शिवले गीत–संगीतमा मायाप्रीतिका कुरामात्रै प्रस्तुत गरेका छैनन्। विभिन्न विषयमा उत्तिाकै कलम चलाएका छन्।
लोक तथा दोहोरी गीत–संगीतमा शिव सुवेदीको नयाँ नाम होइन । भूकम्प विज्ञानमा विद्यावारिधि गरेका उनको शब्द र संगीत रहेको पहिलो गीत ‘घाम जस्तो चम्किलो’ नै चलेको थियो । २०६६ सालमा बजारमा आएको उक्त गीतमा चर्चित कलाकार पुरुषोत्तम न्यौपाने र बिमाकुमारी दुराको आवाज रहेको छ । घामजस्तो चम्किलोको लोकप्रियता नै सुवेदीको संगीतयात्राका कोशेढुंगा बन्यो ।
सुवेदीको गीत लेखन–यात्रामा पुरुषोत्तम र बिमाकै स्वरमा रहेको ‘भुँमरीमा परें भने म’, कुलेन्द्र विक र विष्णु माझीको स्वरमा रहेको ‘भुल्नै भयो धौ’, राजु परियार र स्मृति पुनको स्वरमा रहेको ‘कहाँ छौ र नीरमाया भेटै भा’छैन’, याम क्षेत्री र विष्णु माझीका स्वरमा रहेका कल्पनामै भए’नि देख्छु भनेको, घामले नि पोल्दियो, किन यस्तो हुन्छ, जुनकै अभाव खड्कियोलगायतका गीतले उचाइ थप्दै लगे ।
शिवले गीत–संगीतमा मायाप्रीतिका कुरा मात्रै प्रस्तुत गरेका छैनन् । आमाका दु:खबारेमा पनि गीत लेखेर पशुपति शर्मालाई गाउन दिए, जुन गीत धेरै लोकप्रिय बन्यो । भूकम्पबाट धेरै नेपालीको ज्यान गएको देखेर भूकम्प सचेतना गीत पनि लेखे । कलम चलाउँदै गर्दा शिवले देशमा व्यवस्थामा परिवर्तन भए पनि अवस्थामा पटक्कै परिवर्तन नआएको कुरालाई ‘खै हाम्रो दिलमा त घामै लागेन’ बोलमार्फत पीडा पोखे ।
जसमा नेपाल लोकसंगीतमा कहलिएका कलाकारहरू पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, रामजी खाँड, खुमन अधिकारी, पुष्कल शर्मा, प्रकाश सपूत, कुलेन्द्र विक, शान्तिश्री परियार, जुना श्रीषलगायतले आवाज भरेका छन् । उनले २०७७ सालमा ‘गरिबको गीत, अति भयो अति’ ल्याए । त्यसमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोख्रेल, नरेश खाती र टीका सानुको स्वर छ ।
वियोगान्त धारमा कलम चलाउन माहिर शिवले पछिल्लो समयमा लेखेको ‘बाँचेको छु धन्न’ले बजारमा तहल्का नै पिट्यो । प्राय: बिछोडका गीतहरू धेरै नहेरेनि भन्ने बुझाइका बीच उक्त गीत अहिलेसम्म ६५ लाखभन्दा धेरै पटक हेरिएको छ । गीतसंगीतको निरन्तरताको क्रममा कसको अनुमति, अभागी त म हुँ, दु:ख ट¥या छैन पनि शिवका सफल सिर्जनाको रूपमा दर्ज भएका छन् ।
नेपाली गीत–संगीतका क्षेत्रमा निकै उतारचढाव आए । नेपाली लोकसंगीतमा चर्चा कमाएका धेरै कलाकार कालान्तरमा निष्क्रिय बनेका कति उदाहरण भेटिन्छन् तर सुवेदीले आफ्नो कलम कहिल्यै रोकेनन् । देशमा हँुदा वा विदेशमा, संगीतको डुंगामा यात्रा गर्दैगर्दा उनले विश्वको उत्कृष्ट विश्वविद्यालयबाट भूकम्प विज्ञानमा विद्यावारिधि गर्न सफल भए । बिल्कुलै भिन्न विषयमा उत्तिकै सफल गीतकार सायद शिव नै पहिलो होलान् । नेपाली लोकदोहोरीमा गीत लेख्दै गर्दा पढेर आफूलाई अब्बल देखाउन उनी सफल भएका छन् ।
गीत–संगीतबाट उनले थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेका छन् । अलिमिया स्रष्टा सम्मान २०६८ र प्रतिष्ठान गण्डकी प्रदेश सम्मान २०७८ बाट उनी सम्मानित भएका उनले वर्षको उत्कृष्ट गीतकारका रूपमा अन्नपूर्ण एफएम म्युजिक अवार्ड २०६६ र २०६७ पाइसकेका छन् । यस्तै, विन्ध्यवासिनी म्युजिक अवार्ड २०६८ र २०७०, म्युजिक खबर म्युजिक अवार्ड २०७०, लोक–दोहोरी प्रतिष्ठान म्युजिक अवार्ड २०७१ र रारा म्युजिक अवार्ड २०७९ बाट पनि उनी पुरस्कृत भइसकेका छन् ।