तरकारी जात्रा : करेलाको चस्मा, पर्वलको सिक्री, लौकाको बाला
तानसेन : तानसेनमा तरकारी जात्रा देखाइएको छ। युवायुवतीले शरीरभरी तरकारी लगाएर प्रदर्शन गरेका थिए। शीरदेखि पाउसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवायुवतीसँग तानसेन बजारमा सेल्फी खिच्ने र खिचाउनेहरूको भीडभाड लागेको थियो।
यस्तो खालको जात्रा यसअघि कहिल्यै नदेखिएको तानसेनको विशाल बजारमा मासु पसल सञ्चालन गर्दै आएका गोकुल पौडेलले बताए। तानसेनको बसपार्क टुँडिखेल, भीमसेन टोल, नारायणस्थान, अशनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो।
कलाकारद्वय गोकुल सारु र नानु मगरले आलु ,लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वललगायतका तरकारीहरू शरीरभरी लगाएर जात्रा देखाएका थिए।
मिलनसार उद्यमी महिला सहकारी संस्थाले उपभोक्तालाई स्थानीय ताजा सफा तरकारीको जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताइन्।
संस्थाले दैनिक रुपमा १० टन तरकारीको कारोबार गर्दै आएको छ। संस्थासँग हाल १८ सय किसान जोडिएका छन्।
प्रतिक्रिया दिनुहोस !