वरिषा मासको लाउन्या छिटुवा

देउडा गीत संगीतमात्र नभएर देशभरका बस्ती बस्तीका गीतहरूले वर्षामासलाई सम्झएको देखिन्छ।
बाह्रैकाल, बाह्रैमहिनामा पृथक्—पृथक् शैलीका देउडा गीतहरू गुञ्जिने गर्दैछन् काली कर्णालीको सांस्कृतिक भूमिमा। असार साउन र भदौ महिनाका गीत हृदयका स्पन्दन हुन्। जीवनका वास्तविक साथी पनि भएकाले यसबेलाका गीतले विशेष अर्थ राख्छ। मानु छरी मुरी उब्जाउने बेलामा
साउन महिनामा पुरुष वर्गहरू भैंसीगोठाला जाने, महिलाहरू खेतमा साउँ उखेल्न (घाँस उखेल्नु) जाने, पाखो–जमिनमा लगाएका कोदो र धान बाली गोड्न जाने गर्छन्। कृषिसम्बन्धी गीतले कृषकको वास्तविक परिचय दिने हुँदा देउडा गीतहरू जमिनका गीतहरू हुन् माटोबाट उत्पत्ति भएका गीतहरू हुन। यसबेला घनघोर पानी पर्छ। नदी खोलामा बाढी आउने, पहिरो आउने हुँदा पहाडी भूमिमा बसोबास गर्नेका लागि ठूलो दैविक विपत्ति पनि देखा पर्छ। यसैगरी तराईका जिल्लामा घरखेत जलमग्न हुने हुँदा मानिसको जीवनमा देउडा गीत सोहीअनुसार सिर्जित भएका हुन्छन् :
यसाई दिन गैझान्या हुन् कि आउन्या हुन्
कि फर्की।
लगातार पानी परिरहनुलाई झुन झुन्या वर्षा लागेको भनिन्छ। अहिलेको जस्तो सडक नभएर मानिस हिँड्नका लागि बाटोको निर्माण गरिएको त्यसबेलाको मानिसको जनजीवनको अवस्थालाई पनि दर्शाउँछ यो गीतले। गरिवीको चरम सीमा नाघेका मानिसलाई त्यसबेला माघ, फागुन, चैत्र र साउन, भदौमा भोकमरीले सताउने गथ्र्यो, यिनै कुरालाई आधार मानेर माथिको गीतले वर्षामास र गरिबीको चित्रण गरेको हो।
आदिम ग्रन्थ संस्कृत साहित्यका आदिकवि कालीदासले रचना गरेको मेघदूतमा झंै वर्णन गरेको पाइन्छ, वर्षामासका देउडा गीतमा। आकाशमा बादल जम्मा हुनु, बादलले गाउँबस्ती र डाँडाकाँडा ढाकिदिनु, एक डाँडामा गाएको गीत वर्षात्को कारण अर्को डाँडामा न सुनिनु, वर्षामासका गीतका विशेषता मानिन्छन्। यसैगरी, विरही भावमा एक्लो महसुस गरिनु र त्यही बादललाई आफ्ना कहाँ रैवार (खबर) लैजा भनेर आँसु मिश्रित अनुहार बादल सामु देखाउनुलाई देउडा आँसुकवि र गायक वर्षामासका गीतका विशेषता मान्ने गर्छन्। मेघदूत काव्यमा पनि यिनै विषयलाई प्रतिकारात्मक रूपमा वर्णन गरेको पाइन्छ।
आदिम ग्रन्थ संस्कृत साहित्यका आदिकवि कालीदासले रचना गरेको मेघदूतमा झैं वर्णन गरेको पाइन्छ, वर्षामासका देउडा गीतमा। आकाशमा बादल जम्मा हुनु, बादलले गाउँबस्ती ढाकिदिनु आदि वर्षामासका गीतका विशेषता मानिन्छन्।
गाईबस्तुलाई समूहगत रूपमा उच्चारण गर्दा सेती, महाकाली र कर्णाली अञ्चलमा गोरु भनिन्छ। वर्षामासमा चरण क्षेत्रमा बस्तु चराउनुलाई गोरु चराउनु भनिन्छ। गोरु चराउने ग्वालोले बाख्राबाख्री पनि सँगै चराउँछन्। घनघोर पानी पर्दा पाल्तो (घुम) ओडेर बस्छन् ग्वालाहरू। एकातिर गोरु चराउँदाको आनन्द, अर्कोतिर पहिरो आउँछ कि भन्ने पिर, यी विविध घटनाहरूको सामना ग्वालो अवस्थामा पंक्तिकारले पनि धेरै भोगेको छ। पानीले गर्दा माटो चिप्लो, भएर मेला (भिर)बाट गाई, गोरु लोट्याका (लडेका) दृश्य देखेर आँसु झारी झारी रोएको, अभिभावकको पिटाइ पाउने डरले छाना (गोठ)मा भोकभोकै सुतेको याद आउँछ, ग्वालाहरूका बीचमा सबैले खाजा (भुटेका भट्ट र गहुँ मिसाएकोलाई खाजा भनिन्छ) बाँडेर खाएको, बाबियो बाटेर हमाली (पिङ) हालेको, मिल्ने ग्वालाहरू बीचसँगै हमाली खेलेको, कहिलेकाहीँ बल्ल जुधाई (गोरु जुधाई) गरेको यादले वर्षामास सम्झिने गरिन्छ।
