भत्ताको रकम पाउन वृद्धाको हत्या, एकजना पक्राउ

भत्ताको रकम पाउन वृद्धाको हत्या, एकजना पक्राउ

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ खनियावासकी ७१ वर्षीया रत्नकुमारी थापाको हत्याको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।

हत्यामा संलग्न सोही स्थानका ३६ वर्षीय सञ्जीव देउजालाई प्रहरी पक्राउ गरेको प्रहरीले जनाएको छ। देउजालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गर्‍यो। थापाले वृद्धभत्ता लिएकी छिन् भन्ने थाहा पाएर सो रकम लुट्नकै लागि दुईदिनदेखि देउजाले योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ‘देउजाले रत्नकुमारी थापाले १२ हजार रुपैंया वृद्धभत्ता लिएको थाहा पाएदेखि लुटपाटको योजना बनाएको खुलेको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले भने।

अभियुक्त प्रायः काठमाडौं–बाह्रबिसे आउजाउ गरिरहने व्यक्ति भएको प्रहरीको निष्कर्ष छ। उनको घर वृद्धाको घरबाट १० मिनेटको दूरीमा पर्छ। रत्नकुमारी जस्तापाताले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारी र नातिनातिना काठमाडौं बस्छन्। केही दिनअघि रत्नकुमारीलाई छोरी स्वस्थानी बस्नेतले ५० हजार रुपैयाँ दिएकी थिइन्। घटनाको दुई दिनअघि वृद्धाले वडाबाट १२ हजार सामाजिक सुरक्षा भत्ताबापतको रकमसमेत बुझेकी थिइन्।

प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार साउन १८ गते शुक्रबार आफ्नै घर भित्र भुईमा हात बाँधेको अवस्थामा थापाको मृत लाश फेला परेको भनि छिमेकीले आफन्तहरूलाई जानकारी गराएपछि प्रहरीमा सूचना प्राप्त भएको थियो। देउजाले १८ गते बिहान ३ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ। ओछ्यानबाट बाहिर निस्केको मौका छोपेर घाँटी थिचेर हत्या गरी शवको दुवै हात बाँधेर घरभित्र खुला भुइँमा लडाएर बाह्रबिसेतर्फ भागेका थिए।

घटनाको २ दिन अगाडि प्राप्त गरेको १२ हजार वृद्धभत्ता र छोरी स्वस्थानी बस्नेतले सापटी फिर्ता गरेर दिएको ५० हजार, डेढ तोला सुन लुटी हत्या समेत गरेर देउजा गाउँबाट फरार भएका थिए। खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर घरलाई सुरक्षित गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। काठमाडौंबाट झिकाइएको कुकुरसहितको विशेषज्ञ टोलीले घटनास्थलको जाँच गर्‍यो। 

‘घटनास्थलमा दोषीको केही न केही चिह्न हुन्छ। त्यसमा प्रहरीको विशिष्ट अनुसन्धान विधि र विश्लेषणका साथै उच्चतम प्रविधिको प्रयोगका आधारमा अभियुक्तलाई २१ साउनमा काठमाडौंको गोंगबुबाट पक्राउ गर्न सफल भयौँ,’ प्रहरी नायब उपरीक्षक भट्टराईले भने। उनका अनुसार अभियुक्तले कसुर स्वीकार गरेका छन्।

साउन २१ गते अभियुक्तलाई काठमाडौं गोगंवुबाट पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा कसुर घटाएको भनी स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्या गरेको देउजालाई घटनाको तीन दिनभित्र पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ। हत्यापछि वृद्धाबाट लुटेर लगेको ६२ हजार रकम, सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको रिङ र घाँटीमा लगाएको तिलहरी अभियुक्तले विभिन्न व्यक्तिलाई दिएको बयान दिएका छन्। ति व्यक्तिहरूको पनि खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ। 

पक्राउ गरिएको देउजालाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र चोरी डाँकासम्बन्धी कसुरको दफा २४४ बमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.