धड्कन्या मुटु मायाले रोज्याको

देउडा संस्कृति

धड्कन्या मुटु मायाले रोज्याको

देउडा गीत, संगीत र संस्कृति कालीकर्णालीका बासिन्दाका लागि प्राण हो। मानवीय सभ्यता र संस्कार हो। तर अब यो देशकै भएको छ।

साई सम्झी धड्कन्या मुटु मायाले रोज्याको 

बाटो छैन बदल्याको मन् छैन फेर्‍याको...।

डेढी कदमका आधारमा खेलिने खेलको नाम हो देउडा। पहिले देब्रे गोडा उचाली दाहिनेतर्फ पाइला बढाएर साथीका हात समातेर गोलाकार रूपमा घुम्दै, गीत गाउँदै आपसमा सद्भाव कायम राख्ने संस्कृतिको नाम हो देउडा। ड्यौणा, देउडा या डेउणा जे शब्द उच्चारण गरे पनि यो सुदूर र कर्णाली प्रदेशको मौलिक र भरपर्दो संस्कृति हो। जुन संस्कृति जातजातिमा आधारित छैन। त्यस भूगोलमा बस्ने सबैथरी नरनारीको साझा संस्कृति भएकाले देउडा हाम्रो पहिचान हो। छापाहरूमा जनजिब्रोमा र संस्कृतिका अगुवाले पनि वर्तमानमा ‘देउडा’ शब्दको प्रयोग बढी गरेको पाइन्छ। देवस्तुतिमा 

पनि आधारित हुनाले ड्यौणाभन्दा देउडा शब्दको उच्चारण व्यापक रूपमा प्रचलनमा छ।

देउडा गीतका दुईवटा चरण हुन्छन्। एउटा गीतको चरण (पाउ) मा १४ र अर्को गीतमा पनि १४ वटा नै अक्षर बन्ने हुनाले २८ वटा संयुक्त अक्षरको सङ्लो रूप नै देउडा, ड्यौणा गीत हो। हलन्त शब्दलाई ह्स्व उच्चारण गरी खेलिने हुँदा यस्ता शब्दलाई गणना गरिँदैन। गीतको पहिलो पंक्तिले सूचनाको संकेत गर्दछ भने दोस्रो पंक्तिले सो सूचना या गीतको गतिलाई पूर्णता दिने काम गर्दछ। जस्तो माथिको गीतले बताएको छ। देउडा माटोबाट उत्पत्ति भएका गीतहरू हुन। सुदूर र कर्णालीका बासिन्दालाई जत्तिको माया आफू जन्मेको भूमिको लाग्ने गर्छ, त्यस भूमिका कुना कन्दरा, हिमचुली, पर्वत शृंखला, वनजंगल, घाँसेमैदान, छाँगाछहरा देवालय आदिबाट उत्पत्ति भएका र हजारौं आँसुकविले सिर्जना गरेका लाखौं गीतको त्यति नै माया लाग्ने गर्छ।

त्यसैले बिसु, गौरा, माघी, गाम्या र असार १५ पर्वमा आपसमा जम्माभै देउडामा मायाप्रीति साटासाट गरी खेल (नृत्य) खेलिहाल्छन्। गीत गाउँदै गोलाकार रूपमा घुम्न थालेपछि त्यहाँ सानो ठूलो, धनी गरिब, कालो गोरो, जातजातिबारे महत्त्व राखिन्न, मात्र हार्दिकता साटासाट हुन्छ। डेढी कदम बढाउँदै गीतलाई पनि डेढ पटक उच्चारण गर्दै संस्कृतिमय देउडा खेल्नुपर्छ। देउडासम्बन्धी खेल खेलाउन ठूलो चौर भए पुग्यो खेल सिकाउने
 मानिसको कमी हुन्न।

झुन् झुन्या वरषु लाग्यो काट्या बाटो दर्की 
यसाइ दिन् गै झान्या हुन् कि आउन्या हुन् कि फर्की। 