पिठ्यूमा घाँसको भारी बोक्दै आमाले लैनु गाईको दही दिएको सम्झनाले गाउँको परिवेश, बाल्यकालको सम्झना अनि पानी पर्दा कुहिरो लाग्दा गाएका वनगीतले अहिले पनि यो मन झस्किने गर्छ। पंक्तिकारको झैं पहाडी भूखण्ड सबैले यी र यस्तै कथा बोकेका कहानी प्रशस्तै भेटिन्छन्। त्यो समय र वर्षा ऋतुले निम्त्याएका वास्तविक जीवनकथाहरू हुन्। ती जीवनकथा हिउँदमा भन्दा वर्षामासमा बढी घतलाग्दा हुन्छन्। अनाज उत्पादन गर्ने बेलासँगै प्रशस्त गीतहरू जन्मिने, ग्वालाहरूले देउडाका भाका सिर्जना गर्ने महिना भएकाले पनि वर्षालाई देउडा गीतसंगीतको मधुमास भनिन्छ :
वरिषा मासको लाउन्या छिटुवाको जामा
तेरो रिथी मेरो कली काँ ग्यो भैंसी आमा।
यो गीतले तीनवटा वस्तुपरक कुरा दर्शाएको छ। वर्षामासमा मानिसले छिपेका कपडा (छिटुवा)को जामा लगाउने गर्छन्। छिटुवा स–साना उद्योगसँग पनि सम्बन्ध राख्छ। भैंसीले दूध दिने हुँदा आमा भनेर सम्बोधन गरिएको छ। कली (प्रेमिका) सम्झेर गीतकारले रिथी (मालिक)लाई सम्बोधन गर्दै भैंसी आमासँग संवाद गर्न खोजेका छन्। वर्षामासमा भैंसी जंगलमा चर्न गएका बखत गीतकारले देउडाका भाकामा मालिक र कलीलाई एकैसाथ सम्झेको देखिन्छ।
तत्कालीन मन्त्री एवं राजसभा स्थायी समितिका सदस्यसमेत रहनु भएका बझाङका नेता वीरेन्द्रबहादुर सिंह पञ्चायतकालका नेता मात्र नभएर सफल देउडा गीतका सर्जक पनि हुनुहुन्थ्यो। उहाँका केही कालजयी गीतहरू पंक्तिकारले रेडियो नेपालमा पनि रेकर्ड गरेको छु। उहाँकै देउडा गीत हो माथिको। यसैगरी, उहाँले वर्षामासको याद दिलाउने अर्को गीतको पनि सिर्जना गर्नुभएको छ :
घासारीले घाँस काट्यो खोलीको रिऊझाया
गुइलीसेल गैली निन कोइजन ब्युँझाया।
वर्षामासको यो गीतले घँसारी र प्रकृतिका बारे सम्बन्ध जोडेको छ, जसरी निन्द्रा र शीतल छहारीबीचको सम्बन्धलाई गाढा रूपमा जोड्ने काम गर्छ। देउडा गीतसंगीतमात्र न भएर देशभरका बस्ती बस्तीका गीतहरूले वर्षामासलाई सम्झएको देखिन्छ। नदी र खोलाहरूको उर्लंदो गति, कामको व्यस्तता, आवातजावतको कठिनाइलगायत समस्याले चेलीबेटीहरू माइतीघर आउन नपाएका कथाहरू गीतमा पोखिएका पाइन्छन्।
गाउँघरको कामले म धाइरहन पाउँदिनँ
वर्षा लाग्यो माइती राजा आइरहन पाउँदिनँ।
देशको संस्कृति जोगाउने किसिमका यी लोकगीतहरूले कृषिप्रधान देशको पनि झझल्को उतारेको पाइन्छ। वर्षामा धेरै काम गरे पछिमात्र हिउँदमा पेट पाल्न सजिलो हुन्छ भन्ने सन्देश पनि प्रकारान्तरले दिएका छन् यी गीतले। सुप्रसिद्ध गायक एलपी जोशीको रिटिङ रिटिङ न बजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो ऐयाया.. आकाक्का.. गीतले पनि वर्षामासका माइतीको याद आउने हुँदा बिनायो नबजाऊ भनेर चेलीहरूले भन्न खोजेको देखिन्छ।
प्रसिद्ध लोकगायक बमबहादुर कार्की र साथीहरूले ‘भेटै नहुने, खोलापारि निर्माया वारि म रुने’लगायत कालजयी लोकगीतले नेपाली जनजीवनको वास्तविक चित्रण उतारेको मात्र नभै वर्षमासका भोगाइका व्यथाहरू पनि वर्णन गरेको पाइन्छ। कविता आले, गणेश रसिक, सूर्य थुलुङ, शम्भु राईलगायतका कलाकारका पूर्वेली लयका केही गीतले जसरी वर्षामासलाई सम्झाउने गर्छ। यसैगरी, उपत्यकालगायतका घाँसेगीतलाई उजागर गर्ने शिवनारायण जोशी, इन्दिरा गोलेलाई पनि सम्झिन मन लाग्छ। हरिदेवी कोइराला, बिमाकुमारी दुरा, पुरुषोत्तम न्यौपाने, चन्द्रकला शाह, मधुबाबु थापा, कोमल ओलीका वर्षामासका गीतले पनि देउडागीतले झैं प्रकृतिलाई सम्झेको देखिन्छ।
देउडा गीतका सर्जक गायक नरेन्द्रराज रेग्मी, भोजराज भट्ट, हरिना सावद, महेश आउजी, डिक्रा वादी, दीपा धामी सुश्रुत, शृंखलाले गाएका देउडा गीतमा वर्षामासको वर्णन राम्ररी गरेको पाइन्छ :
रोपी खानु धनगढीमा गोड्नु त बझाङमा
बादल फाटी घाम् लागिझाउ
दु:खारीका आङ्मा।
प्रतिक्रिया दिनुहोस !
