जल प्रदूषणले निम्त्याएको सरुवा रोग
पानीको स्रोत/मुहान संरक्षण, जल प्रदूषण रोकथाममा सरोकारवालाहरूको विशेष ध्यान जान जरुरी छ।
पानी मानवलगायत सम्पूर्ण जीवित प्राणी (पशु, पक्षी, किरा, सूक्ष्म जीवाणु आदि) तथा वनस्पतिलाई हावापछि नभई नहुने पदार्थ हो। पानीबिना चल्दैन जिन्दगानी।
पानी महत्त्वपूर्ण प्राकृतिक सम्पदा तथा राष्ट्रिय सम्पत्ति हो। मानव जीवनयापन गर्न हावा, पानीबाहेक खाना, लुगा, आवास, ताप आदि पनि महत्त्वपूर्ण मानिन्छन्। यस पृथ्वीमा उपलब्ध सम्पूर्ण पदार्थ, प्राकृतिक स्रोतसाधनहरू सौर्यप्रणालीबाट सृजित हुन्। सम्पूर्ण प्राणीहरूमा सबैभन्दा चेतनशील मानवले स्वार्थसिद्धि, मुनाफा, अज्ञानता, विपन्नता, लापरबाही आदिका कारण यस्ता महत्त्वपूर्ण पदार्थहरूको दुरुपयोग गरिरहेको छ। जसलाई मानवले जानेर, नजानेर दिनप्रतिदिन प्रदूषित बनाइरहेको छ।
जलस्रोत : नेपाल जलस्रोतमा धनी देश हो। मेची, सप्तकोशी, सप्तगण्डकी, कर्णाली, महाकाली र तिनका शाखा गरी जम्मा ६ हजार खोला नदीद्वारा सिञ्चित छ। तर के सहर के गाउँ वर्षामा पानीका स्रोतहरूमा अत्यधिक मात्रामा सूक्ष्म जीवाणु, धमिलोपनका कारण पानी पिउन, अन्य घरेलु प्रयोजनका लागि अनुपयुक्त हुन्छ। फेरि सुक्खा समयमा पानीका मूल सुक्नाले, ठूला नदी तल खोचमा भएकाले र जमिनको पानीको सतह घट्नाले पिउनेपानीको अभाव हुने गर्छ।
पिउनेपानीको गुणस्तर : पानीको गुणस्तरको बारेमा विवेचना गर्नुपर्दा पिउनेपानीमा मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी भौतिक, रासायनिक, जैविक पदार्थहरूको मात्रा र सूक्ष्म जीवाणुहरूको संख्याको आधारमा निश्चित मापदण्ड तय गरिएको हुन्छ। यस्ता मापदण्डहरू राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय (डब्लूएचओ) स्तरका हुने गर्छन्। पिउनेपानी रङ र स्वादविहीन हुन्छ।
पिउनेपानीमा कुनै पनि ठोस फोहोर, १५ एनटीयूूभन्दा बढी धमिलोपन हुनु हुँदैन। त्यस्तै, रासायनिक पदार्थहरू तोकिएको मापदण्डभन्दा बढी हुनुहुँदैन। जस्तै पिउनेपानीमा फलाम ०.३, म्याङनिज ०.१, आर्सेनिक ०.०३ मिलिग्राम प्रतिलिटरभन्दा बढी भए रोगलाग्ने सम्भावना रहन्छ। पिउनेपानीमा गह्रौं धातु, रेडियोधर्मी पदार्थहरू हुनु हुँदैन। साथै पानीजन्य सरुवा रोगका सूक्ष्म जीवाणुहरू जस्तै ब्याक्टेरिया, भाइरस, प्रोटोजवा, हेल्मिन्थ आदि कदापि हुनुहँुदैन। पानीको पाइपमा खियापर्ने, चुनाजम्ने पानी पनि पिउनका लागि उपयुक्त मानिँदैन।
अप्रशोधित पानीको गुणस्तर पानीका मुहान, स्रोत वरिपरिको वातावरण, जलाधार क्षेत्रमा मानव बसोबास, भूउपयोग, ऋतु, हावापानी, वर्षा, वनजंगल/माटो/चट्टान/खनिज पदार्थहरूको उपस्थिति र अन्तरघुलन, पानीको मात्रा, गति, बगाई, प्रशोधन आदिमा भर पर्छ। त्यसकारण पिउन चाहे सतही पानीका स्रोतहरू (मूल, खोला, नदी, ताल, पोखरी, आकाशेपानी) प्रयोग गरियोस् वा जमिनको पानी, पानीको मात्रा, गुणस्तर, प्रयोजन, जनस्वस्थ्य आदिलाई मनन् गरी अनिवार्य रूपमा पानी प्रशोधन गर्नु पर्छ।
