भोटेकोशी–१ को ढलान भत्किएर मृत्यु हुने परिवारलाई ३० लाख राहत दिइने

भोटेकोशी–१ को ढलान भत्किएर मृत्यु हुने परिवारलाई ३० लाख राहत दिइने
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी-१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा पुरिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवर्द्धक कम्पनीले राहत दिने भएको छ। 

आयोजनाको प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार ३० लाख रुपैयाँको राहत प्याकेज उपलब्ध गराउने भएको हो। यसका लागि आयोजनाको निर्माण ठेक्का लिएर काम गरिरहेको ‘सब–कन्ट्र्याक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतकको पक्षबाट उक्त पालिकाका वडा अध्यक्षले सोमबार लिखित सम्झौतामा हस्ताक्षर गरेको इलेट्रो पावरका प्रोजेक्ट म्यानेजर उमेश पराजुलीले बताए। 

राहत रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता रहेको उनको भनाइ छ। ‘उहाँहरू सब कन्ट्रयाक्टर कम्पनीको तर्फबाट आयोजनामा कार्यरत हुनुहुन्थ्यो,’ पराजुलीले भने– ‘तर सब कन्ट्रयाक्टरलाई अप्ठ्यारो नपरोस् भनेर आयोजना प्रवर्द्धक कम्पनीले नै राहत प्याकेज उपलब्ध गराउने गरी बर्दिया पुगी मृतकको परिवारलाई भेटेर समवेदना प्रकट गर्दै नगरपालिकाका प्रतिनिधिसहितको उपस्थितिमा लिखित सम्झौता गरेका छौं।’

सम्झौता अनुसार कम्पनीले मृतकका परिवारलाई कामदारको जीवन बीमा बापतको २० लाख रुपैयाँ परिवारको मुद्दती खातामा निक्षेपको रूपमा जम्मा गरिदिने छ। त्यस्तै, प्रतिपरिवार नगद ७ लाख रुपैयाँ र डेढ लाख रुपैयाँ काजकिरिया खर्चबापत उपलब्ध गराउने छ। त्यस्तै, मृतकका छोराछोरीलाई १२ कक्षासम्म पढाइ खर्च व्यहोर्ने, आयोजना निर्माण अवधिभर मृतकले पाउने गरेको तलब परिवारको खातामा कम्पनीले जम्मा गरिदिने समेत सम्झौतामा उल्लेख छ। 

मृतकका परिवारका सदस्यलाई आयोजनामा रोजगारी दिनेसमेत सम्झौतामा उल्लेख रहेको छ। मृतकका परिवार मध्ये एक परिवारको २ वर्षकी छोरी रहेको र अर्को परिवारमा मृतककी श्रीमती गर्भवती भएकाले पौष्टिक आहार तथा स्याहारसुसारका लागि थप १ लाख रुपैयाँ समेत उपलब्ध गराइएको उनले बताए।

आयोजनाको डिसेन्डर बेसिनको कभर स्ल्याबको ढलान भत्किँदा शुक्रबार उनीहरू पुरिएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयलगायतले अविरल वर्षाकै बीच उनीहरूको खोजी सुरु गरेको थियो। तर, उनीहरूलाई शनिबार बिहान ४ बजे मात्रै मृत अवस्थामा फेला पारी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको थियो। 

दुर्घटनामा घाइते भएका १० जना मध्ये एक जनाको ढाडको हाड भाँचिएकाले उपचार भइरहेको प्रोजेक्ट म्यानेजर पराजुलीले बताए। अर्को एक जनाको आँखामा मुछिएको सिमेन्ट परेकाले अहिले अस्पतालमै आरामको अवस्थामा रहेको र बुधबारसम्म डिस्चार्ज हुने तयारी रहेको उनले बताए। ‘सबै घाइतेहरू करिब निको भइसक्ने क्रममा हुनुहुन्छ,’ पराजुलीले भने– ‘उहाँहरूलाई पनि हामी केही सहयोग गर्ने छौं।’ 

उनका अनुसार डिसेन्डर बेसिनको संरचना के कति कारणले भत्कियो भन्नेबारे कम्पनीले अनुसन्धान सुरु गरिसकेको छ। भविष्यमा यस्ता दुर्घटना नहोस् भनेर कम्पनीले अध्ययन गरिरहेको उनको भनाइ छ। इलेक्ट्रो हाइड्रोले २०८० साउनबाट आयोजना निर्माण सुरु गरेको थियो। आयोजनाको निर्माण हालसम्म ३० प्रतिशत पूरा भएको र आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। ८ अर्बको लागतमा आयोजना निर्माण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.