धादिङबाट हराएका तीन बालिका बाग्लुङमा भेटिए
धादिङ : धादिङबेशीबाट गत बुधबारदेखि सम्पर्कविहीन भएका तीनजना बालिका बाग्लुङमा भेटिएका छन् । नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
‘भोलि बिहानसम्म उनीहरू जिल्लामा आइसक्छन्। बालिकाहरू किन र कसरी त्यहाँ पुगे त्यस विषयमा उनीहरू जिल्ला आएपछि थाहा हुन्छ,'उनले भने।
धादिङको सदरमुकाम धादिङबेशीस्थित निलकण्ठ माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विक गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी थिइन् । रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरू गर्यो । रोशनीका विषयमा सोधीखोजी गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । तीनैजान कक्षा ९ मा अध्ययनरत हुन्।
हराइरहेका किशोरीमध्ये तामाङका बुवा तीर्थ तामाङ साउदीमा प्लास्टिक कम्पनीमा कार्यरत छन्। सुशीला हराएपछि उनको परिवार मर्माहत भएको थियो भने विदेशमा रहेका तीर्थ पनि तनावमा परेका छन् ।
त्यस्तै, विकका बुवा विष्णु विक पनि वैदेशिक रोजगारीका क्रममा दुवईमा रहेका उनी हालै मात्रै घर आएका थिए । दुई महिनाको विदामा आएका उनी केही दिनपछि मात्रै दुबई फर्किने तयारीमा थिए । तर, अचानक छोरी हराएपछि विष्णु पनि विछिप्त बनेका छन् ।
त्यस्तै गुरुङका बुवा पनि वैदेशिक रोजगारीमा साउदी अरबमै छन् । छोरी हराएको खबरले अस्मिताका बुवा पनि चिन्तित रहेको परिवारका अन्य सदस्य बताउँछन् ।