खप्तड राष्ट्रिय निकुञ्जमा बर्सेनि यहीबेला दशहरा मेला लाग्ने गर्दछ। मेला भर्न पुगेका संस्कृतिकर्मीहरू डेढी कदममा खेलिने खेल देउडामा नाचेकै हुन्छन्।
उखरमाउलो गर्मी छ। विगत २५ वर्षयताकै सबैभन्दा गर्मीको दिन रहेछ। गर्मीको कुनै प्रवाह नगरी सुदूरपश्चिम प्रदेशका संस्कृतिकर्मी एवं देउडा खेलाडी पशुपतिनाथ मन्दिरको पूर्वमा रहेको श्लेषमान्तक जंगलमा गंगादशहरा मेला मनाउन मध्याह्न देउडा खेल्न जम्मा हँुदैछन्। राजधानीमा विभिन्न पेसा व्यवसाय गरी बसेका दशहरा मेला मनाउन जन्मथलो जान नपाएकाहरू गत असार १ गते आफ्नो जात मनाउन मृगस्थलीमा जम्मा भएका हुन्।
खप्तडछान्ना काठमाडौं समाजले प्रथम पटक आयोजना गरेको हो यो सांस्कृतिक देउडाखेल कार्यक्रम। कार्यक्रम आयोजना गर्न १५ दिन पहिले नै व्यवस्थापकीय कार्य गरेका रहेछन् सो समाजका अध्यक्ष अरुणकुमार रोकाया र उनका साथीहरूले। बिहानै प्रसादका रूपमा खीर तयार पारेर आगन्तुक सबैलाई खुवाए। साधुसन्तहरूलाई पनि पुग्नेगरी खुवाए। मृगस्थलीको बीचभागमा स्व. योगी नरहररिनाथको कुटीमा यो सबै प्रबन्ध मिलाएको रहेछ। ढोकामा खप्तड त्रिवेणीधामको तस्बिर राखिएको रहेछ। सम्झना खप्तड राष्ट्रिय निकुञ्जको झल्को लाग्ने खालको छ। कुनैबेला खप्तड बाबाले खप्तडमा तपस्या गरेको हुँदा उहाँको पनि सम्झना गर्दै यो कुटीमा आगन्तुक सबैलाई प्रसादका रूपमा खीर बाँडेका हौं भन्छन् कमल थापा, अर्जुन थापा।
खप्तड राष्ट्रिय निकुञ्जमा बर्सेनि यहीबेला दशहरा मेला लाग्ने गर्दछ। बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सिरानीमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जमा दशहराको बेला मेला भर्न यी चार जिल्लाका अलवा स्वदेशी र विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ। गर्मीको समय पर्ने हुँदा गर्मी छल्न र मेला भर्न त्रिवेणीमा स्नान गरी दान गर्ने, दिवंगत हुनुभएका आफ्ना पितृहरूका नाममा श्राद्घ गर्ने गर्छन् भक्तजन। पुरुष र महिला खेलाडीको मनोरञ्जनको प्रमुख साधन देउडा खेल बडो धक फुकाएर त्यो स्वर्गतुल्य खप्तड भूमिमा खेल्ने गर्छन्।
देउडा आफैंमा सुखदुःखको मनको साथी हो भने महिला र पुरुषका बीचको दोहोरी गीत पनि हो। त्यहाँ मेला भर्न पुगेका संस्कृतिकर्मीहरू डेढी कदममा खेलिने खेल देउडामा नाचेकै हुन्छन्। भारी खेल पनि सञ्चालन हुन्छ खप्तडको दशहरा मेलामा। यो सुदूरपश्चिमको साझा जाँत भएकाले त्यहाँका नरनारी रमाउँदै देउडा खेलेको दृश्य बिर्सी नसक्नुको हुन्छ। बैकिनीहरूले गमनको गुन्यू, फक्र्यावादी कपडाको चोलो र कपालमा सेतो मुन्याठो बाँधेर देउडाका विविध भाकामा घुमीघुमी नाचेको दृश्य कसलाई मन पर्दैन होला र ?
