दैलेखमा जति पानीका मुहानहरू छन्, देउडा गीतका भाकाका मूलहरू पनि त्यति नै फुटेका छन्।
२०६४ सालअघि दैलेख जिल्ला मध्यपश्चिमाञ्चल विकास क्षेत्रका रूपमा थियो। नयाँ नेपालको सीमाअन्तर्गत हाल कर्णाली प्रदेशमा पर्छ। हाम्रो देशका ७७ वटा मगमगाउँदा सयपत्री (हजारी) फूलका थुङ्गामध्ये दैलेखको लोकसंगीतको वास्नाले मोहित नहुने कमै होलान्। मनोरम प्रकृति, मानव सभ्यता र संस्कृतिको देवभूमि मानिएको दैलेखको गर्भभित्र देशका चम्किला हीराहरू लुकेका छन्।
द्वापर युगमा पाण्डवहरूले बास बसेको यो ठाउँ दैलेखका रूपमा नभएर नेपाल देशको तीर्थयात्राका रूपमा लिने गरिन्थ्यो भनेर संस्कृतिका आदिपुरुष योगी नरहरिनाथले पंक्तिकारसँग २०३८ सालमा काठमाडांैको पशुपतिनाथ पूर्वमा रहेको मृगस्थली श्लेषमान्तक वनमा योगकुटीमा बताउनु भएको हो। योगी नरहरिनाथ कालीकोटको लालुमा जन्मनु भएको थियो। अविवाहित योगीजीसँग काठमाडौंमा यदाकदा धार्मिक र सांस्कृतिक संगत गरेको थिए। कालीकर्णालीको भूमिलाई ब्रह्मादेव भूमि भन्नुहुन्थ्यो।
दैलेखको रानीमत्ताको जंगल, खप्तडको राष्ट्रिय निकुञ्ज, बझाङको सुर्मादेवीस्थान, बाजुराको कालिका शक्तिपीठ र अछामको रामारोसन क्षेत्रलाई योगीजीले देवताको योग गर्ने क्रीडास्थलभूमि हो भन्नुहुन्थ्यो। हुन पनि दैलेख संस्कृति, सभ्यता र लोकसाहित्यका लागि खुला विश्वविद्यालय हो। नेपालमा नभेट्टाइने दुर्लभ सामग्री र प्राकृतिक पाठ्यपुस्तक दैलेखमा पाइन्छन्। त्यसका लागि ज्ञान र दिव्य चक्षु चाहिन्छ भन्ने गर्नुहुन्थ्यो नरहरिनाथ। बुढो मर्योकुरो सर्यो भने झैं देलैख जिल्लामा गर्भभित्रका मोतीहरू कसरी र कसले उत्खनन गर्ने ? जिल्लामा बाह्रैकाल बाह्रै महिना जलिरहने बत्तीको उज्यालो देशभर कस्ले देखाउने ?
दैलेखको भ्रमण : लोकगीत, लोकसंस्कृतिको संकलनका लागि २०४५ साल वैशाखमा कर्णाली नदी पार गर्दै अछाम जिल्लाको रहफ, तुर्माखाप र भैरवस्थान भएर दैलेखभूमिमा पुगेको थिएँ। एकजना महिलाले डुंगामा निःशुल्क रूपमा नदी पार गराएकी थिइन्। ती अधबैंसे नारीले शुल्क नलिनाको कारण मैले गाएका लोकगीतहरू सुनेर रहेछ। अछामका साथी झंकर विष्ट र पंक्तिकार दैलेखको उकालो लाग्यौं। पारिमेलामा २ जना नारी गीत गाइरहेका थिए। गीत बुझिएन, लय थियो नौली हदेली। नौली हदेली दैलेखको प्रसिद्ध लोकलय रहेछ। त्यही लय संकलन गरेर २०४९ सालमा आफ्नो १०औं गीति क्यासेट ‘जमुना र सुवा’मा गाएर समावेश गरे। संगीत संयोजन प्रसिद्ध संगीतकार गणेश परियारले गर्नुभयो। म्युजिक नेपाल प्रालिमा सो गीत रेकर्ड गर्नुभएको थियो।
साँझ पर्दै थियो हामी दैलेखको उकालो चढ्दै थियौं। वसन्त ऋतुका चराहरू आ–आफ्नो गुँड बस्नलाई होला विभिन्न थरीका सन्ध्याकालीन भाकामा वनगीत गाइरहेका थिए, मानांै देउडा गीतका विविध भाकाजस्तै। साँझपख हामी गाउँमा पुग्यौ। दुई जना बूढाबूढी आँगनीमा बसिरहेका थिए। खड्कावाडा गाऊँ रहेछ। आफ्नो परिचय दियौं। आफ्नै घरमा बास दिए। मीठो खाना खाएर लुटुक्क निदायौं। भोलिपल्ट वैशाख संक्रान्तिको नयाँ दिन। बिदाइ माग्दा घरबेटीले ठेकीको दही डाडुले काटेर बट्क्या (कचौरा) मा हामीलाई दिइन्।
घर मालिकले दही अक्षता देखिने गरी निधारभरि लगाइदिए। उनीहरूको आग्रहअनुसार भर्खरै सुनेको गीत नौली हदेली गाएर सुनाएँ, उनी र गाउँका नरनारी गीत सुनेर दंग परे। खुसी हुँदै हामी दैलेख बजार पुग्यौ। नयाँ वर्षको पहिलो दिन दैलेखको बजार उज्यालो थियो। केही मानिस किनमेल गर्दैथिए। हामीले एक होटलमा खाना खाइरहँदा केही युवाहरू जम्मा भए। पंक्तिकार लोकगायक हो भन्नेकुरा खै कसरी थाहा पाए ? गीत गाउन फर्मायस गरे। एक, कान दुई, कान मैदान भने झंै दैलेख बजारमा मानिसहरू निकै जम्मा भए।
