जहाँ पाइन्छन् हिमाल, पहाड, तराईकै गिद्ध
अर्घाखाँची : लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँचीले प्रकृतिको कुचीकार मानिने गिद्धको उपयुक्त बासस्थानका रूपमा पहिचान बनाएको छ। नेपालमा गुँड बनाएर बच्चा कोरल्ने ६ प्रजातिका आवेशीय गिद्धमध्ये पाँच प्रजातिका गिद्धले जिल्लाका विभिन्न स्थानमा रहेका जंगल तथा पहरामा गुँड बनाएर बसेका छन्।
गिद्धका केही प्रजातीले बच्चा उडाइसकेका छन् भने केही प्रजातीका बचेरा हुर्कँदै छन्। नेपालमा पाइने नौ प्रजातीका गिद्धमध्ये ८ प्रजातिका गिद्ध अर्घाखाँचीमा पाइने गरेका छन्।
गिद्ध प्रकृतिको कुचिकार हो। यसले मरेका जनावरलाई आहारा बनाउँछ। पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राखी पर्यावरण जोगाउन यसको निकै ठूलो योगदान रहन्छ। आफैं शिकार नगर्ने तर मरेका जनावरको सिनो मात्र खाने गिद्धले प्रदूषित र दुर्गन्धित वातवरणलाई स्वच्छ राखी महामारी, सरुवा रोगहरू लाग्नबाट जोगाउँछ। प्रकृतिलाई निकै आवश्यक पर्ने पक्षीका रूपमा रहेको गिद्ध पछिल्लो समयमा लोप हुने अवस्थामा छ।
हिमाली क्षेत्र, मध्य पहाड र तराईमा बसोबास गर्ने गिद्धहरूले जिल्लाका विभिन्न स्थानमा समुन्द्री सतहबाट करिव नौं सय मिटरदेखि २४ सय मिटरसम्मको उचाइमा गुँड बनाउने गरेको पाइएको छ। उच्च पहाडदेखि हिमाली भेगसम्म पाईने संकटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्धले मालारानी गाउँपालिकाको घेराभिरमा गुँड बनाएर बच्चा हुर्काएको विगत १५ वर्षदेखि जिल्लामा गिद्धको अध्ययन तथा अनुगमन गरेका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए।
त्यसैगरी मध्य पहाडमा गुड बनाउने विश्वमै दुर्लभ संकटापन्न सेतो गिद्धले पनि घेराभिरका अलावा अर्घा, धारापानी, पकले, नरपानी, डिभर्नाका पहरामा गुड बनाएर यति बेला बचेरा हुर्काइरहेको भुसालले बताए। घेराभिरमा नेपालको पहरामा गुड बनाउने तीनवटै प्रजातिले एकै ठाउँमा गुड बनाएको पाइन्छ, जुन संसारमै अति विरलै अवस्था हो। नेपालमा हालसम्मको अभिलेखअनुसार यो एक मात्र क्षेत्र हो। विश्वमै दुर्लभ अति संकटापन्न डंगर गिद्धले पनि जिल्लाको अर्घा र छत्रदेवका सल्लेरी जंगलमा गुँड बनाएर बचेरा हुर्काएका छन्। यी प्रजाति विशेषगरी तरार्ईमा मात्र पाइन्छन्। त्यसैगरी विश्वमै दुर्लभ अतिसंकटापन्न सुन गिद्धको पनि छत्रदेवमा गुड अभिलेख गरिएको थियो।
यस वर्ष घेराभिरमा हिमाली गिद्धका ३५, हाडफोर गिद्ध र सेतो गिद्धका एक÷एकवटा गुँड अनुगमन गरिएको नेपाल पन्छी संरक्षण संघका जीव विज्ञ दिलीप चन्द ठकुरीले जानकारी दिए। त्यसैगरी डंगर गिद्धको जिल्लामा २१ वटा गुँड र सेतो गिद्धको चारवटा गुड अनुगमन गरिएको ठकुरीले बताए।
घेराभिरमा गिद्धको अलावा नेपाल सरकारद्वारा संरक्षीत पन्छीको सुचीमा राखिएको विश्वमै दुर्लभ चिरकालिज पनि पाईने अनुसन्धानकर्ता नहकुल भुसालले जानकारी दिए। जिल्लामा जाडो याममा मंगोल्यिावाट बसाईसराई गरी आउने दुर्लभ गोमायु महाचील पनि अभिलेख गरिएको अनुसन्धाकर्ता भुसालले बताए।
