धार्मिक सहिष्णुताको नमुना

हिन्दू, बौद्धमार्गी र क्रिश्चियन मिलेर बनाए ‘माने’

हिन्दू, बौद्धमार्गी र क्रिश्चियन मिलेर बनाए ‘माने’

गोरखा : चुमनुब्री ३ जगतका क्रिश्चियन, हिन्दू र वौद्ध धर्मावलम्बीहरू मिलेर ‘माने’ निर्माण गरेका छन्। सतप्रतिशतजसो क्रिश्चियनको बसोबास रहेको जगतमा विभिन्न धार्मिक समुदाय मिलेर वौद्ध धर्मावलम्बीहरूको धार्मिक संस्कृतिक सम्पदा माने निर्माण गरी धार्मिक सहिष्णुताको नमुना प्रदर्शन गरेका हुन्। 

करिब २५ घरधुरी रहेको जगतका चारपाँच परिबारबाहेक सबै क्रिश्चियन धर्मावलम्बीहरू हुन्। तर यहाँ सयांै वर्षअघि निर्माण गरिएको माने थियो। 

जगत, भालुवन र सल्लेरीका बासिन्दाले करिब २० दिन श्रमदान गरी माने निर्माण गरेको वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए। जगत बजारको बीचबाटोमा रहेको माने भूकम्पले जीर्ण भएको थियो। साथै सडक निर्माण गर्दा थप क्षति नहोस् भन्ने उद्देश्यले नजिकै स्थानान्तरण गरी निर्माण गरिएको हो।

वौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएकाले सबै धर्मावलम्बी मिलेर माने निर्माण गरेको निर्माणमा संयोजन गरिरहेका गुणबहादुर कार्कीले जानकारी दिए। माने निर्माणका संयोजक कार्की स्वयं पनि क्रिश्चियन धर्मावलम्बी हुन्।

‘यो माने बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर हो। धेरै पुरानो सम्पदा भएकाले यो धर्मको र उ धर्मको भन्नुभन्दा यसको संरक्षण गर्ने दायित्व सबैको हो’, कार्कीले भने, ‘त्यसैले सबै मिलेर निर्माण गरेका हौं। यो बनाउन करिब २ हजार जनाको श्रमदान परेको छ। आर्थिक सहायता कतैबाट पनि आएको छैन। वडा कार्यालय अथवा पालिकाले धेरथोर भने पनि सहायता गर्छ कि भन्ने 
आशा छ।’

जगत बजारको बीचबाट सडक निर्माण गर्दा चार घरपरिबारको घर पूर्णरूपमा भत्किएको, तीनजनाको घरमा आंशिक क्षति भएको र माने पनि जोखिममा रहेको कार्कीले जानकारी दिए। ‘सडक बनाउने क्रममा गोपाल गुरुङ, वीरबल कार्की, लक्ष्मण घले र बलबहादुर कार्कीको पुरै घर भत्किएको छ। बलबहादुर गुरुङ, सीता गुरुङ र धनसिँह गुरुङको घरको पिँढीसम्म भत्किएको छ’, उनले भने, ‘आंशिक क्षति भएकाहरू टालटुल गरेर उही घरमा बसेका छन् भने घर पुरै भत्किएकाहरू विस्थापित भएका छन्।’ 

माने पनि जोखिममा पर्ने हुँदा लामा गुरुहरूद्वारा विधिपूर्वक पूजाआजा गरी नजिकै स्थानान्तरण गरिएको उनले बताए।

बेनिघाट, आरुघाट, लार्के सडक निर्माण गर्दा जगत गाउँको बीचबाट करिब चार मिटर चौडा र करिब एकसय मिटर लामो सडक निर्माण भएको छ। सडक निर्माण गर्दा बौद्धमार्गीहरूको धार्मिक तथा संस्कृतिक सम्पदामा क्षति नहोस् भनेर पुरानो मानेको नजिकै नयाँ माने निर्माण गरिएको हो। सो मानेको गत शुक्रबार पाङ्सिङ, न्याक र फिलिमका प्रमुख लामाहरूले प्राण प्रतिष्ठा गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.