देउडा गीतमा आएको विचलन

केही वर्षयता देउडा गीतमा प्रशस्त मात्रामा विकृति र विसंगति देखा परिरहेका छन्।
समाजमा विकृति आउने भनेको संस्कृतिबाट नै हो। संस्कृतिले समाजलाई दिशानिर्देश गर्नैपर्छ। वर्तमानमा समाजमा धेरै विकृति देखा परेका छन्। अझ नेता, अभिनेता र कलाकार वर्गको कार्यशैली देखेर समाजका मध्यमवर्गीय व्यक्तिलाई समेत प्रभाव पार्ने हँुदा माथि उल्लेखित वर्गले समाजलाई कुप्रभाव नपार्ने गरी काम गर्नु जरुरी छ। केही वर्षयता महोत्सवले देशैभर कलाकारहरूलाई मञ्च दिलाएको छ। आम्दानीको स्रोत पनि बढाएको छ। मञ्चका कलाकारको प्रस्तुति उनीहरूले दर्शकलाई सुनाउने गीत सुनेर दर्शक मूल्यांकन गर्ने गर्छन्।
मञ्चमा प्रवेश गर्नुपूर्व कलाकार वर्गले सचेत भएर प्रस्तुति देखाउनु श्रेयष्कर हुनेछ। भाषाको प्रयोग, लगाउने पहिरन, गीतसंगीतको शैली र शैलीअनुसारको प्रस्तुतिले दर्शकको मन तानेको हुन्छ। त्यसैले सभ्य भएर गायकगायिका र रंगकर्मीले मञ्च प्रयोग गर्नु आवश्यक देखिन्छ। देउडा गीत सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृतिको जननी हो। माटोबाट उत्पत्ति भएका देउडाका मौलिक भाकाहरू त्यो पुण्यभूमिमा यत्रतत्र छरिएका छन्। ती शब्द र शैलीहरू जतनले टिप्नु र जनसमक्ष ल्याउनु इमान्दार कलाकारको कर्तव्य हो। एकातिर भाषाको विस्तार हुन्छ अर्कोतिर मौलिकपनको विस्तार हुन्छ यसोगर्दा।
भाषाविद् बालकृष्ण पोख्रेलका अनुसार एक गाउँको भाषा अर्को गाउँमा आइपुग्दा नौलो लाग्छ, जुन कुरा भाषाको विशेषता हो। कलाकार, लेखकबाट पनि जन्मभाषाको विस्तार र विकास हुने हुँदा लोककलाकारले यसबारे सचेत हुनु आवश्यक छ। यसका लागि लोककलाकारले शिक्षाको गहिरो अध्ययन गर्नु जरुरी छ। किताबी ज्ञान, विद्वान् व्यक्तिसँगको संगत, गीतका लागि स्थलगत भ्रमण, मौलिकपनमा नेपाली सोचाइ राख्नु नयाँ र पुराना सबैथरी कलाकारको कर्तव्य नै भएको छ। यसो नगरिँदा समाजले पाउनुपर्ने शैलीगत मसला भेटिन्न। परिणाम नजानिँदो तवरले समाज संस्कृतिबाट विमुख भइराखेको हुन्छ र विकृतितिर उन्मुख हुन्छ।
विगत केही वर्षयता देउडा गीतमा प्रशस्त मात्रामा विकृति र विसंगति देखिराखेको छु। राष्ट्रमा देउडा गीत फैलाउने प्रथम स्रष्टाको नाता र अग्रज कलाकारको हैसियतले ती अनुज कलाकारलाई यसबाट सचेत गराउनु मेरो कर्तव्य ठान्छु। राष्ट्र निर्माणमा बडामहाराजधिराज पृथ्वीनारायण शाहले ‘मेरा साना दुःखले आज्र्याका मुलुक होइन’ भने झैं यो पंक्तिकारले पनि साना दुःख र कष्ठले सुदूरपश्चिम र कर्णालीको लोकगीत लोकसंस्कृति र लोकसंगीतको सेवा गरेको होइन। जहाँ भौतिक विकास नभएको बखत सुदूरपश्चिम, कर्णाली र भेरीका प्रत्येक जिल्लाका गाउँबस्तीमा पुगी भाका संकलन, भाषा संकलन गरी राजधानीमा पुर्याउनु सामान्य कुरा होइन। संकलन गरी कोठामा नथन्क्याई रेडियो नेपालमा आफ्नै आवाजमा गीतहरू रेकर्ड गरी लाखौं श्रोतामाझ पुर्याउनु कठिन र विशिष्ट कार्य हो सम्झन्छु।
२०४३ सालमा रेडियो नेपालमा आयोजित देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेर देउडा गीतको राष्ट्रियकरण गरेको थिएँ। हाल देउडा लोकगायनको रेडियो नेपालको एकमात्र प्रतिष्ठित कलाकारको रूपमा सम्मानित हुन पाउँदा जन्मदिने धर्तीको माटोलाई सदैव नमन गर्न मन लाग्छ। रेडियो नेपालमा तीन दर्जन गीत रेकर्ड गराएको छु। यतिमात्र होइन, २०४६ सालदेखि २०५७ सालसम्म निजी लगानीमा देउडा गीतका २० गीति क्यासेटका चार सय गीत प्रकाशित गरी देउडा गीतको भूमिमा पुर्याउनु विशिष्ट कार्य सम्झन्छु। २०४० सालदेखि २०६२ सालसम्मको त्यो अवधिलाई कालीकर्णालीको सांस्कृतिक क्रान्ति र जागरण वर्षका रूपमा लिन सकिन्छ।
