नगरपालिकाले भूमहीबाहेक तुरिया र विचासय खोलाको नदीजन्य पदार्थ नारायणगढ–बुटवल सडक खण्ड विस्तार गरिरहेको चिनियाँ कम्पनी (चाईना स्टेट कन्स्ट्रक्सन)लाईसमेत  दिएको छ । 

पानभार खोला बोलपत्रमार्फत ठेक्का लगाएको छ । नदीजन्य पदार्थ बिक्री गरिएका खोलाहरुबाट मापदण्डविपरीत उत्खनन् गर्दा बाढी र कटानको जोखिम बढ्न सक्ने भन्दै अनुगमन गरेर व्यवस्थित गर्न स्थानीयले नगरपालिकासँग आग्रह गरेका छन्  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.