सन्दर्भ : बाघ दिवस

जटिल बन्दै बाघ संरक्षण

जटिल बन्दै बाघ संरक्षण
फाइल तस्बिर।

गुलरिया : बाघ संरक्षणको विश्व प्रतिबद्धतामा बाजी मारेको नेपाललाई विस्तारै बाघको दिगो संरक्षणसँगै व्यवस्थापनतर्फ चुनौती थपिन थालेको छ। बाघ पाइने देशहरूले रुसको सेन्टपिटर्सवर्गमा सन् २०१० मा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे। सोहीअनुरूप नेपालले लक्ष्य त सहजै पूरा गर्‍यो तर दीर्घकालीन बाघ संरक्षण र व्यवस्थापनमा भने चुनौतीका चाङ छन्।

बाघ स्वस्थ जंगलको सूचक मानिन्छ। बाघ पाइने जंगल जैविक विविधताले पूर्ण मानिन्छन्। नयाँ बाघहरूले आफ्ना आधार क्षेत्रहरू बढाउँदै गएकाले उनीहरूको बासस्थान व्यवस्थापन गर्नु उत्तिकै जरुरी छ। निकुञ्जहरूमा बाघको संख्या उल्लेख्य मात्रामा बढेपछि मानव–बाघ द्वन्द्व चुलिएको छ। राजमार्गहरूमा सवारी दुर्घटनाका कारण बाघ मर्ने क्रम बढ्दो छ। आहाराको खोजीमा बाघहरू जंगल बाहिर निस्कँदा मानवीय क्षति बढेको छ। मानवीय आक्रमण गर्ने समस्याग्रस्त बाघहरू व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोककुमार रामले भने, ‘मानवीय आक्रमण गर्ने बाघ छोपेर राख्न धेरै कठिनाइ छ। खुला चिडियाखाना नहुँदा त्यस्ता बाघहरूलाई प्राकृतिक रूपमा राख्न समस्या पर्छ।’

बर्दिया राष्ट्रिय निकुञ्जसँग समस्याग्रस्त ६ वटा बाघहरू राख्न सक्ने क्षमता छ। हाल निकुञ्जका खोरहरूमा ४ वटा त्यस्ता बाघ छन्। बाघले प्राकृतिक रूपमा एक सातामा ५० किलोग्राम मासु आहाराका रूपमा खान्छ। खोरमा भएका बाघहरूलाई ३० किलो मात्रै खुवाइन्छ। व्यवस्थापन गर्नुपर्ने बाघको आहारा र पूर्वाधारहरूका लागि पर्याप्त बजेट छैन। संरक्षणमा काम गर्ने संघसंस्थालगायतको सहकार्यमा जसोतसो व्यवस्थापनको काम हुँदै आएको छ। प्रमुख रामले थपे, ‘खोरमा राखिएका बाघहरूलाई सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनलगायतको पाटोलाई गम्भीर रूपमा लिई काम गरेका छौं।’ 

निकुञ्जका खोरमा राखिएका ३ वटा र जंगलमा एउटा गरी गत वर्षसम्म ४ वटा पाटेबाघ मरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा पाटेबाघ छन्। यिनको संख्या बढ्दो क्रममा छ। ‘निकुञ्जमा यिनको आहारा प्रजाति ४० देखि ५० हजारको बीचमा छ। त्यो प्रशस्त हो। त्यसलाई दीर्घकालीन रूपमा स्थायित्व दिन बासस्थान, पानीको श्रोत व्यवस्थापनका कार्य गर्दै आइरहेका छौं’, उनले भने, ‘स्थानीय समुदायसँग सहकार्य गरी द्वन्द्व व्यवस्थापन, पीडितलाई राहत वितरणलगायत सचेतनाका कामहरू सँगसँगै गरिएको छ।’

गत वर्ष निकुञ्ज क्षेत्रमा मानव–बाघबीच खासै द्वन्द्व देखिएन। १ जना बाघको आक्रमणमा घाइते भए। सन् २०२५ सम्म फेरि बाघको गणना हुने उनको भनाइ छ। बर्दियाको मधुवन नगरपालिकामा अवस्थित भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्गलगायत जिल्लाका वन क्षेत्रमा बाघले धनजनको क्षति गर्दै आएको वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत द्रोणराज शर्माले बताए। 

‘जैविक मार्ग वन्यजन्तु ओहोरदोहोर गर्ने मार्गका रूपमा विकास गर्नुपर्ने थियो तर हामीले बासस्थानका रूपमा विकास गर्‍यौं। जुन कारणले बाघ मानवद्वन्द्व बढेको हो’, उनले सुनाए। गत वर्ष वन क्षेत्रमा ४ जना बाघ र १ जना चितुवाको आक्रमणमा परी मृत्यु भएको छ। जंगलप्रतिको परनिर्भरता घटाउन सके द्वन्द्व पनि घट्ने उनको बुझाइ छ।

मेटिँदै बाघको अस्तित्व

नेपालमा सन् १९९९ मा ९८–१२३ वटा बाघ २००५÷६ मा १०९–१३० पुग्यो। सन् २००८÷९ मा यसको संख्या घटेर १२१ पुगेको हो। विश्व प्रतिबद्धता अनुरूप नेपालले बाघ संरक्षणमा कम्मर कसेपछि सन् २०१३÷१४ मा १९८ पुगेको थियो। सन् २०१८ मा २ सय ३५ रहेको पाटेबाघ सन् २०२२ मा दोब्बरभन्दा बढी ३ सय ५५ वटा पुग्यो।

पछिल्लो तथ्यांकअनुसार चितवन १२८, बर्दिया १२५, बाँके २५, शुक्लाफाँटा ३६ र पर्सामा ४१ वटा पाटेबाघ छन्। यसको संख्या बढ्दै छ। जैविक विविधतामा पारिस्थितिक प्रणालीको सूचक मानिने बाघका प्रजातीहरू पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छन्। 

वासस्थान विनास, आहाराको कमी, मानव–बाघ द्वन्द्व, तस्करीलगायत बढ्दो चोरी शिकारीका कारण बाघका उपप्रजातीहरू लोप हुने अवस्थामा पुगेका हुन्। विश्वमा पाइने बाघका ९ उपप्रजातिमध्ये ३ प्रजाति लोप भइसकेका छन्। 

पाटेबाघ नेपाल, भारत, भुटान र बंगलादेशका संरक्षित क्षेत्रहरूमा मात्र पाइन्छन्। पछिल्लो समय अर्को प्रजातीसमेत प्राकृतिक वासस्थानबाट हराइसकेपछि चिडियाखानामा राखेर वैज्ञानिकहरूले प्रजनन् सुरु गरेका छन्। अन्य ५ वटा उपप्रजातीहरू विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको अन्नपूर्ण संरक्षण क्षेत्रका आयोजना प्रमुख डा.रविन कडरियाले बताए। 

सन् १९४० को दशकमा बाली, १९७० को दशकमा क्यास्पियन र १९८० को दशकमा जाभान उपप्रजातिका बाघ संसारबाटै लोप भइसकेका छन्। साउथ चाइना बाघ प्राकृतिक वासस्थानबाट लोप हुने अवस्थामा पुगेपछि चीनका चिडियाखानाहरूमा राखेर प्रजनन् कार्य सुरु गरिएको छ। यसको संख्या ६५ वटा छन्। कम्बोडिया, लाओस र भियतनामका प्राकृतिक स्थानबाट बाघ लोप भइसकेका छन्। बंगलादेशमा बाघको भारी गिरावट आएको डा. कडरियाको भनाइ छ। सन् २०१० को प्रतिबद्धतापछि भारत, नेपाल, चिन, भुटान, इन्डोनेसिया र रुसमा बाघको वृद्धिदर उच्च छ। नेपालमा बाघको संख्या ३ गुणा बढेको छ। बंगलादेश, थाइल्यान्ड, म्यानमार, र मलेसियामा बाघको संख्या घट्दो छ।

२०औं शताब्दीमा विश्वमा १ लाखको हाराहारीमा रहेको बाघको संख्या सन् २०१६ मा ३ हजार ८९० वटा पुग्यो। सन् २०२३ मा यो वृद्धि भई ५ हजार ५७४ पुगेको छ। अस्तित्वमा रहेका ६ उपप्रजातीका बाघहरू पछिल्लो तथ्यांकअनुसार नेपालमा (३५५), भुटान (१३१), म्यान्मार (२८), भियतनाम (०), मलेसिया (१५०), चीन (६०), इन्डोनेसिया (३९३), रसिया (५००), बंगलादेश (११४), भारत (३६८२), थाइल्यान्ड (१६१), लाओस (०) गरी १३ देशमा बाघ पाइन्छन्।

भियतनाम र लाओसमा बाघको संख्या शून्य रहेको छ। बाघको संख्या बढे पनि मानव–बाघद्वन्द्व र चोरी शिकारीका कारण बाघको संरक्षण चुनौतीपूर्ण बनेको प्रमुख कडरियाले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.