भानु जन्मस्थल सधैं ओझेलमा
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यका नाममा व्यक्तिगत र संस्थागत रूपबाट विविध काम हुँदै आएका छन्। संस्थागत रूपमा गैरसरकारी र सरकारी क्षेत्रबाट काम भएका देखिन्छन्। व्यक्तिगत रूपबाट काम गर्नेहरू मोतीराम भट्ट (१९२३/१९५३), शम्भुप्रसाद ढुंगेल (१९४६/१९९६), ब्रह्मशमशेर राणा, विष्णुमाया, बाबुराम आचार्य, नरनाथ आचार्य (१९६२/२०४५) र मुक्तिनाथ आचार्य आदि हुन् भने गैरसरकारी क्षेत्रबाट काम गर्नेहरूमा नेपाली साहित्य सम्मेलन, नेपाली शिक्षा परिषद्, भानु पुस्तकालय समिति-भानु पुस्तकालय सहायक समिति-भानु सेवा समिति वा भानु प्रतिष्ठान र भानु साहित्यिक उद्यान आदि छन्। सरकारी क्षेत्रबाट काम गर्नेमा भानु जन्मस्थल विकास समिति (२०५२) वा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमात्र देखिएको छ।
सर्वप्रथम मोतीराम भट्टको व्यक्तिगत प्रयासबाट आदिकवि भानुभक्त आचार्य प्रचारमा आएका हुन्। उनकै प्रयासले भानुभक्त नेपाली समाजमा चिनिए। वि.सं. १९३७ तिर भनुभक्तको देहान्त भएको १२ वर्ष भइसकेको थियो। मोतीराम पनि यस समयमा १५ वर्षका थिए। उनले ५।६ वर्ष लगाएर खोजतलास गरी रामायणसहित भानु साहित्यको प्रकाशन गरे। तत्कालीन यातायातको कठिन समयमा ठूलो परिश्रम गरी सम्पूर्ण भानु साहित्य प्रकाशन गरी भानुभक्तलाई जनसमक्ष आए। नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लागेकाले मोतीरामले वि.सं. १९४८ मा भानु जीवनी पनि प्रकाशित गरे। मोतीरामले प्रकाशन गर्नुभन्दा पहिले पनि भानुभक्तका रामायण प्रकाशित थिए। तिनको उद्देश्य समग्र भानु साहित्यको प्रकाशन र प्रचार गरी नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्नु थिएन। मोतीरामपछि वि.सं. १९६९ तिर शम्भुप्रसाद ढुंगेलले पनि भानु जीवनी लेखेर भानुभक्तलाई चिनाउने काम गरे। वि.सं. १९९५ तिर ब्रह्मशमशेरले भानु जीवनी लेखे। भानुभक्तकी जेठी नातिनी विष्णुमायाले पनि वि.सं. १९९८ मा सम्पूर्ण भानु साहित्य प्रकाशन गरेर नि:शुल्क वितरण गरिन्। वि.सं. २००३ मा इतिहास शिरोमणि बाबुराम आचार्य, वि.सं. २०१७ मा भानुभक्तका साहिँला बाबुका पनाति नरनाथ आचार्य र वि.सं. २०४२ मा भानुभक्तकै पनाति मुक्तिनाथ आचार्यले भानु जीवनी लेखेर भानुभक्तको प्रचारमा सहयोग पुर्याए। यी भए व्यक्तिले गरेका भानुभक्तसम्बन्धी प्रचारात्मक कार्य।
गैरसरकारी संस्थाबाट सर्वप्रथम भारततर्फ दार्जिलिङबाट भानुभक्तको प्रचार र प्रसार भयो। खासगरी नेपाली साहित्य सम्मेलन (वि.सं. १९९१) का संस्थापक सूधपाहरू (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) ले भानु साहित्यको प्रकाशन, भानुसम्बन्धी लेख र भानु जीवनी प्रकाशन गर्दै भानु प्रतिमा स्थापना गरी भानुभक्तको बृहत्तर प्रचार गरे। नेपालतर्फ भने प्रजातन्त्रको सूत्रपात (वि.