सरकारले भद्रपुर भन्सार मुआब्जा पीडितका लागि  थप ३० करोड पठायो

सरकारले भद्रपुर भन्सार मुआब्जा पीडितका लागि  थप ३० करोड पठायो
तस्बिर : अन्नपूर्ण

झापा  : सरकारले भद्रपुर भन्सार मुआब्जापीडितको लागि थप ३० करोड रकम पठाएको छ । सरकारले २०८० जेठ १ गते पहिलो चरणमा १० करोड पठाएको थियो । सरकारले दोस्रो चरणको ३० करोड रकम झन्डैं एक वर्षपछि पठाएको हो ।

 ६० करोड १३ लाख ८२ हजार ४०३ रुपैयाँ वितरण गर्नुपर्नेमा अझै २० करोड १३ लाख ८२ हजार ४०३ रुपैयाँ आउन बाँकी रहेको भद्रपुर भन्सार कार्यालयले जनाएको छ ।  जेठको दोस्रो साता भन्सारको खातामा मुआब्जापीडितको लागि रकम आएको भन्सारका लेखा अधिकृत सञ्जय दाहालले जानकारी दिए ।

रकम वितरण कार्य अबको एक /दुई दिनमा सुरु गरिनेछ । सम्बन्धित वडा कार्यालयहुँदै भूमिसुधार तथा मालपोत कार्यालयबाट राजस्व तिरेर जग्गा धनी पुर्जा ल्याएपछि बैङ्कमार्फत् सोझै खातामा रकम पठाइने लेखा अधिकृत दाहालको भनाइ छ । 

अघिल्लो वर्ष सडक किनारका घर टहरा भएका ३७ जग्गाधनीले मुआब्जा रकम पाइसकेको छ । यस पटक घर टहरा भएर छुटेका र सानो रकम भएका करिब ३० जना जग्गाधनीलाई रकम वितरण गरिने बताउँदै उनले भने,‘१० लाखदेखि डेढ करोडसम्मका जग्गाधनी यस पटकको सूचीमा पर्नेछ ।’ 

केही जग्गाधनी अहिलेसम्म पनि सम्पर्कमा नआएकोले पुरै रकम आएर फ्रिज हुनुभन्दा यो प्रक्रिया ठिक भएको उनको भनाइ छ । जग्गा अधिग्रहण मूल्याङ्कन उपसमितिले स्थानीयको करिब ९ विगहा जग्गा अधिग्रहण गर्ने निर्णय गर्दै १०४ जनाको घर टहरासहितको जग्गा २०७७ साल साउन २७ गते सूचना प्रकाशन गर्दै भूमिसुधार तथा मालपोत कार्यालयमा रोक्का राखेका थिए । 

 अधिग्रहण गर्न लागेको स्थानीयको नम्बरी जग्गा मालपोतमा रोक्का राख्दा समेत भन्सारले समयमा क्षतिपूर्ति बापतको मुआब्जा रकम वितरण नगरेको भन्दै पीडितहरूले कयौँ पटक भन्सार कार्यालय घेराउदेखि धर्ना,तालाबन्दी गर्दै सडक समेत बन्द गरेका थिए । 

मुआब्जा पीडितहरूको दबाबपूर्ण आन्दोलनपश्चात् जिल्ला प्रशासन कार्यालय झापाले जग्गाको मुआब्जा तथा घर टहराको क्षतिपूर्ति बापत दिनुपर्ने १०९ वटा कित्ताको रकम नै तोकेर २०७९ पुस ६ गते १५ दिने सूचना निकालेको थियो । 

सूचना निकाले पनि सरकारले मुआब्जा रकम नपठाएको भन्दै उनीहरू फेरि आन्दोलित बनेका थिए । त्यसपछि मुआब्जा पीडितहरू स्थानीय सरकारसँग समन्वय गरेर काठमाडौँसम्म पुगेका थिए । भद्रपुर–गलगलिया सीमा नाका जोड्ने मेची नदीमा पक्की पुल सञ्चालनमा आए लगत्तै सरकारले २०७५ भदौ १ गते छोटीबाट स्तरोन्नति गर्दै भद्रपुर भन्सार कार्यालयलाई मूल भन्सार बनाएको थियो ।

 पुरानै संरचनामा मूल भन्सार कार्यालयमा परिणत गरेपछि भन्सार विभागले भद्रपुर भन्सारको स्त्तोरउन्नतीसँगै नयाँ भौतिक संरचना निर्माणका लागि बाटोको उत्तरपट्टि जमिन अधिग्रहण गर्न लागेको हो । सो जमिनलाई ६ भागमा विभाजन गरी रकम निर्धारण गरिएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.