बझाङ जिल्लाको छान्ना दारुँगाऊ, डोटीको झिग्राना, अछाम जिल्लाको मार्खु र बाजुरा जिल्लाबाट खप्तड राष्ट्रिय निकुञ्ज सजिलै पुग्न सकिन्छ। कुनैबेला बाघ, भालुलगायतका जंगली जनवारको डर एकातिर लाग्थ्यो भने रात बिताउन बस्न कुनै पनि व्यवस्था नहुँदा मनमा पीर र डर पनि लाग्ने गथ्र्यो। वर्तमानमा त्यस्तो असुविधा देखिँदैन। नेपाली सेनाले सुरक्षा दिइरहेछन्। बस्न ठाउँठाउँमा स–साना होटल र छप्पर बनाएकाले मेला भर्न आउनेहरूका लागि प्रतिवर्ष सहज हँुदैछ खप्तडको दशहरा मेला। मुक्तिनाथ, स्वर्गद्वारी, जनकपुर जस्तै पवित्रधाम हो। त्रिवेणीधाम जहाँ आदिकालमा शिवजीले तपस्या गरेका थिए रे। खप्तड बाबाले योग र ध्यान पनि गरेका थिए। धर्मविज्ञान, विचारविज्ञानजस्ता अलौकिक काव्यको सिर्जना खप्तड बाबाले त्यही कुटीमा बसेर गरेका थिए।
प्रकृतिको मुकुट, ज्ञान र ध्यानको पुण्यभूमि पर्यटकका लागि स्वर्गदायी भूमि खप्तडलाई १२ बण्ड १८ खण्डको सुदूरपश्चिम प्रदेशको सौन्दर्यको बगैंचा पनि भनिन्छ। बाघबुट्टे निगालाका झाँडी, १ सय २७ थरी रंगीबिरंगी फूलहरूको बगैंचा, खेचरापट्टि ऋषिमुनिहरूको तपोभूमि र ठाउँठाउँमा आफैं बनेका गलैंचाजस्ता पाटनहरूले सुशोभित साझा सम्पत्ति हो खप्तड राष्ट्रिय निकुञ्ज। चौरहरू एकछेउ टेकेमा अर्को छेउसम्म हल्लिने तर जमिन कतै नि नभासिने खप्तड, गल्फ खेलका लागि उपयुक्त ठाउँ हो। भैंसी गोठालाहरूको लागि उपयुक्त चरन क्षेत्र पनि हो। खप्तड राष्ट्रिय निकुञ्ज, जंगली जनवार र खप्तड बाबासँग जोडिएका धेरै थरी किंवदन्ती र सत्य घटनाहरू पनि सुनिएका छन्। खप्तड बाबाको दर्शन गर्दा २०४३ जेठमा यो पंक्तिकारले पनि केही अद्भुत घटना स्वयं बाबाको मुखारबिन्दबाट सुनेको छ।
जुन कुरा प्रसंग आएको बेला बताउनेछु। शनिबारकै दिनमा मगर समुदायको ऐतिहासिक पर्व भूमे राजधानीको टुँडिखेलमा मनाइँदै थियो। खप्तडको ऐतिहासिकता र धार्मिक मेलाको सम्झना गर्दै राजधानीमा बसोबास गर्ने सयौं नरनारीको अवस्थिति मृगस्थली काठमाडौंमा अविस्मरणीय रह्यो। खप्तडको मेला जस्तै यहाँ पनि १०/१२ वर्षका बालकदेखि ७८ वर्षसम्मका ज्येष्ठ नागरिकले समूहसमूह बनाई देउडा खेलेको साँच्चिकै दर्शनीय र मननीय थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक देउडाले पृथक् समूहका, सबै विचारका र सबै जातजातिका संस्कृतिकर्मीलाई हार्दिकताका साथ जोड्ने काम गर्छ। बिसु पर्व र गौरा पर्वको जस्तै झझल्को देखायो, पशुपतिनाथ मन्दिर पूर्वमा रहेको मृगस्थलीमा मनाएको सुदूरपश्चिमको खप्तडी दशहरा मेलाले।
खप्तड जात दशहरा देउडा खेलिहाल
देउडाका सम्राट् आया झल्का रेलिहाल।
देउडा खेल्न भनी समयमै पुगेको यो प्रस्तोतालाई देखेर बझाङ तलकोट गाउँपालिका–४ सुलीकोटका खेलाडी विरही बमले गीत सुनाइदिए अर्को पंक्तिका खेलाडीलाई। तुरुन्तै गीत रच्नमा सिपालु विरहीको गीत सुनेर केटीपक्षबाट खेलाडी जमुना खत्रीले यस्तो उत्तर फर्काइन् :
सम्राट् सबैका साझा देउडा पनि साझा
कालो चस्मा क्यौन लायौ भन वम्म राजा ?
