बगर ‘कब्जा’ गरेर नारायणी किनारमा खरबुजा खेती, सम्बन्धित निकाय मौन
नवलपरासी : नेपाली भूभागमा आएर लामो समयदेखि भारतीय नागरिकहरुले अस्थायी संरचना निर्माण गरेर खरबुजा खेती गर्दै आएका छन्। नवलपरासीको सुस्ता गाउँपालिकास्थित नारायणी नदीको बगर क्षेत्रमा भारतीयहरुले अस्थायी संरचना (छाप्रोले बनाएको कच्ची घर) निर्माण गरेर विगत तीन वर्षदेखि खरबुजा खेती गर्दै आएका हुन्।
बगर क्षेत्रलाई कब्जा नै गरे सरह अस्थायी संरचना निर्माणसहित खेती गर्दै आए पनि स्थानीय प्रशासन र पालिका भने बेखबर जस्तै बनेका छन्। भारतको उत्तर प्रदेश, बिहार र राजस्थानबाट आएका करिब ३० बढी घरपरिवारले बगर क्षेत्रमा खरबुजा खेती गर्दै आएका हुन्।
हरेक वर्षको असोज र कात्तिक महिनामा भारतीयहरु हुल बाँधेर खरबुजा खेती गर्न त्यहाँ पुग्ने गरेका छन्। सिजन सकिएपछि असारको पहिलो सातासम्म उनीहरु फर्केर जाने गरेका छन्। हरेक वर्ष सिजन सुरु भएपछि उनीहरु फेरि आएर खेती गर्ने कार्यलाई दोहोर्याउने गरेका छन्। वर्षा सुरु भएपश्चात बगरमा नदी बग्ने भएपछि केही भारतीय घरतर्फ जान्छन्, केही भने नदी किनारकै आसपास क्षेत्रका सार्वजनिक जग्गामा अस्थायी संरचना निर्माण गरेर बस्छन्।
विगत केही वर्षदेखि भारतीयहरुले बगर क्षेत्रलाई कब्जा गरेर खरबुजा खेती गर्दै आएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए। सुस्ता गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ को नारायणी नदी छेउमा खरबुजा खेती हुँदै आएको छ। नदी उकासको उक्त क्षेत्रको करिब ६/७ सय बिघा क्षेत्रफलमा भारतीयले खरबुजा खेती गर्दै आएको उपाध्यायले बताए।
खरबुजा खेती राम्रो हुने भए पनि नेपाली किसानले भने खेती लगाउनेतर्फ अहिलेसम्म वास्ता नगरेको अध्यक्ष उपाध्यायले बताए। ‘तीन वर्षदेखि भारतीयहरुले खेती गर्दै आएका छन्। हाम्रा किसानहरुले उनीहरुबाट केही सिकुन् भनेर चुप लागेर बस्यौं। किसानले सिकेनन् अब अर्को वर्षदेखि भारतीयलाई त्यस क्षेत्रमा खेती गर्न रोक लगाउँछौं।’, अध्यक्ष उपाध्यायले भने। बगर क्षेत्रमा भएको खेतीबाट हरेक वर्ष एक जना भारतीयले ६ देखि १० लाख रुपैयाँसम्म कमाई गरेर लैजाने उपाध्यायले बताए।
खरबुजा खेती मात्र होइन गण्डक ब्यारेजदेखि नर्सहीको तल्लो क्षेत्रमा रहेका सार्वजनिक जग्गामा भारतीयहरुले स्थायी बसोबास जस्तो गरी अस्थायी संरचना बनाएर बस्दै आएको उपाध्यायले बताए। ‘अस्थायी संरचनासहित खरबुजा खेती गर्दै आएको बारे चुप लागेर होला, हुँदा हुँदा अब नदी छेउका सार्वजनिक जग्गामा पनि छाप्रो हालेर बस्न थाले। यसले अतिक्रमण कार्यलाई बढाउने सम्भावना रहेकाले केही महिनामा त्यसलाई हटाउनेतर्फ लाग्छौं। ’, अध्यक्ष उपाध्यायले भने।
नेपाली भूभागमा भारतीयहरुले अस्थायी संरचना निर्माण गरी खेती गरेको बारे स्थानीय प्रशासनले भने अनविज्ञता प्रकट गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपाली भूभागमा अस्थायी संरचना बनाएर भारतीयहरु आएर बसेको बारे आफूहरुलाई जानकारी नभएको दाबी गरे।
सीमा क्षेत्रमा हुने अतिक्रमणसहित त्यस क्षेत्रको सुरक्षाको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ। सीमा क्षेत्रमा हरेक दिन सशस्त्र प्रहरीको गस्ती हुने गरेको छ। तर, नेपाली भूभागको बगर क्षेत्र र सार्वजनिक क्षेत्रमा भारतीयहरुले अस्थायी संरचना बनाएर बसेको विषयमा जिल्ला सुरक्षा समितिलाई जानकारी नहुनु भनेको सशस्त्र प्रहरीको कमजोरी देखिएको सुरक्षा निकायका एक अधिकृतले बताएका छन्। ‘हामीलाई कसैले जानकारी गराएन, त्यसैले नोटिसमा नभएको विषय भयो। यसबारे के भएको हो, सोधपुछ गरेर उनीहरुलाई हटाउने प्रक्रिया सुरु गर्छौं।’, प्रमुख जिल्ला अधिकारी पन्थीले भने।