पाँचथरी गिद्ध सँधै भरि बस्ने रैथाने भए पनि समय समयमा सानो खैरे गिद्ध, खैरो गिद्ध र राज गिद्ध पनि बसाइसराइ गरेर आउने जाने गरेको गिद्ध विज्ञ कृष्ण भुसालले बताए। दुर्लभ गिद्ध र चिरकालीजको बासस्थान भएकाले जिल्लाको उत्तरी भूभागलाई बर्डलाइफ इन्टरनेसनल र नेपाल पन्छी संरक्षण संघले अर्घा महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरेको छ। विश्वमै परिचित यस क्षेत्रको थप अध्ययन, अनुगमन र प्रबद्र्धनका लागि नेपाल सरकार र स्थानीय निकायबाट पहल हुन नसकेको भुसालले गुनासो गरे।
यस क्षेत्रको प्रबद्र्धन गर्न सके देश विदेशका अनुसन्धानकर्ता तथा पर्यटकहरू दुर्लभ गिद्ध, चिरकालिज र यहाँको सुन्दर भु–दृश्यको अवलोकन तथा फोटोग्राफीका लागि आउन सक्ने नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अंकित बिलास जोशीले बताए।
नेपाल पक्षी संरक्षण संघका अनुसार दश वर्षअघिसम्म नेपालमा पाँच लाख र भारतमा मात्र १६ करोड गिद्ध थिए। विगत दश वर्षयता नेपाल लगायत दक्षिण एशियामा ९५ प्रतिशत भन्दा बढी गिद्ध लोप भए। संरक्षणमा ध्यान नदिए बाँकी भएका गिद्धहरू सबै लोप भएर जाने विज्ञको भनाइ छ।
सुन्निएको र दुखेको निको पार्न पशुहरूमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधिको प्रयोग भएको जनावरको सिनो खाँदा ठूलो संख्यामा गिद्धहरू मरेको अनुसन्धानले देखाएको छ। नेपाल सरकारले गिद्ध संरक्षणका लागि तेस्रो कार्ययोजना २०२३–२०२७ लागू गरी डाइक्लोफेनेक र अन्य गिद्धलाई हानी गर्ने औषधिको पूर्ण प्रतिबन्ध, सुरक्षित औषधि मेलोक्सिक्यामको प्रवद्र्धन, गिद्धलाई शुद्ध आहारको व्यवस्था, बासस्थानको संरक्षण, गिद्धको नियमित अनुगमन र जनचेतना अभिवृद्धीलाई जोड दिएको छ।
गिद्धको बिनास भएमा विभिन्न महामारी रोगको संक्रमण बढ्ने र प्राकृतिक चक्रनै परिबर्तन हुने भएकाले यसको संरक्षण अति आबश्य रहेको संरक्षणविद्हरू बताउँछन्। विश्वकै दुर्लभ लोपोन्मुख डंगर गिद्धका छ बचेरालाई १३ वर्षअघि अर्घाको गर्ताखोला, खहरेखोला र गर्लामका वनबाट चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन तथा संरक्षण केन्द्रमा समेत लगिएको थियो। प्रकृतिबाट सदाका लागि लोप हुने खतरा भएपछि प्रजनन केन्द्रमा लगिएको ति बचेरालाई सुरक्षित वातावरणमा हुर्काई त्यहाँँबाट पनि बचेरा कोरली विगत सात वर्षदेखि सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको छ।
त्यसरी छाडिएका गिद्धको अनुगमनका लागि ढाडमा ट्याग लगाइएको र ति गिद्ध बेला बेला अर्घाखाँची जिल्लामा पनि आईरहने गिद्ध विज्ञ भुसालले बताए। अर्घाखाँचीका अलावा लुम्बीनी प्रदेशका अन्य जिल्लामा पनि गिद्धको बासस्थान भएपनि यहाँ जस्तो धेरै प्रजातीको उच्च घनत्वमा भने नपाईएको अनुसन्धाकर्ताको दाबी छ।
प्रतिक्रिया दिनुहोस !