उनले कालो चस्मा लगाएर रुखको छहारीमुनिको चौरमा खेल खेलेकाले यस्तो जवाफ कालीकोटे कन्याले दिइन्। यसैगरी खप्तड छान्ना गाउँपालिकाकी कृष्णादेवी थापाले गीतबाट भावना यसरी पोखिन् ः–
केटी : खप्तडका दशहरा क्या रमाइला दिन
मेरा दाजु भेट्न आउनु बैनी माइत लिन।
केटा : दूध भात खायाका बेला घिउ नौनी नखानु
अर्को साल माइतीबाट दशहरा झानु।
अछामका देउडा खेलाडी खगेन्द्र तिमिल्सिना, जनक तिमिल्सिना, अर्जुन तिमिल्सिना, कृष्णप्रसाद तिमिल्सिना खुसी मान्दै देउडा खेल्दै थिए। ७८ वर्षीय जयलाल देवकोटा (अछाम रामारोशन) लाई बीचमा राखेर गीतको रचना यसरी गर्दै थिए –
भरोसा कै पनि छैन अस्थायी जीवनकी
छोप्याट्टी रहण मान्नी रातारिबनकी।
सालु पात मालु पात केलणीका पात
सञ्चो छ कि बिसञ्चो छ हजुरमा गाथ।
यी र यस्तै गीतहरूले मृगस्थली रंगीन बन्यो। अपराह्न ७ बजेसम्म देउडा खेल्ने खेलाडी र श्रोताहरू त्यहाँ जम्मा भइराखेका थिए। मृगस्थलीमा देउडा खेल हेर्नका लागि र संस्कृति बुझ्न दर्शक जम्मा भइरहन्थ्ये। स्वदेशी मात्र नभएर विदेशी पाहुनाले देउडाको त्यो दृश्य आआफ्नो क्यामेरामा कैद गरिराखेको देखिन्थ्यो। रुखको शीतलताले गर्मी छल्न केही राहत भएको थियो भने धूलो फोहोरका कारण भुइँ अत्यन्त घिनलाग्दो थियो। जताततै फोहोर देखेर घण्टौंसम्म दर्शक उभिएर देउडाको रामरमिता हेर्न बाध्य थिए। पशुपति क्षेत्र विकास कोषले सरसफाइमा ध्यान दिनु जरुरी देखिन्छ।
७५ वर्षीया सासू लालमती सिंहलाई लिएर वसन्ती चन्द (बैतडी) समयमै आइपुगिन्। यसैगरी पूजा तिवारी (मुगु), लक्ष्मी देवकोटा (जुम्ला), गायिका निशा रावल, भागीरथी गिरी, जानकी गिरी, सरस्वती विक, कमल थापा, राजेन्द्र थापा, कवीन्द्र थापा, बझाङ, शान्ति धामी दार्चुलालगायतका देउडा गीतका सर्जकहरूको उपस्थितिले मृगस्थली काठमाडौंको खप्तड दशहरा मेलामय बनेको थियो।