गीतमा काट्या बाटो दर्की र आउन्या हुन् कि फर्की भनेर गीतकारले अनुप्रास मिलाएको छ। भाषागत रूपमा आदिकवि भानुभक्त आचार्यको पालामा बोलिने भाषाका शब्द समावेश छन्। झुन् झुन्या वर्ष वर्षामासमा परिरहेछ। यस्ता दिन र ऋतुहरू एक पटकका लागि मात्र आउँछन् या फेरिफेरि आउने हुन् भनी प्रश्न गरेको पाइन्छ। वास्तवमा देउडा गीतको मूल मर्म र परिभाषा अनि विशेषता पनि यसैमा रहेको पाइन्छ।

भाषा, भूगोल र जनजीवनलाई जुन गीतले महत्त्व दिन्छ ती गीतहरू कालजयी हुन्छन्, देशको मानचित्र यी गीतहरूमा लुकेको हुन्छ। जस्तो १८१६ सालमा तत्कालिन इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धि भयो। जुन सन्धि नेपालका लागि घातक थियो। पूर्वमा किल्ला कागडा, पश्चिममा टिस्टा, दक्षिणमा सरयू नदीसम्म फैलिएको नेपालको विशाल भूखण्डलाई सीमित गरेर बहादुर शाह, अमर सिंह थापाजस्ता वीर सपूतको मानमर्दन गर्‍यो, वीरताको अवमूल्यन गरी देशको नक्सा खुम्च्याइयो। जसलाई गीतकारले यसरी पीडा पोखे ः

सुगौली सन्धीले अद्दा गुम्यो देशको माटो 
पिउनलाई पानी मात्रै छैन हिँडन्या बाटो।

यो पुरानो गीतले झस्काउँछ हामीलाई। जलस्रोतको धनी देश भएर के गर्नु ? कुनै बेला आफ्नै देशको मेची महाकालीमा पुग्न सडक छैन भन्न खोजेको हो। कतिपयले देउडागीतलाई देउडा भाषा अपव्याख्या गरेको पनि सुनियो, पढियो। जुन गलत परिभाषा हो। देउडा गीत हो, काली कर्णालीको साहित्य हो र संगीत पनि हो। जुम्लाको सिन्जा प्रान्तमा बोलिने त्यसबेलाको खस भाषामा गीतका शब्दहरू सजिएका छन्। त्यसैले देउडा गीत, देउडासंगीत, देउडा संस्कृति कालीकर्णालीका बासिन्दाका लागि प्राण हो। मानवीय सभ्यता र संस्कार हो। तर अब यो देशकै भएको छ। हो, देउडागीत जो कोहीलाई बुझ्न कठिन हुन्छ, तर बुझ्दै जादाँ गीतले जुनसुकै वर्गका मानिस र संस्कृतिकर्मीलाई मोहनी लगाउने गर्छ। अपनत्व बोध गराउँछ। त्यसैले देउडा गीत देशको आदिम संस्कृति हो। जसको सम्बन्ध भोलिका दिनमा पूर्वको मारुनी र धाननाच, हिमाली भेगको सेब्रो, तराईको झिझिया र मैथली अवधि संस्कृतिसँग जोडिनेछ। देउडागीत पहिलेको जस्तो सुषुप्त अवस्थामा अब रहेन। मानिसको बसाइसराइ सँगसँगै सहरमा पनि प्रवेश पाएको छ, विदेशमा पनि पुगेको छ।

इतिहासलाई फर्केर हेर्ने हो भने देउडा गीत संस्कृति यहाँसम्म ल्याइपुर्‍याउन पंक्तिकारलगायतको ठूलो हात छ। देउडा गीतलाई २०, २५ को दशकसम्म वनगीत भनिन्थ्यो। गाउँमा, विद्यालयमा गाउन मनाही थियो। युवायुवतीले गाउँभन्दा टाढाका चौरमा लुकीलुकी खेल खेल्ने गथ्र्ये। यसरी खेलेको थाहा पाएर त्यसबेलाका कतिपय युवायुवतीले तत्कालीन स–साना राजाहरूद्वारा दण्डित पनि हुनु परेको थियो।

