६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय, बक्यौता रकम तीन महिनाभित्र तिर्नुपर्ने
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काटिएका ६ उद्योगको विद्युतको लाइन जोड्ने भएको छ। प्राधिकरणले ससर्त काटिएका उद्योगको लाइन जोड्ने भएको हो।
डेडिकेटेड तथा ट्रंक लाइनका बक्यौतामा प्राधिकरणले लाइन काटेको हो। काटिएका उद्योगको लाइन मंगलबार साँझबाट क्रमशः जोडिने भनिएको छ। रिलायन्स स्पीनीङ, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको लाइन काटिएको थियो।
प्राधिकरण सञ्चालक समिति बैठकको निर्णयका सम्बन्धमा कार्यकारी निर्देशक कुलमान घिसिङले माइन्युट उठाएका थिए। प्राधिकरण सञ्चालक समिति सचिवसमेत रहेका घिसिङले बक्यौता रहेका उद्योगीहरूलाई तीन महिनाभित्र महसुल उठाउने म्याद पनि दिएका छन्।
उक्त माइन्युटमा लेखिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगीहरूको विद्युत् लाइन जोडिने छ।'