सं. २००७) पछि भानुभक्तका बारेमा गैरसकारी संस्थाबाट चासो लिन थालेको भेटिन्छ। यसमा भानु जन्मस्थल चुँदीरम्घा नै पहिलो देखिएको छ। रम्घा र काठमाडौंमा पढ्न, जागिर खान बस्ने रम्घालीहरूबाट क्रमश: वि.सं. २००८ तिर भानु पुस्तकालय समिति÷भानु पुस्तकालय सहायक समितिको स्थापना भयो। यसले पुस्तकालय स्थापना गरी भानुभक्तलाई प्रचारप्रसार गर्ने र रम्घामा दसैंताका प्रतिवर्ष नाटक मञ्चन गराउने कार्य पनि गर्न थाल्यो। यता काठमाडौंमा भाषासेवी गोपाल पाँडे असीमले वि.सं. २००८ मा नेपाली शिक्षा परिषद्को स्थापना गरे। यस संस्थाले भानु जयन्तीलाई राष्ट्रिय उत्सव मान्यो र वि.सं. २०१० देखि भव्यताका साथ भानु जयन्ती मनायो। सर्वप्रथम वि.सं. २०१६ मा तत्कालीन दरबार स्कुलको प्रांगणमा नेपालकै पहिलो भानु प्रतिमा स्थापना गर्यो। अनि ‘अलकापुरी कान्तिपुरी नगरी’ भनी कविता लेख्ने भानुभक्त कान्तिपुरीको मुटुमा प्रतिमा बनेर उभिए।
भानु जयन्ती मनाउन र भानु प्रतिमा स्थापना गर्न मात्र होइन, आदिकवि भानुभक्तको प्रचार गर्न, भानु सन्ततिबाट जग्गा प्राप्त गर्न, भानु जन्मस्थलमा भानु स्मृति भवन र अतिथि भवन निर्माण गर्न गैरसरकारी संस्था नेपाली शिक्षा परिषद्का सचिव गोपाल पाँडेको ठूलो योगदान रह्यो। तर वि.सं. २०३३ को १६३औं भानु जयन्तीको अवसरमा तत्कालीन भानु सेवा समितिका अध्यक्ष र राजनीतिज्ञ श्रीभद्र शर्मा तथा शिक्षा राज्यमन्त्री हर्कबहादुर गुरुङले त्यस योगदानमा हस्तक्षेप गरे। तिनले जन्मस्थलको विकासको निम्ति प्रारम्भमा गोपाल पाँडेले आफ्नै रेखदेखमा सरकारलाई बनाउन लगाएका भवनहरूको उद्घाटन गराए। अनि २०३३ असार ३२ को गोरखापत्रमा भानु स्मृति भवन र भानु अतिथि भवन भानु सेवा समितिको रेखदेखमा श्री ५ को सरकार र स्थानीय श्रमदानबाट पूरा गरिएको हो भन्ने समाचार प्रकाशित गराए। यस कार्यबाट गोपाल पाँडेले साह्रै चित्त दुखाउनु भयो र दुख मान्नु भयो भनी लेखिएको देखिन्छ (राष्ट्रभाषा, वासुदेव त्रिपाठी, २०५८–५९ : १७२)। त्यसपछि गोपाल पाँडेले वि.सं. २०२९ मा नेपाल सरकारलाई बुझाएको भानु जन्मस्थलको विकाससम्बन्धी स्मृतिपत्रका अन्य कामहरू अलपत्र परे।
२०५२ सालतिर तत्कालीन सरकारले भानु जन्मस्थल विकास समिति गठन गर्यो। वि.संं. २०७७ मा यसलाई आदिकवि भानुभक्त जन्मस्थल विकास समिति भन्ने नाम दिइएयो। यो समिति गोपाल पाँडेको प्रयत्नले भानु सन्ततिले सरकारलाई नि:शुल्क प्रदान गरेको खेतमा अवस्थित छ। यसैमा भानु पुस्तकालयसहित भानु स्मृति भवन र अतिथि भवन छन्। यस सरकारी संस्थाले भानु जन्मस्थलको विकास गर्न थालेको लगभग ३० वर्षमा लाग्दैछ। यस अवधिमा समितिले नि:शुल्क प्राप्त जग्गा र किनेको करिब २३ रोपनी ९ आना ० पैसा १ दाम जग्गाको लालपुर्जासमेत लिएको छ। उक्त जग्गामध्ये चुँदीरम्घा बेंसीकै वडा नं ४ को १२-१३ रोपनी जति पाखो जग्गा (पुरन्डिही) भित्र समितिले भानुस्मृति पार्क र बाल उद्यान निर्माण गर्ने तयारीमा गर्दैछ। भनिन्छ, यही जग्गामा भानुका बाजे श्रीकृष्ण आचार्य छोरा र छोरी एवं बाल भानुभक्त आचार्यले धुलोमाटो खेलेर हुर्केका थिए। समितिले भने भानु जयन्ती बनाउने, भानुसम्बन्धी साहित्य प्रकाशन गर्ने, साहित्यिक सांस्कृतिक कार्यक्रम राख्ने र तीर्थस्थलमा आउने साहित्यिक तीर्थालु र अन्य पर्यटकलाई सहयोग पुर्याउने काम गर्दै आएको छ।
यो भानु जन्मस्थल विकास समिति गठन भएको ५÷६ वर्षपछि यसको कार्यक्षेत्रलाई भानु सेवा समितिले स्थानीय प्रकृतिको ठान्यो। यसले भानुभक्तसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको गतिविधि सञ्चालन गर्न आफूलाई भानु प्रतिष्ठान भन्ने गैरसरकारी संस्थामा परिणत गरायो। यसले पनि उद्देश्यअनुसार प्रतिवर्ष भानु जयन्ती मनाउने र भानु साहित्य प्रकाशन एवं व्याख्या विश्लेषणलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने कार्य गर्दै आएको छ। यसै मेसोमा वि.सं. २०७८ तिर तनहुँ निवासी मिलेर प्रा.डा.जयराज आचार्यको अध्यक्षतामा भानु साहित्य उद्यान भन्ने अर्को गैरसरकारी संस्था दर्ता भएको देखिन्छ। यसको पछाडि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको हात रहेको ठानिन्छ। किन्तु यसले अलग रूपमा भानु जन्मस्थलको विकाससम्बन्धी गतिविधि सञ्चलन गरेको देखिन्न। स्थापित भानु साहित्य उद्यान भानु नगर पालिकाका नाममा भानु साहित्यिक उद्यान बनाउन रम्घा डाँडाको जग्गा अधिग्रहण गराउने कार्यमा लागेको छ। भर्खरै वर्तमान सरकारले बजेट भाषण गर्दा चुँदीरम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने घोषणा गरेको छ। संघीय सरकारले एकातिर आफ्नो मातहतको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई स्थानीय तह (भानु नगर पालिका) को मातहतमा लग्ने निर्णय पनि गरेको छ भने अर्कोतिर गैरसरकारी संस्थाका दर्ता भएको भानु साहित्य उद्यानलाई बजेट भाषणको नं १२३ अनुसार सरकारी संस्था गठन गर्न खोजे झैं देखिन्छ।
संघीय सरकारको यस्तो निर्णय र भाषणमा देखिएको दोहोरोपनले भानु जन्मस्थलको विकास कसले गर्ने हो अझै स्पष्ट भएन। पहिले वि.सं. २०२९ तिरै भानु जन्मस्थलको विकासमा अग्रसरता लिएको गोपाल पाँडेको नेपाली शिक्षा परिषद्लाई वि.सं. २०३३ देखि तत्कालीन सरकारले हटायो र पछि आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरी सरकारले आफैंले जिम्मा लियो। अहिले यो विकास समितिलाई पनि स्थानीय तहलाई जिम्मा लगाएर संघीय सरकार बजेट भाषणअनुसार भानु साहित्य उद्यान गठन गर्न उद्यत् देखिएको छ। यसरी जन्मस्थलको विकास एउटाको जिम्माबाट हटाउँदै र अर्को संस्थालाई जिम्मा दिँदै जाने शृंखला बसिरह्यो भने भानु साहित्यको जतिसुकै प्रचार भए पनि भानु जन्मस्थल भने सधैं ओझेलमा पर्ने भएन र ?