देउडा गीत सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृतिको जननी हो। माटोबाट उत्पत्तिा भएका देउडाका मौलिक भाकाहरू त्यो पुण्यभूमिमा यत्रतत्र छरिएका छन्।
सुदूरपश्चिम कर्णालीका हरेक जिल्लाका गाउँबस्ती र रनवनमात्र नभएर कामको खोजीमा भारतको हरेक सहरमा पसेका नेपालीजनका लागि ती गीति क्यासेटमा समावेश गीतहरू जीवनका अभिन्न अंग बनेका सयौं उदाहरण श्रोता बताउँछन्। कुनै हिउँद, वर्षा भोकप्यास दुःखसुख नभनी एकलव्य भएर लोकसंस्कृति र देउडागीत संगीतको भगीरथ सेवा गरेका कारण सेती, महाकाली, कर्णाली र भेरीको हराउन लागेको संस्कृति आज नेपालभर उज्यालिएको देखिन्छ। ध्रुवसत्य कुरा हो कि नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, मोतीराम बम, अन्तराम विष्ट, प्रार्थना खनाल, दीपा धामी, टेकराज अवस्थी, उमाशंकर जोशीलगायतका देउडा गीतका विशिष्ट साधक देउडा गीतिमार्ग अवलम्बन गर्दै संस्कृति र भाषाको सेवा गरिरहेछन्।
६० को दशक यताका देउडा गायनका नयाँ पिँढीहरूको यसप्रतिको लगाव प्रशंसनीय देखिन्छ। तथापि कलाकारले मौलिकपनमा आउनु जरुरी देखिन्छ। संगीतलाई व्यापार नठानी सेवा सम्झिनु पनि आवश्यक छ। देउडा संस्कृतिको सेवा गर्दा केही कलाकार खाडी मुलुक जानबाट रोकिएका छन् भने केही कलाकार गाउँमा घरायसी काममा लागेका देखिन्छन्। उनीहरू कलालाई गलाको माध्यमले सदुपयोग गर्दै देउडा गीत सुनाइरहेछन्। तर यो सचेत गराउनै पर्ने र जानकारी गराउनै पर्छ कि वर्तमानसम्म आइपुग्दा देउडा गीत संगीतको नाममा मिठो स्वर भएका अनुज कलाकारले इमानदारिता देखाउनै पर्ने बेला आएको छ। आफूले गाएका गीतहरू दिगो र कालजयी बनाउन पुराना कलाकारले गाएका गीतको शैली काँटछाँट नगरी मौलिकपनमा आउनु जरुरी देखिन्छ।
पंक्तिकारले गाएका धेरै मौलिक गीत बांगोटिंगो र हुबहु रूपमा गाएर नयाँ प्रस्तुति देखाएको पाएँ। आधुनिक र उत्ताउलो बाजा राखेर गीतले श्रोताको मन कदापि आकर्षित गर्दैन। महोत्सवहरूमा केही युवालाई क्षणभरमा मनोरञ्जनका लागि उफार्ने मात्र हो। त्यसैले अतीतमा कष्टपूर्ण तरिकाले संकलन गरी गाएका मेरा गीत नक्कल गरी नगाइदिन आग्रह गर्छु। वरिष्ठ संगीतकार स्व. गणेश परियार, मदन परियार, मधुवावु थापा र नारायण रायमाझी आदिद्वारा संगीत संयोजन गरिएका देउडाका ती मौलिक भाकाहरू अहिले पनि रनवन गाउँबस्तीमा कालजयी बनेर गुञ्जिरहेका छन्। जिल्लाका एफएमहरूमा सांगीतिक उपहार बनेर प्रतिदिन प्रसारण भइरहेका छन्।
२०३४ कात्तिक १४ गतेका दिन रेडियो नेपालको भाषाभाषीको कार्यक्रम ‘फूलबारी’मा मौलिक देउडा गीत यो पंक्तिकारले गाएको थिएँ। सांगीतिक जगत्मा उक्त गीत नै सञ्चार जगत्को पहिलो झर्राे मौलिक देउडा गीत हो। जुन गीतको संगीत संयोजन वरिष्ठ संगीतकार तथा गायक रत्न बेहोसीले गर्नुभएको थियो। ‘ओ बाज झुम्य्रोली बाज’ बोलको सो मौलिक देउडा भाका वर्तमानसम्म उत्तिकै कर्णप्रिय र लोकप्रिय मान्दै युवाले बिसुपर्व र गौरापर्वमा गाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