त्यतिबेलासम्म रेडियो नेपालमा दुई दर्जन जति गीत रेकर्ड गरिसकेको थिएँ। त्यसमध्येका ८÷९ वटा गीत सुनाउँदा दैलेख बजार गीत संगीतमय बन्यो। धेरैबाट स्याबासी पाएँ। एकजना समाजसेवीले एक सय रुपैयाँ गोजीमा हालिदिए। त्यहाँबाट हामी सुर्खेत झर्नुथियो दिउँसोतिर आफ्नो बाटो लाग्यौं। रानीमत्ताको जंगलको बाटो हुँदै दुई दिनमा पैदल यात्रामा हामी सुर्खेत पुग्यौं।
दैलेखका देउडा गीत: देउडा गीतहरू यो भूमिका लागि अनमोलमणि छन्। धेरै थरीका भाका, शैली र अर्थ लाग्ने गीतले दैलेख लोकसंगीतले सिंगारिएको जस्तो लाग्यो। मठमन्दिर देवालय, देवल प्राचिन सभ्यताको आदिको पवित्रम् भूमि त हँुदै हो, अत्यन्तै रमणीय पर्यटकीय सौन्दर्यले पोतिएको दैलेख लोकसंगीतको रंगीन फूलबारी पनि हो। बहुअर्थ लाग्ने देउडा गीतहरू यस ठाउँका नरनारीका जिब्रोजिब्रोमा झुन्डिएको मैले पाए। सबैजना हँसिला फरासिला र उज्यालो अनुहारका दैलेखी दाजुभाइ दिदीबहिनीहरू सायद दैलेखका दुधालु गाईको चोखो दूध, दही खाएर होला सबैजनाको हृदय निष्कलंक र सफा पाए।
बाटो काँ हो बयालाको घर काँ हो पानीको
भाका तिम्ले बुझेनौ के ? आँखाका नानीको।
एकजना अधबैंसे देउडा खेलाडी महिलाको गीतको प्रश्न हो यो। सो गीतको उत्तर मैले दिन नसक्दा लज्जित भएँ। यस्ता हजारौ दैलेखी देउडा गीतहरू जन्मिरहेछन् त्यो पवित्र भूमिमा। राम रमिता गर्नमा सिपालु दैलेखवासीको हाँसो सँगै गीतका गेडीहरू यत्रतत्र छरिएको पाएँ। निधक्कसँग आफ्नो अभिभावकका अगाडि दैलेखी छोराट्टीहरूले गीत सुनाएको देउडा गीतमा झिट्टा हालेको भुलेको छैन। दैलेखको एकजना नामुद खेलाडी (लोकबहादुर खड्का) ले सुनाएको गीत यस्तो छ।
दैलेख राम्रा पञ्चदेवल दुल्लु राम्रा गडी
मैले लाया माया प्रिथी कैखी हो मन्पणी।
वर पण्यो डाडीमाणी पर रावलकोट
दै पिमा भिट न भ्या पछि मर्म लाइग्यो चोट।
यसैगरी रानीमत्ताको जंगलको चिया पसलमा भेट्टाएकी महिलाको दैलेखको मायाप्रीतिसम्बन्धी गीत यस्तो थियो।
दुल्लुका छिजाराबाट दैलेख देख्खियो
तिम्रो हाम्रो माया प्रीति कागजमा लेख्खियो।
नेपालगन्ज धम्बोजी चोकभन्दा केही अगाडि दैलेखका खड्का थरका एकजना व्यक्तिको एउटा पुरानो होटल छ। दैलेखबाट नेपालगन्ज आएका त्यहाँ धेरैसँग मेरा भेट भइरहन्थ्यो। नेपालगन्ज बजारमा गीति क्यासेट बिक्री वितरण र एन्.टू.एन. पत्र बनाएर भारतको रुपैडिया जिल्लाबाट कैलालीको सीमाक्षेत्र गौरीफन्टा नाका जाने क्रममा गीति क्यासेटको भारीसहित मेरो बास अक्सर दैलेखी होटलमा नै हुने गर्दथ्यो। नौली हदेली लयबाहेक, गाईमेरी भैसेली तेरी, दैलेखका बेली छकाललगायतका मौलिक भाका दैलेखी होटलका मालिकबाट संकलन गरी ल्याएँ।
अन्त्यमा, लहरे पैचली नाच दैलेखको मौलिक पहिचान दिलाउने संस्कृति हो। उभिएर संस्कृतिकर्मीहरू अनौठो तवरले नाच्ने गर्छन्। देउडा नृत्यभन्दा भिन्न शैलीको संस्कृति बोकेको देखिन्छ लहरे पैंचली नाचले। यसको खोजअनुसन्धान गरी जनसमक्ष ल्याउन आवश्यक देखिन्छ। छोटो अवधिमा दैलेखका केही भाग भएर सुर्खेत उपत्यका झरें। न धेरै जाडो न धेरै गर्मी कर्णाली प्रदेशको दैलेख जिल्ला संस्कृतिका अलवा दूध, दही र घिउका लागि प्रख्यात मानिन्छ। यहाँ जति पानीका मुहानहरू छन्, देउडा गीतका भाकाका मूलहरू पनि त्यतिनै फुटेका छन्। विद्वान् विदूषी जन्माउने नेपाल राष्ट्रको सिताराका रूपमा लिएको छु मैलै दैवीय शक्तिको भूमि दैलेख जिल्लालाई।
पानी माग्या दूध मिल्दो छ हाम्रा दैलेख जिल्ला
म त भन्छु दैलेखलाई लोकतन्त्रको किल्ला।