पिउनेपानीमा मानव स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी भौतिक, रासायनिक, जैविक पदार्थहरूको मात्रा र सूक्ष्म जीवाणुहरूको संख्याको आधारमा निश्चित मापदण्ड तय गरिएको हुन्छ।
सतही पानीमा ठोस फोहोर, धमिलोपन, सूक्ष्म जीवाणुहरू बढी हुने गर्छन् भने जमिनको पानीमा फलाम, म्याङनिज, आम्मोनिया, आर्सेनिकको मात्रा बढी हुने गर्छ। फेरी सतही पानी बाहिरी प्रदूषणको चपेटामा पर्ने प्रचूर मात्रामा सम्भावना रहन्छ भने जमिनको पानी क्याल्सियम बाइकार्बोनेट ग्रुपको भएकोले बढी कडा हुन्छ। मिर्गाैलामा पत्थर जम्ने सम्भावना रहन्छ। मानव स्वास्थ्यका लागि बढी मात्रामा सबै पदार्थ हानिकारक हुन्छन्।
जलप्रदूषण : महानगरपालिका, नगरपालिका र घनाबस्ती भएर बग्ने अधिकांश खोला, नदीहरू, घरेलु तथा उद्योगहरूबाट निस्कासित अप्रशोधित फोहोरपानी मिसाइदिनाले ढलमा परिणत भइसकेका छन्। त्यसको ज्वलन्त उदाहरणको रूपमा नेपालको राजधानी काठमाडौं भएर बग्ने बागमती–विष्णुमती र तिनका शाखा नदीहरू मनोहरा, धोबीखोला, हनुमन्ते, टुकुचा, कोड्कु, बल्खु, नख्खु, गोदावरी अत्यधिक प्रदूषणका कारण ढलमा परिणत भइसकेका छन्।
अव्यवस्थित ढल प्रणाली, घरेलु तथा उद्योगहरूबाट निष्कासित अप्रशोधित फोहोरपानी नदीमा मिस्सिनाले पिउनेपानीका स्रोतहरू (धारा, इनार, कुवा, पानीट्यांकी, ट्युबवेल, ट्यांकर, जार, बोतल आदि) पनि प्रदूषित बन्दैछन्। परिणामत पिउनेपानीमा मात्र नभई दूधमा समेत ई–कोली ब्याक्टेरिया भेटिनुका साथै पानीजन्य सरुवा रोगहरू पनि देखा पर्न थालेका छन्।
हाल काठमाडौंमा हैजाका जीवाणुबाट संक्रमित २, ललितपुरमा ३४, कैलालीमा ८, प्यूठानमा २, रूपन्देही १ गरी जम्मा ४७ बिरामी फेला परेका छन्। दमौलीका अस्पतालमा दैनिक १ सय ५० देखि दुई सयको संख्यामा ज्वरो, झाडापखालाका बिरामीहरू उपचारका लागि आउने गरेको समाचार छ। अविरल वर्षाको समयमा बागमती–विष्णुमती नदीलगायत शाखा नदी, खोलाहरूमा एक महिनामा तीन पटक आएको बाढीसँगै अप्रशोधित फोहोरपानी पिउनेपानीका स्रोतहरूमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा मिसिने प्रबल सम्भावना रहन्छ। सरसफाइ र ढलको उचित व्यवस्थापन नभएका वडा/टोलमा शौचालयबाट निस्कासित फोहोरपानीमा रोगी मानिसको मलमूत्र पनि मिसिने हुनाले सो पानीमा सूक्ष्म जीवाणुको बाक्लो उपस्थिति हुनेगर्छ।
पिउनेपानीको नमुना प्रयोगशालामा परीक्षण गर्दा यदि अम्मोनिया, नाइट्राइट, नाइट्रेटको मात्रा बढी छ, सूचनामूलक जीवाणु ई–कोली देखा पर्छ भने शौचालय वा ढलको पानी मिस्सिएको संकेत गर्छ। जल प्रदूषणका स्रोतहरूमा घरेलु (शौचालय, बाथरुम, भान्सा), उद्योग कलकारखानाबाट निस्कासित फोहोरपानी, रासायनिक मल, विषादीयुक्त कृषिभूमि र सडकको सतही भलपानी पर्छन्।
सेप्टिट्यांकी र पानीट्यांकीको दूरी ५० मिटरभन्दा कम छ भने बलौटे माटोमा फोहोरपानी सजिलै मिसिने सम्भावना रहन्छ। नेपालमा करिब ८० प्रतिशत नागरिक पानीजन्य सरुवा रोग जस्तै ब्याक्टेरियाद्वारा– हैजा, झाडापखाला, आउँ, टाइफाइड, पाराटाइफाइड, भाइरसद्वारा–जन्डिस, हेपाटायटिस, पोलियो, हेल्मिन्थद्वारा–जुका, चुर्ना र प्रोटोजवाद्वारा–जिआर्डियासिस आदिबाट आक्रान्त छन्। बर्सेनि धेरैले अकालमा ज्यान गुमाइरहेका छन्। यस्ता घातक सरुवारोग एकातर्फ प्राय: प्रदूषित पानी पिउनाले, झिंगा भन्केका, सडेगलेका बासी खाना, फलफूल, सागसब्जी, तरकारी सेवन गर्नाले लाग्ने गर्छ। अर्कोतर्फ व्यक्तिगत, घरभित्र र वरिपरिको सरसफाइको कमी, यात्रा वा कुनै कार्यपश्चात् साबुनपानीले हात नधुनाले पनि रोग सर्ने गर्छ।
पानी प्रशोधन विधि : संसारमा अप्रशोधित पानी प्रशोधनका उपाय धेरै छन्। जसमा ठोस फोहोर हटाउन प्राय सेडिमेन्टेसन (थिग्र्याउने), फिल्ट्रेसन (छान्ने), आयरेसन (पानीमा अक्सिजन प्रवेश गराउने) विधिको प्रयोग गरिन्छ भने सूक्ष्म जीवाणु हटाउन क्लोरिनेसन (क्लोरिन मिसाउने), ओजोनेसन (ओजन मिसाउने), अल्ट्राभ्वाइलेटरे (सूर्यको प्रकाश) गर्ने गरिन्छ। कहिलेकाहीन् ब्लिचिङ पाउडर, पोटासियम परम्याङनेट मिसाइने पनि गरिन्छ र कीटाणु नष्ट गर्न पानी उमालेर पिइन्छ।
निष्कर्ष : तीव्र गतिमा बढ्दो जनसंख्या, सहरीकरण, औद्योगिकीकरण, जल प्रदूषण, भूमण्डलीय उष्णता र जलवायु परिवर्तन, जलस्रोतको बहुआयामिक उपयोगितालाई हृदयंगम गरी हरेक नदीको जलाधार क्षेत्रको सम्बन्धित विशेषज्ञहरूद्वारा गहन अध्ययन, अनुसन्धान गर्न आवश्यक छ। हरेक नदीको जलाधार क्षेत्रमा एकीकृत जलस्रोत व्यवस्थापन, एकीकृत जल गुणस्तर व्यवस्थापन हुन पनि त्यत्तिकै आवश्यक छ।
पानीको गुणस्तर कायम राख्न, महत्त्वपूर्ण पानीका स्रोतहरूको संरक्षण गर्न, तोकिएका नदी दोभान, ढल प्रवेश आदि स्थानहरूमा नियमित अनुगमन, निरीक्षण, पानी परीक्षण, नतिजा विश्लेषण गर्न आवश्यक हन्छ। पानीको स्रोत/मुहान संरक्षण, जल प्रदूषण रोकथाममा सरोकारवालाहरूको विशेष ध्यान जान जरुरी छ। जिम्मेवार निकाय, संस्था, कम्पनीबाट वितरित पिउनेपानी अनिवार्य प्रशोधित, सुरक्षित, पिउनयोग्य, जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने हुनुपर्छ।
स्वस्थ रहन निरन्तर खानपान, व्यक्तिगत, घरभित्र र घरवरिपरिको सरसफाइमा ध्यान दिन, शारीरिक व्यायाम गर्न, सरल जीवनशैली अपनाउन, सकारात्मक सोच राख्न, सिर्जनशील कार्यमा व्यस्त रहन आवश्यक हुन्छ। कञ्चन सफा पानीको थोपा अमृत, हीरासरि हुन्छ भने प्रदूषित विषसरि हुन्छ।
–इन्भाइरोन्मेन्टल इन्जिनियर परियार, पिउनेपानीको गुणस्तर, पिउनेपानी/फोहोर पानी प्रशोधन विशेषज्ञ हुन्।