मैले पनि ४/५ थप्पड पाएको थिएँ। बिस्तारै बझाङको तलकोट स्कुलको कार्यक्रममा गीत गाएँ। त्यसपछि सदरमुकाम चैनपुरमा एक समारोहमा गीत गाएँ। तत्कालीन सीडीओबाट रु. ५ पुरस्कार पनि पाएँ। २०३४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगे। रेडियोमा गीत गाउने धोको पालेर पंक्तिकारलाई फलामको ढोकारूपी रेडियो नेपालमा गीत गाउन मुस्किल पर्‍यो। खानेमुखलाई जुँगाले छेक्दैन भने झैं २०३४ कात्तिक १४ गते रेडियो नेपालको फूलबारी नामक कार्यक्रममा झर्रो खालको देउडागीत रेकर्ड गरें। जसको बोल थियो :

बारीको खेत बगाई लैग्यो पारिका खोलाले 
राधिकाको दर्शन होइझाऊ कृष्णका चोलाले।

यसैगरी, २०४३ फागुन ७ गते देशव्यापी लोकगीत प्रतियोगितामा सहभागी भई देउडागीत गाएर प्रथम पुरस्कार प्राप्त गरे। देउडाले सामान्य रूपमा भए पनि परिचय पायो। देउडागीत रेकर्ड गर्दै २० वटा गीति क्यासेट उत्पादन गरी कालीकर्णालीमा सांस्कृतिक क्रान्ति गरे एकलभ्य भएर देउडा संस्कृतिको अभियन्ता भएर काम गरेको इतिहास सुन्न र बुझ्न लायक छ। कुनै बेला गौरापर्व, बिसुपर्वमा मात्र काठमाडौंको टँुडिखेल र राष्ट्रिय सभागृहमा संस्कृतिकर्मीलाई देउडा खेल खेलाउने गरेको सांस्कृतिक इतिहास पनि सम्झनलायक छ।

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दलाई पनि देउडा खेलाएको बिर्सन सकिन्न। यो क्रम जारी छ। उहाँहरूलगायत कालीकर्णालीबाट राजनीतिक रूपमा प्रतिनिधित्व गर्नुहुने डा. भीम रावल, दीलेन्द्रप्रसाद बडू, लेखराज भट्ट, एनपी सावद, आदिलाई पनि देउडाको फराकिलो मैदानमा २०५६ सालदेखि वर्तमानसम्म उपस्थित गराउँदै आएकाले यो संस्कृतिको मोह सबैमा जागेको छ।

त्यसैले होला, प्रशंसा संरक्षण समूहका अध्यक्ष अम्बादत्त भट्ट, बैतडी समाजका हरिमोहन भण्डारी, देउडा समाजका अध्यक्ष आदिलाई त्यस भेगका लाखौं संस्कृतिजन्य समूदायले मुक्तकण्ठले नाम लिने गर्छन्। त्यसबेला यसभेगका ठूलापर्वहरू राजधानीलगायत सहरी क्षेत्रमा देउडा खेलेर मनाइन्थ्यो। अहिले यो संस्कृति त्यतिमा मात्र सीमित रहेन। कालीकर्णालीका जिल्लाहरूमा मनाइने स–साना पर्वहरूको सम्झनामा राजधानीमा बस्दै 
आएकाहरूले ती पर्वहरू मनाएर देउडा खेलाउँदै आएका सुखद रैवार (खबर) आइरहेछन्।

संस्कृति नवपिँढीमा चेतनाको रूपमा आइरहेको बताउँछन्, पुराना गायक कालीकोेटका मोतीराम बम, बाजुराका राजेन्द्र शाह, बीपी र बझाङका विरही बम ठकुरी। बझाङको सैनडाँडाको मेलाको सम्झना होस् या असार १५ को धानरोपाइँको सन्दर्भ होस् राजधानी काठमाडौं, धनगढी, कोहलपुर बाँकेमा देउडा संस्कृतिकर्मीको बाक्लो उपस्थिति रहने गर्दछ। यसको पछिल्लो उदाहरण हो– हालै प्रशंसा संरक्षण समूहको महिला विभागले असार १५ को देउडाखेल कार्यक्रम सो समूहका अध्यक्ष हरिदत्त अवस्थी र सो विभागकी प्रमुख द्रौपदा शाही भन्ने गर्छन्। पुर्खाहरूको नासो बचाउनु हाम्रो कर्तव्य हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.