११ घण्टा बन्द गरिएको सडक पुनः सञ्चालनमा
तानसेन : सडक भासिने तथा पहिरोको अत्यधिक जोखिम रहेको भन्दै रातिमा ११ घण्टा बन्द रहेको सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको हिउँदे खोलामा सवारी सञ्चालन सुरु भएको छ।
हिउँदे खोलामा करिब ६० मिटर सडक भासिएको क्षेत्रमा २७ मिटर लम्बाइमा ४ मिटर चौडाइ र बाँकी भागमा डेढ मिटर चौडाइमा ग्याबिन जाली भरिएको छ।
पहिरो क्षेत्रमा पानीको सिपेज हटाउन प्लाष्टिक तथा त्रिपाल राखेर सडक बग्नबाट सुरक्षित बनाइएको छ। सम्भावित दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले यही साउन ९ गते बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरेको थियो।
सडक भासिएको क्षेत्र हिउँदे खोलामा सडक मर्मतपछि बिहीबारदेखि बन्द अवस्थामा रहेको सडक एकतर्फी रूपमा २४ सै घण्टा खुलाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए।
सडक डिभिजन कार्यालय पाल्पाबाट मर्मतको काम नियमित भइरहेको, ग्याविन, जाली प्लाष्टिक त्रिपाल हालेर भासिएको सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले बताए।
यातायात सञ्चालनमा भए पनि जोखिम कायम रहेकोले सावधानी अपनाएर सो क्षेत्रमा यात्रा गर्न जिल्ला प्रशासन पाल्पाले अनुरोध गरेको छ। सडक भासिएको क्षेत्रको माथिल्लो भागमा कालीगण्डकी जलविद्युतको बुटवल क्षेत्रमा जाने प्रशारण लाइनको टावर रहेको र सडकको तल्लो क्षेत्र भासिएकाले तत्काल सडक मर्मत गरेर यातायात सञ्चालन गर्न कठिनाइ भएको थियो।
सो क्षेत्रमा दुई वर्षअघि पनि सडक भासिएकाले माथिल्लो क्षेत्रमा खनेर डाइभर्सन गरी राजमार्ग सञ्चालन हुँदै आएको थियो। तानसेन बुटवल सडक खण्डको झुम्सा, भुतखोला, दोभान सिद्धवावा क्षेत्रमा सडक भासिने अवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस !