३२ बाख्राको गोठालो पुन्टु
काठमाडौं : जनावरमध्ये सबैभन्दा बफादार र चलाख–मानिन्छ, कुकुर। यस भनाइलाई कटुन्जे, भक्तपुरका ओमकार बुढाथोकीको गोठाले कुकुर पुन्टुले प्रमाणित गरिदिएको छ। पुन्टुले दिनहुँ बुढाथोकीका ३२ वटा बाख्रा चराउने गरेको छ।
बुढाथोकीले करिब तीन वर्षअघि कटुञ्जेको बाटोमा खुट्टा भाँच्चिएको अवस्थामा पुन्टुलाई भेटेका थिए। उनले पुन्टुलाई घर लगे। औषधि उपचार गरे। दुई महिनापछि पुन्टु पूर्णरूपले स्वस्थ भयो। हिँड्डुल गर्न र कुद्न थाल्यो। तन्दुरुस्त भएपछि बुढाथोकीलाई पछ्याउँदै पुन्टुले बाख्राको गोठालो गर्न थालेको हो।
बागलुङका बुढाथोकी विगत १४ वर्षदेखि कटुन्जेमा बसोबास गर्दै आएका छन्। पाँच वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेका हुन्। बुढाथोकी दैनिक सूर्यविनायक नगरपालिकास्थित गुन्डुको जंगलमा ३२ वटा बाख्रा चराउन जान्छन्। दिनमा करिब दुई वा तीन घण्टा बाख्रा चराउने समय अवधिभर पुन्टुले निकै चनाखो भएर बाख्राको रेखदेख गर्ने गरेको उनले बताए।
गुन्डुको जंगल हुँदै पलाञ्चोक मन्दिर नजिकैको चौरसम्म जाने बाटोमा पुन्टुले आफू अगाडि–अगाडि लागेर बाख्राहरूलाई डोर्याउँदै बाटो सुरक्षित भए, नभएको जाँच्ने गरेको बुढाथोकीले सुनाए। पुन्टुले आफ्ना बाख्राको नजिकै अरू कुनै बाख्रालाई पनि आउन नदिने र मान्छेले छुन खोज्दा पनि टोक्न जाने बताउँदै बुढाथोकी भन्छन्, ‘यसले अरू कसैको बाख्रालाई मेरो बाख्रासँग मिसिन दिँदैन।’ बाख्रा चर्ने क्रममा चौरमा अलि टाढाटाढासम्म बाख्रा गएमा पुन्टुले उक्त बाख्राको कान टोकिदिने र आफ्नै बाख्राहरूको बथानमा फर्काउने गरेको बुढाथोकीले बताए। ‘मेलै जा–जा भनेपछि टाढाटाढा गएका बाख्राको कान टोकिदिन्छ र फर्काएर ल्याउँछ’, उनले भने। पुन्टुले गोठालो गर्न सघाउन थालेदेखि बाख्रा चराउन निकै सहज भएको बुढाथोकीको अनुभव छ। पुन्टुले गोठालो गर्नुअघि जंगलमा बाख्रा चराउँदा बाख्राहरू यत्रतत्र छरिने हुँदा थाहै नपाउने गरी बाघ र चितुवाले बाख्राहरू खाइदिने समस्या धेरै भोगेको उनी स्मरण गर्छन्। तर, अहिले पुन्टुले बाख्राहरूलाई टाढाटाढा जान नदिने र बाघ वा चितुवा आइहाले पनि भुकेर सबै बाख्राहरूलाई एकै ठाउँमा जम्मा पार्ने भएकाले बाख्राहरू पहिलेभन्दा निकै सुरक्षित भएको उनले जनाए। घाम लाग्दा होस् या पानी पर्दा, पुन्टुले बफादारिताका साथ बाख्राको गोठालो लाग्ने गरेको भन्दै बुढाथोकीले पुन्टुको तारिफ गरे।
पुन्टुले मासु भात होस् या दूध भात, केही खाँदैन। उसको दैनिक आहार बिस्कुट हो। त्यसैले आफूले सधैं भिर्ने झोलामा पुन्टुको लागि बिस्कुट बोकेर हिँड्ने गरेको बुढाथोकीले बताए। उनका अनुसार पुन्टुले दिनमा एक सय रुपैयाँबराबरको बिस्कुट खान्छ।
बुढाथोकीको परिवार अहिले भक्तपुरको झौखेलमा बस्छन्। उनी भने बाख्रापालनका लागि कटुन्जेमा एक्लै बस्ने गरेका छन्। त्यही भएर पनि पुन्टु अहिले उनको सबैभन्दा नजिकको साथी भएको छ। उनी हाल बसेको घरमा पुन्टु ढोकामै बस्ने हुँदा कोही अञ्जान व्यक्तिलाई भुकेर आउन दिँदैन। यसले गर्दा आफूले सुरक्षित महसुस गरेको बुढाथोकीले पुन्टुको टाउकोमा थपथपाउँदै भने।
कुनै तालिम नदिएको भए पनि बाख्रा कतै हराउँदा पुन्टुले जसरी पनि खोजेर ल्याउने गरेको बताउँदै बुढाथोकी भन्छन्, ‘जहाँबाट पनि भेटाएर ल्याउँछ यसले’, उनी थप्छन्, ‘खै ! के गरी पत्ता लाउँछ, बाख्रा हिँडेको पाइला सुँघ्छ होला कि।’
पुन्टुभन्दा अगाडि पालेको एउटा कुकुरले पुन्टुलाई गोठालो गर्न सिकाएको उनले बताए। उनले भने, ‘पहिला मेरो एउटा भोटे कुकुर थियो। त्यसैले पछि लाग्दालाग्दा यसले पनि गोठालो गर्न सिक्यो।’ बुढाथोकीका बाख्राहरू पनि पुन्टुलाई चिनेर उसले डोर्याएको बाटोमा मात्र हिँड्छन्। पुन्टु छिटो हिँड्दा बाख्राहरू पनि छिटोछिटो हिँड्छन् र ढिलो हिँड्दा ढिलै हिँड्ने गरेका बुढाथोकीले बताए। सुरु–सुरुमा बुढाथोकीलाई पछ्याउँदै बाख्रा चराउने ठाउँसम्म आएको भए पनि अहिले पुन्टु आफैंले बाख्रालाई डोर्याएर चराउन लैजान सक्ने भएको उनले बताए।